उर्लियो कोशी, खतराको झन्डा गाडियो

उर्लियो कोशी, खतराको झन्डा गाडियो

लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव खतरा विन्दुमाथि पुगेको छ। पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झन्डा गाडिएको छ।

पानीको बहाव बढेसँगै सप्तकोशी ब्यारोजमा ५६ मध्ये ४७ वटा ढोका खोलिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए। 

‘कोशीमा सोमबार रातिदेखि पानीको बहाव बढेको छ, वरिपरिका नागरिकलाई सतर्क भएर बस्न आग्रह गरेका छौं,’ आचार्यले भने,‘पानीको बहाव बढ्दै गएपछि ब्यारेजको ४७ वटा ढोका खोलिएको छ।’ 

कोशीको बाढीबाट बढी प्रभावित हुने सम्बन्धित वडाअध्यक्षहरुसँग निरन्तर सम्पर्क भइरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिएका छन्। 

‘त्यहाँका वडाअध्यक्षहरुसँग निरन्तर कुराकानी भइरहेको छ, उहाँहरुले तत्काल आत्तिइनुपर्ने अवस्था नरहेको बताउनु भएको छ,’ आचार्यले भने,‘त्यस क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा राखिएको वडाध्यक्षहरुले बताउनु भएको छ ।’ 

यद्यपि सम्भावित जोखिमलाई मध्यनजर गरी लाइफ ज्याकेटलगातका सुरक्षा सामग्रीहरु पठाइसकिएको उनको भनाइ छ। 

मंगलबार बिहानको मापनअनुसार कोशी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डको दरल बहाव भइरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए। बहावले खतराको सतह पार गरेकोले तटीय क्षेत्रमा सतर्क रहन आफूहरुले आग्रह गरेको आचार्यले बताए। 

कोशी नदीमा आउने बाढीका कारण हरेक वर्ष सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका दर्जनौं गाउँ प्रभावित हुने गरेको छ। 

कोशीको पानी गाउँभित्र छिरेपछि हजारौं स्थानीय बाढीको चपेटमा पर्ने गरेका छन्।
 


Leave a Reply

Your email address will not be published.