जहाँ शरीर ढाकिन्छ, नाम ‘गुमनाम’ राखिन्छ

जहाँ शरीर ढाकिन्छ, नाम ‘गुमनाम’ राखिन्छ

अफगानस्तानको पश्चिमी क्षेत्रकी एक महिला (राबिया) बिरामी छिन्।

स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल जानु थियो।

उनी अस्पताल पुगिन्। 

डाक्टरले औषधी लेखेको पर्चा थमाइदिए।

अस्पतालमा उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भयो।

अस्पतालबाट उनी घर फर्किइन्। 

सन्चो भएन। शरीर दुख्ने र ज्वरो आइरह्यो।

डाक्टरले राबियाका श्रीमानलाई औषधी किन्न सहज होस् भनेर पर्चा दिएको थियो।

औषधीको नाम लेखिएको पर्चा बोकेर उनी आशाका साथ घर पुगिन्।

तर औषधी र सान्त्वनाका बदला हप्कीदप्की पाउँछिन् अनि कुटिन्छिन् उनी।

उनका श्रीमानले औषधीको पर्चामा श्रीमतीको नाम देखेपछि भड्किन्छन् र रिसले रन्थनिन्छन्।

यसको एउटै कारण थियो पर्चामा श्रीमतीको नाम थियो।

श्रीमानले अपरिचित मान्छेलाई नाम बताएको भन्दै राबियालाई यातना दिन थाले।

अफगानिस्तानमा महिलाहरू खुलेर हाँस्न, बोल्न र हिँड्न पाउँदैनन्।

परिवारका सदस्यहरूले आफूहरूको नाम नबताउन महिलालाई दबाब दिन्छन्। 

जुनसुकै क्षेत्र र पेसाका हुन् उनीहरू नाम बताउँदा आफू बदनाम भएको सम्झन्छन्।

महिलाहरू शरीरका साथै नामसमेत लुकाउन बाध्य छन्। उनीहरूको तन त ढाकिएकै थियो तर आफ्नो नामसमेत  गुमनाम पार्नुपर्ने अवस्था छ।

अफगानस्तानको यस्तो परम्परा र कानुनको अहिले चर्को विरोध भइरहेको छ।

स्वतन्त्रताका लागि महिलाहरूले आवाज उठाइरहेका छन्।

आफ्नो हक अधिकारका लागि आवाज उठाइरहेका अफगानी महिलाले ह्यासट्याग ‘मेरो नाम कहाँ छ’ अभियान नै चलाएका छन्।

अफगानमा एक बालिकाले जन्म लिन्छ, निश्चित समयपछि मात्र नाम मिल्छ। 

तर नाम भने न कसैलाई बताउन पाइन्छ न त कसैले नाम लिएर बोलाउन ।

नाम व्यक्तिको पहिचानका लागि राखिन्छ, जसको माध्यमबाट उसले आफ्नो परिचय बनाउन सकोस्।

अफगानमा नाम त राखिन्छ तर सधैं नाम गुमनाम रहन्छ। शरीर ढाकिएजस्तै नामसमेत ढाकिन्छ, लुकाइन्छ।

महिलाको नाम न जन्मदर्ताको प्रमाणपत्रमा हुन्छ न त विवाहको निमन्त्रणामा।  महिलाको नाम न मृत्युदर्ताको प्रमाणपत्रमा लेखिन्छ न त घाटका पत्थरहरूमा ।

उनीहरू नामबाट सधैं टाढा। उनीहरू न अनुहार देखाउन सक्छन्, न त परिचय बताउन।

उनीहरू संस्कारको नाममा वर्षौदेखि दबिएका छन्। वर्षौदेखि गुमनाम जीवन बिताउँदै आएका छन्।

आज यसै नामका कारण उनीहरूले आफ्नो परम्परा र कानुनको विरोध गरिरहेका छन्। आफ्नो पहिचान मागिरहेका छन्। 

सामाजिक सञ्जालमा ‘मेरो नाम कहाँ छ’ अभियान सुरु गरेका छन्।

अफगानी महिलाहरू नाम बताउन मान्दैनन्। बताइहाले पनि घरपरिवारले सहँदैन।

राबिया न नाम बताउन चाहन्छिन् न त धेरै बोल्न।

‘जब कसैले मलाई मेरो नाम सोध्छन् तब मैले मेरो बुवा दाजुभाइ वा मंगेतरको इज्जतबारे सोच्नुपर्छ, म मेरो परिवारको चित्त दुखाउन चाहन्न, नाम बताउन आवश्यक नै के छ,’ उनले भनेकी छन्।

