जनकपुरको फोहर कहाँ फाल्ने?

जनकपुरको फोहर कहाँ फाल्ने?

जनकपुरधाम उपमहानगरपालिका पछिल्लो केही दिनदेखि दुर्गन्धित बन्दै गएको छ। विगत दुई सातादेखि उपमहानगरपालिका कार्यालयले नगर क्षेत्रभित्र फोहर नउठाएपछि जनकपुर दुर्गन्धित बन्दै गएको हो।

पछिल्लो दुई सातादेखि उपमहानगरपालिका कार्यालयले चासो नदिँदा जनकपुरको मुख्य बजारसहित भित्री वस्तीहरूमा समेत फोहर थुप्रिएको छ।

उपमहानगर कार्यालयमा झण्डै १ सय १५ जना सफाइकर्मी छन्। फोहर उठाउन सानो ठूलो गरी १२ वटा ट्याक्टर र टिप्पर छ। तर, सहर दुर्घन्धित बन्दै गइरहेको छ। 

फोहर व्यवस्थापनतर्फ उपमहानगरले चासो नदिँदा सामाजिक सञ्जालदेखि सार्वजनिक स्थानहरुमा उपमहानगरपालिकाको लापारबाहीको आलोचना भइरहेको छ।

व्यवस्थापन गर्ने ठाउँ नहुँदा फोहर उठ्न नसकेको जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता झा बताउँछिन्। 
फोहर फ्याल्ने उपयुक्त स्थान नहुँदा व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ छ।

‘सफाइ कर्मचारीहरु काम गर्न तयार छन्, उनीहरुले कुनै समस्या गरेका छैनन्,’ उपमेयर झा भन्छिन्, ‘फोहर फ्याल्ने उचित स्थान नहुँदा समस्या भएको हो।’ यसअघि व्यवस्थापन हुँदै आइरहेको स्थानका स्थानीयहरुले विरोध गरेपछि सहरभित्र फोहर थुप्रिएको उनले बताइन्।

‘उपमहानगरको बसविट्टीमा बस्तीभन्दा टाढा हामीले फोहर फ्याल्ने व्यवस्था मिलाएका थियौं, यसअघिसम्म सबै फोहर त्यसै स्थानमा व्यवस्थापन भइरहेको थियो,’ उनले भनिन्, ‘अहिले त्यहाँका स्थानीयहरुले विरोध गरिरहेका छन्। उनीहरुको विरोधपछि फोहर फ्याल्ने काम बन्द भएको छ।’ 

उपमहानगरपालिकाले बसविट्टीको निजी जग्गालाई सरकारी भनेर फोहर फ्यालेपछि स्थानीयले विरोध गरेको बताइएको छ। 

‘हामीलाई सुरुमा त्यो जग्गा सरकारी रहेको लागेको थियो, तर पछि खोजबिन गर्दैजाँदा निजी निस्कियो,’ उपमेयर झाले भनिन्।

झाका अनुसार उपमहानगरपालिका कार्यालयले बसविट्टीमै आठ कठ्ठाको सरकारी जग्गा फेला पारेको छ। नयाँ फेला परेको जग्गापनि बस्तीभन्दा पर छ। तर, स्थानीयले त्यहाँपनि फोहर फ्याल्न अवरोध गरेको उनको भनाइ छ।

‘स्थानीयले नै अवरोध गर्न थालेपछि हामीले फोहरको व्यवस्थापन कसरी गर्ने?,’ उल्टो प्रश्न गर्दै झाले भनिन्, ‘यसअघि स्थानीयकै विरोधका कारण ल्यान्डफिल साइटपनि बन्न सकेन्। ल्यान्डफिल साइट बनिसकेको भए सम्भवतः अहिले यस्तो समस्या भोग्नु पर्दैन थियो होला।’

उपमहानगरपालिका कार्यालयले ल्यान्डफिल साइट बनाउन नसकेपछि एसियाली विकास बैंंक (एडीबी) ले अनुदान दिएको ४८ करोड रुपैयाँ गत वर्ष नै फिर्ता लगिसकेको छ। 

एकीकृत सहरी विकास आयोजनाअन्तर्गत ल्यान्डफिल साइट निर्माण गर्न उपमहानगरपालिकालाई त्यो रकम अनुदान दिएको थियो। तर, उपमहानगरपालिका कार्यालयले जग्गाको टुंगो लगाउन नसकेपछि एडीबीले रकम फिर्ता लगेको थियो। गुठी संस्थान कार्यालयले उपमहानगपालिकाको भोइलमा १३ बिघा जग्गा उपलब्ध गराएपनि उमहानगरपालिकाले त्यहाँ ल्यान्डफिल साइट बनाउन सकेन्। 

ल्यान्डफिल साइट बन्न नसक्नुको प्रमुख कारण स्थानीयको अवरोध रहेको उपमेयर झा बताउँछिन्।

निर्वाचित भएर आइसकेको तीन वर्ष बितिसक्दासमेत जनप्रतिनिधिहरुले प्रदेशको अस्थायी राजधानीमा फोहर व्यवस्थापनको उचित व्यवस्था गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको जनकपुरका स्थानीयहरुको गुनासो छ।

‘यसअघि कर्मचारीतन्त्रले चलाउँदै आइरहेको स्थानीय तह अब जनप्रतिनिधिहरुको हातमा गइसकेको छ, ठूलो काम त परै जाओस उपमहानगरपालिका कार्यालयले तीन वर्षको अवधिमा फोहर व्यवस्थापनको समेत कुनै व्यवस्था गर्न सकेको छैन्,’ स्थानीय युवा सुशील कर्ण बताउँछन्।

‘बेलाबेला फोहर सफा गरेको देखाउन झाडु बोकेर फोटो खिचाउने जनप्रतिनिधिहरु सबै गायब भइसकेको छन्,’ कर्ण भन्छन्,‘जनकपुर फोहरको डंगुर बनिसकेको छ, तर उपमहानगरपालिकालाई कुनै मतलब छैन्।’ ‘फोहर व्यवस्थापनको दुरुवास्था छ, मेरो घरबाट निस्केको फोहर मैले कहाँ फ्याल्ने उपमहानगरपालिका कार्यालयले बताइदिनु प¥यो,’ कर्णले भने।

जनकपुर उपमहानगरपालिका कार्यालयसँग दैनिक उत्पादन हुने फोहरको यकिन तथ्यांकसमेत छैन्। दैनिक निस्कने फोहरको तथ्यांक आफूहरुसँग नरहेको उपमेयर झाले बताइन्। ‘हालसम्म हामीले दैनिक उत्पादन हुने फोहरको तथ्यांक निकालेका छैनौं,’ झाले भनिन्,‘तर, अब निकाल्नुपर्ने भएको छ।’

निर्वाचित जनप्रतिनिधिहरु उपमहानगरपालिकामा आउनुअघि दैनिक ३९ टन फोहर जनकपुरमा उत्पादन हुने गरेको तथ्यांक छ। तर, प्रदेशको स्थायी राजधानी हुनुका साथै वडाहरु समेत थपिएपछि फोहरको मात्रामा वृद्धि भएको अनुमान गरिएको छ।


Leave a Reply

Your email address will not be published.