बार्सिलाेनाका मेसी बने सर्वाधिक गोलकर्ता

बार्सिलाेनाका मेसी बने सर्वाधिक गोलकर्ता

बार्सिलोनाका लागि लियोनल मेसीले कहिलेसम्म खेल्ने हो। त्यो टुंगो छैन। बरू उनले टिमको प्रदर्शनलाई लिएर लगातार रिस पोखिरहेका छन्।

विशेषत: क्लबको व्यवस्थापनप्रति उनी खुसी छैनन्। ला लिगाको यो सिजन आइतबार टुंगिएको छ। त्यसको अन्तिम खेलमा यी अर्जेन्टिनी खेलाडीले फेरि एकपल्ट सिद्ध गरेका छन्, उनी बार्सिलोनाका लागि कति महत्त्वका खेलाडी हुन् भनेर।

खासमा भएको के भन्दा मेसीले फेरि एकपल्ट जितेका छन्, स्पेनको गोल्डेन बुट अवार्ड। 

त्यसो भनेको उनी लिगमा सर्वाधिक गोल गर्ने खेलाडी रहे। उनले यो उपलब्धि हात पारेको पनि सातौंपल्ट हो। लगातारको हिसाब गर्दा भने चौथोपल्ट।

उनले यसपल्ट लिगमा बार्सिलोनाका लागि २५ गोल गरेका छन् र यसक्रममा मेसीले रियल म्याड्रिडका करिम बेन्जेमालाई दोस्रो स्थानमा छाडेका छन्। बेन्जेमाले लिगमा २१ गोल गरे।

ला लिगामा एकै खेलाडीले लगातार चार सिजन सर्वाधिक गोल गरेको यो पहिलोपल्ट हो। सन् १९८० ताका यस्तै लयमा थिए, ह्युगो सान्चेज ।

तर यसपल्टको मेसीको प्रदर्शन सन् २०११-२०१२ को त छेउछाउ पनि छैन। उनले त्यो सिजन ५० गोल गरेका थिए। गत सिजन पनि उनले ३६ गोल गरेका थिए।

यी सबै उपलब्धिमा फेरि एकपल्ट मेसीको भने समान प्रतिक्रिया आएको छ। उनले एकपल्ट होइन, धेरैपल्ट दोहाेर्याएर भनेका छन्, ‘व्यक्तिगत उपलब्धिलाई ठूलो मान्नु हुन्न, सबैभन्दा ठूलो क्लबले जित्नुपर्छ।’

हुन पनि ला लिगा रियलले जितेको स्थितिमा मेसीको यो उपलब्धिमा उनी आफैं कसरी खुसी हुन सक्छन् र? 

समग्र लिगकै कुरा गर्ने हो भने कोरोना भाइरस संक्रमणको महामारीले पूरा स्पेनलाई छोप्दा सबैलाई लागेको थियो, सायद यो सिजन फुटबल हुनसक्ने छैन।

तर आइतबार धेरैका लागि राहतको उपलब्धि भनेको छ, अन्तत: सन् २०१९-२०२० को लिग सिजनमा अन्तत: पूर्णविराम लागेको छ र यसलाई सम्झिनेछ, दुई कारणले।

पहिलो त लिग जिनेदिन जिदानको रियलले जित्यो। दोस्रो बार्सिलोनाको प्रदर्शनमा मेसी साँच्चै खुसी हुन सकेनन्, अचेल उनी क्लबमा विद्रोही साबित भएका छन्। 

यसपल्ट लिग ११ महिना जति चलेको थियो। रियल त विजेता नै रह्यो। रियलसँगै बार्सिलोना, एट्लेटिको म्याड्रिड र सेभिया युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भए। ला लिगामा दोस्रो हुनु पनि निकै गाह्रो छ, तर रियल र बार्सिलोनाका लागि यो दोस्रो स्थान पनि असफलता नै त हो।

जेहोस्, स्पेनबाट भिल्लारियल, रियल सोसिडडा र ग्रेनाडाले युरोपा लिग खेल्नेछन्। पाँचौं, छैटौं र सातौं स्थानमा रहेका थिए यी टाेली। लिग तालिकाका अन्तिम तीन स्थानमा रहेका स्पान्योल, रियल मार्लोका र लेगानेस रेलिगेसनमा परेका छन्।

-स्पेनी खेलपत्रिका मार्काबाट स्वतन्त्र अनुवाद 


Leave a Reply

Your email address will not be published.