नेपाली राष्ट्रियताको असली व्याख्याता 

नेपाली राष्ट्रियताको असली व्याख्याता 

बिपी कोइरालाई पत्रकार भोला चटर्जीले एक पटक एउटा अन्तरबार्ताका क्रममा सोधेका थिए, ‘तपाईंलाई आफ्नो लोकप्रियताको कारण के हो जस्तो लाग्छ?’ 
बिपीले कत्ति पनि समय नलिएर जवाफ दिएका थिए, ‘मैले राष्ट्रियताको चुरो समातेको छु, सायद त्यसैले होला।’ 

एउटा सन्दर्भमा बिपीले भने, ‘तराईको सिमानामा बस्ने नागरिक असली राष्ट्रवादी हुन्, उनीहरूले खुला सिमानाको सास्ती भोगेर भए पनि यो देशको रक्षामा दिनरात खटिरहेका छन्।’

नेपालसँग भूगोल गाँसिएका दुई छिमेकी राष्ट्रका सन्दर्भमा बिपीको स्पष्ट धारणा छ, ‘हाम्रा छिमेकीहरूलाई चिढाउने काम हामीले गर्नु हुँदैन। म जहिले पनि जोड दिन्छु, चीन र भारतको मित्रता होस् भनेर। हिन्दुस्थान वा चीनमा निर्भर रहेर कोही यहाँ राजनीति गर्न चाहन्छ भने त्यो सफल हुँदैन।’ 

राष्ट्रियताका सम्बन्धमा स्पष्ट धारणा बनाएका कारण नै सगरमाथा नेपालको हो भन्ने कुरा प्रमाणित र स्थापित गर्न सफल भए बिपी। त्यस्तै, भारतको मिचाहा

प्रबृत्तिलाई ब्रेक लगाएर नेपालको सन्दर्भमा सच्चिन दवाव दिन सफल भए बिपी। 

अहिले आएर राष्ट्रियताको नारा निकै चलेको छ। 

राजनैतिक नेताहरुले राष्ट्रियताको कुरालाई यसरी उठाइरहेका छन् कि मानौ यो एउटा विशुद्ध राजनैतिक नारामात्रै हो। 

तर, यथार्थमा राष्ट्रियता के हो त? भन्ने सवालमा सबैले बुझ्नसक्ने छलफल र बहस भने निकै कम हुने गरेको छ। 

पञ्चायतभर बिपीलाई भारतबाट निर्देशित देखाउन राज्यसत्ताको दुरुपयोग नै गरियो। कम्युनिष्टहरू पनि यसैगरी प्रचार गर्नपुगे। 

बिपीले सायद त्यसैकारण नेपालका कम्युनिष्टलाई कम्युनिष्ट नै मानेनन्, दरबारका उत्पादन भनेर टप्पणी गरे होलान्। 

पञ्चायतले बिपीको बिराट् व्यक्तित्वलाई एउटा साहित्यकारमा सिमित गर्ने प्रयास पनि ग¥यो। त्यसै अनुसारका अभिलेख र पुस्तकहरू समेत तयार भए। 

तर वास्तवमा नेपाली राष्ट्रियताको व्याख्या बिपीले जसरी कसैले गर्न सकेन। ०७ सालको जनक्रान्तिमा सिंगो नेपालको एउटा एजेण्डा बन्यो। राष्ट्रियताको जग बिपी त्यही हो भन्छन्। उनले एउटा अन्तरबार्तामा भनेका छन्, ‘हामीले ०७ सालको क्रान्तिमा जयनेपालको कल दियों माहाकाली मेचीबाट सबैले जयनेपाल भने, त्यो नेपालको सन्दर्भमा पहिलो राष्ट्रबादको कल थियो।’

राष्ट्रियता भनेको वास्तवमा राष्ट्र अथवा देशको प्राण हो। शरीर र प्राणको जस्तो सम्बन्ध हुन्छ, देश र राष्ट्रियताको सम्बन्ध पनि त्यस्तै हुन्छ। 

