सिमानामा भारतीय पक्षकाे शृंखलाबद्ध आक्रमण 

सिमानामा भारतीय पक्षकाे शृंखलाबद्ध आक्रमण 

– वैशाख १९ गते कचनकवल गाउँपालिका ४ को खुट्टामनिमा सीमा पार गरेर नेपाल छिर्न खोज्ने भारतीय नागरिक र जनपद प्रहरीबीच झडप भयो। दशगजामा रहेको १२० नम्बर  पिलरको सुरक्षार्थ खटिएका जनपद प्रहरीको भारतीयहरुसँग झडप भएको होे।

– वैशाख २३ मा दक्षिणी सीमावर्ती झापा गाउँपालिका-४ को जंगे पिलर १३१ नम्वर आसपासमा भारतीय समूहले नेपाली सुरक्षाकर्मीमाथि अन्धाधुन्ध आक्रमण गर्यो। सशस्त्र प्रहरीले प्रतिकारमा २ राउण्ड हवाइ फायर गर्यो।

– जेठ ३ गते बेलुका कचनकवल गाउँपालिका–१ घेराबारीस्थित सुरिभिट्टा-झण्टु बस्ती नजिकै रहेको सशस्त्र प्रहरीको पोस्टमा भारतीय नागरिकले आक्रमण गरे। आक्रमणबाट बच्न सशस्त्र प्रहरीले त्यसबेला एक राउन्ड हवाई फायर गरेको थियो।

– जेठ ९ मा कचनकवल गाउँपालिका–१ घेराबारीस्थित समरभिट्टा बस्तीपूर्वको १२२ नम्बरको सीमा पिलर नजिकै भारतीय नागरिकले आक्रमण गरी एकजना सशस्त्र प्रहरी हबल्दारलाई घाइते बनाए। घाइते हुनेमा सशस्त्र प्रहरी हवल्दार शंकर चौधरी रहेका थिए।

-पछिल्लो पटक साउन ३ गते राति गौरीगञ्ज ५ स्थित नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय तस्करहरुबीच झडप भएको छ। १५२ नम्बरको पिलरपूर्व मल्हाटोली नजिकै झडप हुँदा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउण्ड हवाइ फायर गर्यो ।

जारी लकडाउनका बेला नेपाल-भारत सीमा बन्द भएपछि भारतीय नागरिकले झापामा सुरक्षाकर्मी माथी पाँचौंपटक आक्रमण गरिसकेका छन्।

पहिलो पटक वैशाख १९ गते भारतीयले आक्रमण गरेका थिए। पछिल्लोपटक शनिबार राति आक्रमण भएको छ। पछिल्लो पटक गौरीगञ्ज ५ स्थित नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीयबीच झडप भएको हो।

१५२ नम्बरको पिलरपूर्व मल्हाटोली नजिकै झडप हुँदा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको थियो।

सामान वारिपारि गर्न पाउनुपर्ने भन्दै राति करिब ५० जनाको समूहमा हातहतियारसहित आएको भारतीयले सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको कन्ट्रोल टोलीमाथि हातपात गरेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइएको सशस्त्र प्रहरी बल खजुरगाछीले जनाएको छ।

झडपका क्रममा सशस्त्रका दुई जवान सामान्य घाइते भएको र एकजना भारतीय नागरिक घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ। हवाइ फायरपछि तितरबितर भएका भारतीयहरू भारततर्फ भागेको सशस्त्र प्रहरी बल खजुरगाछीका प्रहरी निरीक्षक साइमन श्रेष्ठले जनाएका छन्।

घटनापछि भारतीय सीमा सुरुक्षा बल एसएसबीका कमाण्डरले आफ्ना नागरिकका तर्फबाट गलत भएको भन्दै फेरि त्यस्ता घटना नदोहोर्याउने प्रतिबद्धता जनाएको सशस्त्रका प्रहरी उपरीक्षक रमेश थक्सूले बताए।

गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठसहितको टोलीले घटनास्थल र सीमा क्षेत्रको अनुगमन गरेको छ। नेपाल–भारत सीमामा तैनाथ नेपाली सुरक्षाकर्मीमाथि भारतीयहरुले पटकपटक आक्रमण गर्दै आएका छन्।

प्रत्येक घटनापछि अब आइन्दा गल्ती नगर्ने भन्दै माफी मागेका भारतीयहरूले लगातार एकपछि अर्को गर्दै गरेको यो पाँचौं हर्कत हो।
यसअघि पनि त्यसरी नै उनीहरूले माफी मागेको सशस्त्र प्रहरी उपरीक्षक थक्सूले बताए।

कचनकवलका घटनामा पनि त्यसरी नै माफी मागेको र फेरि यस्तो घटना नदोहोरिने भारतीय पक्षले प्रतिबद्धता जनाएको वडाध्यक्ष विजय राजवंशीले स्मरण गरे।

‘गल्ती गर्ने अनि माफी माग्दै फेरि त्यही हर्कत देखाउने भारतीयमाथि विश्वास गर्न नसकिने भयो’ उनले भने।
भारतसँग सीमा जोडिएको झापामा मात्र यो समस्या होइन, अन्य सीमावर्ती जिल्लामा पनि यस्ता घटना दोहोरिरहेका छन्। जेठ ३० मा

सर्लाही जिल्लास्थित नेपाल-भारत सीमामा गोली चल्दा एक भारतीय नागरिकको मृत्यु भएको थियो। घटनामा दुई भारतीय नागरिक र तीन नेपाली प्रहरी घाइते भएका थिए।

भारतीय पक्षले तस्करी गर्न नपाएपछि शृंखलाबद्ध आक्रमण गरेको नेपाली सुरक्षाकर्मीको भनाइ छ।
बारम्बार सुरक्षाकर्मीमाथि नै आक्रमण भएपछि नेपाल र भारत दुवैतर्फ थप सुरक्षाकर्मी परिचालित गरिनुपर्छ।

‘महामारीको यस परिस्थितिमा सीमा क्षेत्रमा भारतीय नागरिकबाट निरन्तर गरिएको आक्रमण  निन्दनीय र खेदजनक छ’, झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइराला भन्छन् , ‘भारतीय पक्षबाट यसको नियन्त्रण गर्न जरुरी छ।’

आफ्ना नागरिकको समयमा नै जिउधनको सुरक्षाको उचित व्यवस्था  गर्न सीमावर्ती क्षेत्रका झापालीले जिल्ला प्रशासन, सुरक्षा निकाय र सरकारसँग आग्रह गरेका छन्।

नेपालीले भारतीय सुरक्षा निकाय र सरकारको तर्फबाट यस्ता खाले गतिविधि तत्काल नरोके  आफूहरू प्रतिकारमा उत्रने चेतावनी दिएका छन्।


Leave a Reply

Your email address will not be published.