मलाई अहिले फलानाकी छोरी, फलानाकी बहिनी भनेर बोलाऊन भन्ने चाहन्छु,’ उनले थपिन्, ‘भविष्यमा श्रीमानको नामबाट र पछि छोराकी आमा भनेर बोलाऊन भन्ने चाहन्छु।’

धेरैजसो अफगानी पुरुष सार्वजनिक रूपमा आमा, बहिनी र श्रीमतीको नाम लिन हिच्किचाउँछन्। त्यहाँ नामले बोलाउनु शर्मनाक मानिन्छ।

महिलालाई घरको जेठो पुरुषको नाताबाट सम्बोधन गर्ने प्रचलन रहेको अफगानमा महिलाका नाम बुर्काजस्तै ढाकिएको र लुकाइएको हुन्छ।

अफगानस्तानको कानुनमा जन्मदर्ताको प्रमाणपत्रमा केवल बुवाको नाम उल्लेख गर्ने प्रावधान छ।

…..

फारिदाको सानै उमेरमा बिहे भयो १५ वर्षको कलिलो उमेरमा आमा बनिन्। श्रीमानले उनको साथ छोडे। 

श्रीमानले साथ छोडेपछि उनी जर्मनी गइन्। श्रीमानले साथ छोडे पनि तलाक भने दिएनन्।

फारिदा आफ्नो बालबच्चामा श्रीमानको कुनै अधिकार नभएको बताउँछिन्। आफ्ना बालबालिकाको प्रमाणपत्रमा श्रीमानको नाम उल्लेख नभई आफ्नो हुनुपर्ने बताउँदै आएकी छन्।

‘श्रीमानले तलाक दिन इन्कार गरे पनि चार बालबच्चालाई मैलै एक्लैले हुर्काएँ, तलाक नदिएका कारण दोस्रो बिहे गर्न सकिनँ,’ उनले भनिन्।

अफगानस्तानमा उनको श्रीमान जस्तै बहुविवाह गर्ने कयौं पुरुष छन्, जसले बालबच्चाको हेरचाह गर्दैनन्।

कानुन परिवर्तन गरी बालबालिकाको जन्मदर्ता र पहिचान पत्रमा आमाको नाम हुनुपर्ने व्यवस्था लागू गर्न उनले अफगानी राष्ट्रपतिसमक्ष अपिल गरेकी छन्।

अफगानी महिला लालेह उस्मानीले यस प्रथा चलाइरहन नहुने बताएकी छन्।

उस्मानीले यस कानुनविरुद्ध ‘मेरो नाम कहाँ छ’ अभियान सञ्चालन गरेकी छन्।

आफगानी महिलाले शरीरका साथै नाम समेत लुकाउनुपर्ने परिस्थितिबाट बाहिर आउनुपर्ने उनको भनाइ छ।

‘बालबालिकाको जन्मदर्ताको प्रमाणपत्रमा बुवाको साथै आमाको नाम हुनुपर्छ, अफगानलाई यसका लागि तयार गर्न यो अभियान सञ्चालन गरिएको हो, हामी निरन्तर लागिरहन्छौं,’ उस्मानीले दाबासाथ भनिन्।

‘मेरो नाम कहाँ छ’ अभियान तीव्र रूपमा अघि बढिरहेको छ। यसलाई सबैले साथ र हौसला दिइरहका छन्।

अफगानस्तानका समाजशास्त्री अली काहेव पित्तृसत्तात्मक समाजका कारण इज्जतको नाममा महिलाको तनमात्रै नभई नाम र पहिचानसमेत लुकाउन बाध्य बनाइएको बताउँछन्।

‘अफगानी महिलाहरू वर्षौदेखि दबिएर र गुम्सिएर रहेका छन्, अफगानी समाजमा सबैभन्दा इज्जतदार महिला ती हुन् जसलाई न कसैले देखेको छ न त केती सुनिएको छ,’ काहेवले भने।

‘अफगानमा महिलाबारे एउटा भनाइ छ, जसलाई न सूर्यले देख्यो न चन्द्रमाले। समाजमा पुरुष जति कठोर हुन्छ त्यसको इज्जत त्यति नै बढी हुन्छ भन्ने भ्रम छ, परिवारमा कुनै महिला खुला विचारवाला हुन्छन् भने ती चरित्रहीन हुन्छे भनिन्छ,’ उनले सुनाए ।


-बिबिसीबाट अनुवादित सामग्री


Leave a Reply

Your email address will not be published.