यो उदाहरणबाट बुझ्न सक्छौँ कि राष्ट्रियता भनेको भौतिक पक्षभन्दा पनि भावनात्मक पक्ष हो। अझ स्पष्टसँग भन्ने हो भने देश भित्रका नागरिकहरुको सामूहिक चासो र चिन्ता नै राष्ट्रियता हो। 

मेची दुख्दा काली रुनु र काली दुख्दा मेची रुनु नै राष्ट्रियता हो। देश वा राष्ट्र भनेको माटो र भूगोल होइन, त्यो यथार्थमा जनता तथा जनताको भावना र विस्वास हो। त्यसैले राष्ट्रियता भनेको जनताको सामुहिक भावना हो। 

बिपी प्रष्ट थिए, राष्ट्रियताको सन्दर्भमा पहिलो र अन्तिम निर्णय गर्ने तत्व भनेको जनता हो। राष्ट्रियता जनताको सामूहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो। 

समय समयमा प्रकट हुने समस्याहरुलाई सामूहिक रुपमा समाधान गर्नुपर्दा सहज रुपमा उत्पन्न हुने एकताको जनभावना नै खास अर्थमा राष्ट्रियता हो। 

अर्को शब्दमा भन्दा, जनता, जनताको अगाडि उपस्थित समस्या, त्यो समस्यालाई सबैले मिलेर समाधान गर्ने सामूहिक प्रयत्न र त्यस प्रयत्नमा अनुभव भएको एकताको भावना नै राष्ट्रियताका तत्व हुन्। 

राष्ट्रियतालाई यसरी बुझ्दा त्यहाँ भूगोलको भूमिका गौण हुन्छ। देशको नक्सा राष्ट्रियता होइन, त्यो त त्यो देशको नागरिकको सम्पत्ति हो। त्यो सम्पत्तिमा आक्रमण भयो भने त्यसलाई समस्या ठानेर त्यसको समाधानका लागि नागरिकबाट स्वतःस्पूmर्त रुपमा हुने सामूहिक प्रयत्न मात्र राष्ट्रियता हो। 

आजकल राष्ट्रियता शब्दको प्रयोग भूगोलसँग मात्र जोडेर गरिएको पाइन्छ। यो राष्ट्रियताको अधुरो बुझाइ हो। राष्ट्रियता त जनसरोकारका विषयहरुसँग जोडिने कुरा हो। तीमध्ये भूगोलको कुरा एउटा बिषय मात्र हो। 

त्यसैगरी राष्ट्रियताको आन्दोलन विदेशीका बिरुद्धको लडाईँ हो भनेर पनि प्रचार गरिएको पाइन्छ। यो पनि एउटा भ्रम हो। राष्ट्रियतालाई जनताको सन्दर्भमा सोच्ने बानी बसाल्यौँ भने हामी यस्ता अपूरा र भ्रमयुक्त कुराहरुबाट मुक्त भएर सही अर्थमा राष्ट्रियतालाई बुझ्न सक्ने हुन्छौँ। 

राष्ट्रियताको आन्दोलन त जनताका सामूहिक चाहनालाई कुण्ठित गर्ने शासक वा तानाशाह बिरुद्ध पनि हुन्छ र जनताको चाहनालाई संबोधन गर्न नचाहने राज्यसंयन्त्रका बिरुद्ध पनि हुन्छ। 

बिपीले भनेका छन्, ‘प्रजातन्त्रको सञ्चालनबाट राष्ट्रियताको भावना पनि सुदृढ हँुदैजान्छ।’

राष्ट्रियताको यो व्यापक अर्थ नबुझ्दा र त्यसलाई सिमित दायरामा बुझ्दा त्यसबाट धूर्त तानाशाह वा राजनीतिज्ञले आफ्नो स्वार्थसिद्ध गरिरहेको हुन्छ। 

विश्वका नामुद तानाशाह हिटलरदेखि नेपाली राजा माहाराजाहरुको इतिहास हेर्ने हो भने उनीहरुले राष्ट्रियताको नारा दिएर आफूले शक्ति हासिल गरेका छन्। 

