बस्तीमा पस्यो कनकाईको भँगालाे 

बस्तीमा पस्यो कनकाईको भँगालाे 

कनकाई नदीमा आएको बाढी बाँध फुटाएर मानव बस्तीमा प्रवेश गरेको छ। दुई दिनदेखि लगातार परेको पानीले कनकाईमा बहाव बढेको छ। बाढीले करिब ४ सय बिगा धान खेत डुबाएको जनाइएको छ।

झापा गाउँपालिका २ मा कनकाई नदीको बाढीले जनताको तटबन्ध भत्काएर मानव बस्तीमा प्रवेश गरेको हो।
बाढीले करिब  ३ सय मिटर बाँध भत्काएको हो।

बाढीको भेल सरकबारी बस्तीको नजिक पुगेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए। ‘कनकाईको भंगालो सरकबारी बस्ती नजिक पुगिसक्यो’ अध्यक्ष शाहले भने,‘ राति पनि  वर्षा भयो भने भेल गाउँभित्र पस्छ।’

सरकबारी बस्तीमा करिब ६० परिवार रहेका छन्। बाढी पसिहाले उनीहरुलाई उद्धार गर्ने  तयारीमा जनशक्ति बसेको साहले बताए। बस्तीमा पानी पसे उनीहरूलाई स्थानीय लक्ष्मी प्रावि र जुरो प्राविमा ल्याएर राख्ने तयारी गरिएको छ। 

जनताको तटबन्धनअन्तर्गत माई खोलामा बाँधिएको अस्थायी बाँध बाढीले कटान सुरु गरेपछि सो क्षेत्र जोखिममा परेको हो। अध्यक्ष साहले कटानका कारण स्थानीय त्रसित बनेको बताए।

उद्धारका लागि प्रहरी पनि जोखिम क्षेत्र नजिकै तैनाथ राखिएको झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले  जानकारी दिए। नेपाल रेडक्रस सोसाइटी झापा शाखाले पनि एक टोली त्यसतर्फ पठाएको छ।

कनकाई नदीले बाँध फुटाएको खबर पाएपछि रेडक्रसको टोली त्यसतर्फ पठाइएको झापा शाखाका सभापति लोकराज ढकालले बताए।
यसअघि  कनकाईको बाढीले शिवसताक्षी ६ को  १५ घर विस्थापित भइसकेका छन्।

झापा गाउँपलिका १ को मिलनबस्ती र पूर्वटोलमा पस्दा ४० घर विस्थापित भएका छन्। झापा गाउँपालिकाकै  जनता टोलमा रहेको अस्थायी बाँधमध्ये लगभग  ३ सय मिटर कटान भइसकेको छ।

त्यस्तै झापा गाउँपालिका ७ मदरगाछका १७ घर परिवार विस्थापित भएका छन्। गौरीगञ्ज गाउँपालिका १ होकलबारीका २५  परिवार विस्थापित बनेका छन्।


Leave a Reply

Your email address will not be published.