किसान आन्दाेलनका सहिद गुम्रा थारु

किसान आन्दाेलनका सहिद गुम्रा थारु

कुनै समयमा दाङको बेलुवा बन्जारीमा न प्रहरी छिर्न सक्थ्यो न त नेपाली सेना। प्रहरी, सेना गाउँको वरिपरि पर्नासाथ त्यहाँका थारु किसानहरू उनीहरूलाई झम्टीहाल्थे। 

घरेलु हतियार हात-हातमा बोकेर जहाँ जुन बाटो आउँथे त्यही बाटो भएर प्रहरी र सेना भाग्थे। त्यतिबेला गुलरिया, बयरबुटवा, गैरागाउँ र बेलुवा बन्जारीलगायत थुप्रै गाउँमा किसान विद्रोह भएको थियो।

जुन विद्रोहले सिंगो देशको ध्यान त्यही बेलुवा बन्जारीमा थियो। उक्त विद्रोहलाई दबाउनका लागि नेपालका सारा प्रशासनको शक्ति बेलुवा बन्जारीमा थियो भने प्रशासन र जमिन्दारको विरुद्धमा यता किसानहरू गाउँ–गाउँमा एकताबद्ध भएर तैनाथ थिए। 

प्रहरी, सेना पेस्तोल, बन्दुक लिएर किसानको गाउँभित्र छिर्न कोसिस गर्थे भने किसानहरू भाला, खुकुरी, बल्छी लिएर गाउँ छिर्ने प्रहरी र सेनालाई लखेट्थे। कहिले प्रहरी, सेनासँग त कहिले जमिन्दारसँग उनीहरूको घम्साघम्सी चलिरहन्थ्यो।

यसरी दाङमा झन्दै १० वर्षसम्म किसान आन्दोलन चल्यो। जुन किसान आन्दोलन बेलुवा बन्जारीमा उत्कर्षमा पुगिसकेको थियो। त्यही आन्दोलनमा सहिद भए, किसान नेता गुम्रा थारु।

त्यतिबेलाको चर्चित नाम हो गुम्रा थारु। अहिले गुमनाम छ, गुम्रा थारु। यद्यपि किसानहरूले भने आफ्नो प्रिय नेता गुम्रा थारुको योगदान भुलेका छैनन्।

गुम्रा थारुको नाम अहिले पनि किसानहरूको मुख-मुखमा झुन्डिएको छ, जुन बेला किसान आन्दोलनको अगुवाइ गरेको थियो। तत्कालीन नेपालका कम्युनिष्ट पार्टी र किसान संघले उनको स्मृति दिवसको दिनबाहेक अरू दिन खासै सम्झेको पाइँदैन। जसरी उनको चर्चा परिचर्चा र सम्मान हुनुपर्ने हो त्यो हुन सकेको छैन।

सहिद थारुका सहकर्मी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव नारायणप्रसाद शर्माले किसान आन्दोलनकै जगमा आजको राजनीतिक परिवर्तन भएको बताएका छन्। तर त्यही सहिदलाई भुल्नु उनीहरूको सम्मान नगर्नु ठूलो अपमान हो। उनका अनसार किसानकै संघर्षको बलमा लोकतान्त्रिक गणतन्त्र आयो तर किसानको घरमा लोकतन्त्रको घाम लागेको छैन। 

२००७ सालमा ‘जसको जोत उसको पोत’को नारासहित किसान आन्दोलन थालेको कांग्रेसले केही वर्षमै एजेण्डा बिर्सेजस्तै अहिले नेपालका कम्युनिष्ट पार्टीहरूले पनि आफूलाई समाजवादी दलको रूपमा स्थापित गर्न नसकेको गुनासो उनको छ।

पछिल्लो समयमा पुराना त्यागी नेता, कार्यकर्ता र सहिदलाई बिर्संदा कम्युनिष्ट व्यवस्था ढलेको आभाष भएको सुनाउँदै शर्मा नेपालमा पनि मुखले कम्युनिष्ट हौं भन्ने तर व्यवहारमा सामन्ती सोच र पुँजीवादी चिन्तन कायम राख्ने हो भने समाजवाद सम्भव नभएको बताउँछन्। 
कसरी भएको थियो घटना
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव नारायणप्रसाद शर्माको अनुसार दाङमा जमिन्दारविरुद्ध ठूलो किसान आन्दोलन भएको थियो।