यो सूचीमा अहिले ट्रम्प, मोदी हुँदै ओलीसम्मको नाम सूचीकृत हुने खतरा देखिएको छ। त्यस्ता शासक भएको ठाँउका जनता कमजोर भएका छन्। राष्ट्रियताले जनता कमजोर हुदैनन्। 

जनताको सवलता नै बलियो राष्ट्रियताको आधार हो। राष्ट्रियताको लक्ष्य शक्तिशाली जनता हो। 

बिपी छिमेकीहरूसँग कस्तो सम्बन्ध बनाइराख्न चाहन्थे भन्ने सन्दर्भलाई बुझ्नका लागि यहाँ एउटा घटना स्मरण गर्नु सान्दर्भिक होला– प्रधानमन्त्री बिपी कोइराला रहेको समय २०१७ असार (जुन १९६०) मा चीनका सुरक्षाकर्मीहरुले मुस्ताङमा प्रवेश गरी सीमा सुरक्षामा बसेका नेपाली सिपाहीहरुलाई गोली हानी मारे। 

यो घटनालाई लिएर भारतका प्रधानमन्त्री नेहरुले ‘नेपालमाथि भएको विदेशी हमला भारतमाथि भएको भारतले ठान्दछ, यो हाम्रो चासोको बिषय हो’ भन्ने वक्तव्य दिए। 

तर तत्कालन बिपीले खण्डन गर्दै सन् १९५० को द्विपक्षीय सन्धिको अपव्याख्या नगर्न आग्रह गरे र भने ‘नेपाल स्वतन्त्र र सार्वभौम देश हो र हाम्राबारे निर्णय लिन हामी स्वतन्त्र छौं।’ 

यसपछि नेहरुले क्षमा याचना गरे। 

सोही घटनामा चीनका प्रधानमन्त्री चाउ एन लाईले समेत माफी माग्दै क्षतिपूर्ति तिरे। 

नेपालको हित नेपालले पहिचान गर्ने हो। जस्तो सुकै अबस्थामा पनि कुनै छिमेकीतर्फ ढल्केर अर्को छिमेकीलाई चिढाउदाँ नेपालजस्तो देशलाई कुनै पनि दृष्टिमा फाइदा छैन। यही मान्यता र बिश्वासको व्यवहारिक कार्यान्वयनको उदाहरणको रूपमा उल्लेखित सन्दर्भलाई लिन सकिन्छ।

देशमा आफ्नो प्रभुत्व जबरजस्त स्थापित गर्नका लागि बिदेशीहरूसँग झुक्ने, एउटासँग नजिकिने, उत्पन्न समस्या समाधानका लागि छिमेकीसँग आँखामा आँखा मिलाएर आफ्नो ‘स्ट्याण्ड’ राख्नसक्ने नेतृत्व भएमा मात्र नेपालको स्वाधिनता र अखण्डता सवल हुने हो। 

त्यो ढंगको नेतृत्वको विकास गर्दै नेपाली राष्ट्रियतको जगेर्ना गर्नका लागि देशभित्रका शक्तिहरूबीच एकता निर्माण गर्नेकुरामा प्रतिबद्ध हुनुनै सही अर्थमा राष्ट्रवादी हुनु हो।

नेपाली राष्ट्रियताको आन्दोलनको नेतृत्व निःसन्देह बिपिले गरेका थिए। 

बिपीको निधनपछि बक्तव्य निकाल्दै तत्कालिन राजा वीरेन्द्रले भनेका थिए, ‘बिपीबाट हरेक नेपालीले राष्ट्रियताको पाठ सिक्नसक्छ।’ 

राजाको त्यो भनाईमामाथि तत्काल प्रतिक्रिया दिँदै कृष्णप्रसाद भट्टराईले भनेका थिए, ‘हामीले त बिपीबाट राष्ट्रियता सिकिसकेका छौँ, अब महाराजले सिक्न आवश्यक छ।’ 

सायद त्यसैले होला, एउटा प्रशंगमा कांग्रेसका हालका उपसभापति विमलेन्द्र निधीले भनेका थिए, ‘हामी बिपीका चेलालाई कसैले राष्ट्रियताको पाठ पढाउन पर्दैन।’ 


Leave a Reply

Your email address will not be published.