दार्चुला पहिरो अपडेट: घर भत्किँदा दुई जनाको मृत्यु, करोडौंको क्षति

दार्चुला पहिरो अपडेट: घर भत्किँदा दुई जनाको मृत्यु, करोडौंको क्षति

अविरल वर्षापछि दार्चुलाको नौगाड गाउँपालिकामा आएको पहिरोले घर भत्काउँदा दुई जनाको मृत्यु भएको छ। 

आइतबार रातिदेखि भएको भारी वर्षाका कारण घर माथिबाट खसेको पहिरोले घर च्यापिँदा नौगाड गाउँपालिका वडा नम्बर ६ की ४२ वर्षीया मानमति ठगुन्ना र ६ वर्षीया बालिका पार्वती ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

उनीहरू दुवै आमाछोरी रहेको खबर सार्वजनिक भएपनि फरकफरक घरका हुन्।

उनीहरुको शव भत्केको घरबाट निकालिसकिएको जानकारी पाइएको साेही गाउँपालिका घर भएका प्रदेश सभा सदस्य मानबहादुर धामीले बताए। 

प्रहरीका अनुसार घर माथिबाट आएको पहिरोले घरको सम्पूर्ण सामान नष्ट भएको छ। पहिरोमा परी चारजना घाइते भएका छन्।

पहिरोमा परेका चारजनालाई घाइते अवस्थामा गाउँलेले तत्काल उद्धार गरेको प्रहरीले जनाएको छ। पहिरोले सो गाउँका चार घर र परिगाउँ प्राथमिक विद्यालयको भवन समेत बगाएको छ ।

सो क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य धामीका अनुसार दार्चुलका अन्य क्षेत्रमा पनि भारी वर्षाका कारण क्षति भए पनि नौगाड गाउँपालिकामा भने करोडौंको क्षति पुगेको छ।

वडा नम्बर २ काे नौगाडखोला, घट्टेखोला र खारखोलामा रहेका १० वटा पानीघट्ट, दुई चिया पसल र १ सय किलोवाटको नौगाड लघु जलविद्युत आयोजनाको प्रशारणलाइनका १ सय २० बिजुलीका खम्बाह बाढीले बगाएको सदस्य धामीले बताए । 

भारी वर्षाका कारण धौलीगाड ठाडो खोलामा आएको बाढीले महाकाली राजमार्गसमेत अवरुद्ध रहेको छ। सदरमुकाममै महाकाली नगरपालिका-२ को नमस्कार गाउँ र गल्फैंको बीचमा बग्ने सो खोलाको बाढीले राजमार्ग अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published.