किसान संघको अगुवाइमा झन्डै १० वर्षसम्म भएको किसान आन्दोलन उत्कर्षमा पुग्यो। सोही आन्दोलनकै क्रममा २०१७ साल साउन ६ गतेका दिन जमिन्दारहरूले वर्षातको समयमा खेत जोत्न नदिएपछि जबरजस्त रूपमा किसानहरू खेतमा गएर जोत्दै थिए।

जमिन्दार र प्रहरीले रोक्न खोज्दखोज्दै पनि खेतमा हलो जोतिरहेपछि गुम्रा थारुमाथि जमिन्दारले प्रहरीलाई गोली चलाउन आदेश दिए। लगत्तै प्रहरीले गुम्रा थारुमाथि गोली चलायो।

प्रहरीले गोली चलाउन थालेपछि गुम्रा थारुले पनि आफ्नो कम्मरमा झुन्ड्याएको हँसियाले प्रतिकार पनि गरे तर बन्दुकको नालमा उनको हँसियाले केही प्रतिकार गर्न सकेन। अन्ततः उनलाई प्रहरीले गोली हानी हत्या ग¥यो। त्यहीं जोत्दा जोत्दै गुम्रा थारु खेतमै ढले।

गुमराहमा गुम्राको शालिक

गुम्रा थारुलाई सहिद घोषणा गरेपछि घोराहीको ट्राफिक कार्यालयको करिब १०० मिटर पश्चिम–उत्तर साइडमा उनको शालिक बनाइएको छ। त्यस ठाउँलाई घोराही उपमहानगरपालिकाले गुम्रा चोक नाम राखेको छ।

उक्त ठाउँलाई धेरैले ट्राफिक चोक र घोडा चोक भनेर भन्ने गर्छन्। जहाँ गुम्राको शालिक नै देखिन्न। अनि थाहा होस् गुम्रा चोक। जुन ठाउँमा गुम्राको शालिक राखिनुपर्ने हो, त्यो ठाउँमा घोडाको प्रतिमा राखिएको छ। जहाँ गुम्राको शालिक छ त्यहाँ फोहरको थुप्रो लाग्छ र वरिपरि अटोको पार्किङ हुन्छ। साँच्चै गुमराहमा छ गुम्रा चोक।   

को हुन् गुम्रा थारु 

घोराही उपमहानगरपालिका–३ बेलुवाका गरिब किसान हुन् उनी। किसान संघ सदस्यसमेत रहेका गुम्रा थारु निकै सोझा, इमान्दार र लगनशील थिए। उनी सामान्य लेखपढ गर्नसक्ने तर निकै चलाख थिए। किसानहरूको पक्षमा सशक्त आवाज उठाउने एक क्रियाशील र सिर्जनशील युवा थिए।

कम्युनिष्ट पार्टीका किसान नेता बयवटुवाका धातु चौधरी, गैरागाउँका मोतीलाल चौधरी, वर्गीय नेता नारायणप्रसाद शर्मालगायत सँगसँगै गाउँ–गाउँ किसानहरूलाई संगठित बनाउने काम गर्थे। किसानको पक्षमा काम गर्दागर्दै उनी सहिद भए। 

थारुको ६० औं स्मृति दिवस मनाइँदै
यसैबीच सहिद किसान नेता गुम्रा थारु ६० औं स्मृति दिवस दाङलगायत विभिन्न ठाउँ आज मनाइँदै छ। नेपाल कम्युनिष्ट पार्टी दाङ र अखिल किसान महासंघले संयुक्त रूपमा सहिद थारुको स्मृति दिवसको अवसरमा पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रम गर्ने नेकपाका नेता सुरामणि वेलबासेले जानकारी दिए।

उनका अनुसार अन्तरक्रिया कार्यक्रम गर्नुअघि थारुको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ। अखिल किसान महासंघले हरेक वर्ष साउन ६ गते गुम्रा थारुलाई सम्झने गरेको छ। 


Leave a Reply

Your email address will not be published.