‘केरूङ च्छो’ तालमा पानीकाे सतह एक मिटर घट्यो
चीनको खासा क्षेत्रमा रहेको ‘केरूङ च्छो’ तालमा पानीको घटेको छ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार तालमा पानीको सतह एक मिटर घटेको जानकारी चिनियाँ पक्षबाट आएको छ।
‘तालको पानीको सतह घटिरहेको जानकारी आएको छ, हामी चीनका अधिकारीहरुसँग सम्पर्कमै छौं,’ प्रजिअ ढकालले भने, ‘जोखिम टरिसकेको त छैन तर कम भने भएको छ।’
ताल भरिएको र फुट्न सक्ने भन्दै स्थानीय प्रशासनले सोमबार सूचना जारी गर्दै तटीय क्षेत्रका नागरिकलाई सजगता अपनाउन आह्वान गरेको थियो।
प्रजिअ ढकालका अनुसार भोटेकोशी नदीको तटीय क्षेत्रमा रहेका कतिपय नागरिक सुरक्षित स्थानतर्फ गइसकेका छन्।
ताल फुटेमा भोटेकोशीमा बाढी आउन सक्ने र त्यसले भोटेकोशी, बेलफी गाउँपालिका तथा बाह्रबिसे नगरपालिकाका क्षेत्रमा क्षति पुग्न सक्ने आकलन गरिएको थियो।
प्रजिअ ढकालका अनुसार तालको अवस्थाबारे विस्तृत विवरण बुधबार आउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार : तिब्बतको ताल फुट्ने सम्भावना, भोटेकोशी तथा बाह्रबिसे क्षेत्रमा बस्ती सार्न निर्देशन