दाहाल-ओलीबीच कुरा मिल्यो, नेकपा महाधिवेशनमा जाने
काठमाडौं
नेपाल कम्युनिस्ट पार्टी महाधिवेशनमा केन्द्रित हुने भएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा अब महाधिवेशनमा जाने प्रष्ट संकेत दिएका हुन्।
पार्टी एकताको रक्षा यतिबेलाको ‘बटमलाइन’ भन्दै श्रेष्ठले महाधिवेशनलाई निकासको सूत्र बनाउनुपर्ने बताएका छन्।
‘पाटी एकताको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवम् अखण्डताको रक्षा, लोकतन्त्रको रक्षा एवम् विस्तार, समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो। तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔँ,’ उनले ट्वीटरमा लेखेका छन्।
नेकपाको स्थायी समिति बैठक अहिले १ बजे बस्दैछ। सोमबार प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी महाधिवेशनमा जाने सहमति भएको अनौपचारिक जानकारी आएको छ। उनीहरूबीच के कुरामा सहमति भयो भन्ने खुलेको छैन।
‘हाम्रो पार्टीमा अहिले एकता महाधिवेशन गर्ने चर्चा सुरू भएको छ। यो राम्रो र खुशीको कुरा हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘किनकि, पार्टी एकताको संक्रमणकाल अन्त्य गर्न आवश्यक तयारी पूरा गरी यथाशीघ्र महाधिवेशन सम्पन्न गर्नैपर्छ।’ उनले महाधिवेशनलाई प्राविधिक विषय मात्र बनाउन नहुने बताए।
वैचारिक कार्यभारलाई केन्द्रमा राखी सांगठनिक कार्यभार समेत पूरा गर्ने गरी महाधिवेशनको तयारी गर्नुपर्ने उनले बताए।
‘यसो गर्दा आगामी मङ्सिरमा नै महाधिवेशनको आयोजना गर्न सम्भव देखिन्न। त्यसैले, हत्तपत्त र ढिलाइ दुवै गलत हुन्छन्। गत केन्द्रीय कमिटीको यस समबन्धी निर्णयलाई ध्यान दिँदै उपयुक्त समय निर्धारित गरी महाधिवेशनको तयारीमा अघि बढौं। महाधिवेशनलाई एकता र वैचारिक संश्लेषण एवम् विकासको महाधिवेशन बनाऔं,’ श्रेष्ठले भने।
पार्टी एकताको रक्षा यतिबेलाको हाम्रो वटमलाईन हो।यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डताको रक्षा,लोकतन्त्रको रक्षा एवं बिस्तार,समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण हो।तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारी लाई निकासको सुत्र बनाऔँ।
— NKShresthaPrakash (@nksthaprakash) July 21, 2020