साना ऋणीले पनि सुविधा पाउने गरी पुनर्कर्जाकाे कार्यविधि, यी हुन् विशेषता 

साना ऋणीले पनि सुविधा पाउने गरी पुनर्कर्जाकाे कार्यविधि, यी हुन् विशेषता 

नेपाल राष्ट्र बैंकले कर्जावाललाई सहुलीयतपूर्ण दरमा थप कर्जा प्रदान गर्न पुनर्कर्जाको कार्यविधि बनाएको छ। 

बैंक तथा वित्तीय संस्थालाई साउन २५ गतेदेखि पुनर्कर्जा वितरण गर्न भनेको राष्ट्र बैंकले कार्यविधिमा उल्लेख गरेको छ-कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई सम्बोधन गर्नेगरी उद्योग पेशा व्यवसायको पुनरुत्थानमा सहयोग पुर्याउन पुनर्कर्जा पहुँच अभिवर्द गरी विद्यमान पुनर्कर्जा कार्यविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाइएको छ।'

कार्यविधि अनुसार अब साना ऋणीले समेत पुनर्कर्जा पाउने छन्। पुनर्कर्जाको अधिकतम ब्याजदर पाँच प्रतिशतसम्म रहेकोमा विशेष पुनर्कर्जाको ब्याजदर ३ प्रतिशत मात्र रहने कार्यविधिमा भनिएको छ।

पुनर्कर्जामार्फत नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँ वितरण गर्न लागेको हो।

 कृषि तथा उद्योग क्षेत्रको विकासको लागि छुट्याइएको ‘विकास कोष’ लगायत अन्य श्रोतबाट प्राप्त रकमलाई पुनर्कर्जाको जोखिम व्यहोर्ने कोषको रुपमा उपयोग गरिने राष्ट्र बैंकले जनाएको छ।

काेराेनाकाे याे विषम् परिस्थितिमा पुनर्कर्जा प्रयोजनका लागि प्राप्त हुने कुल  स्राेतको अधिकतम पाँच गुणासम्म बैंकले पुनर्कर्जा प्रदान गर्न सक्ने गरी सीमा तोकिदिएको छ।

तर कोभिड-१९ को असर न्यून भएसँगै यस सीमालाई क्रमशः घटाउँदै कोषमा उपलब्ध श्रोतको आधारमा पुनर्कर्जा सुविधा प्रदान गर्ने व्यवस्था मिलाइने कार्यविधिमा उल्लेख छ।

पुनर्कर्जालाई तीन तहमा विभाजन गरिएको छ।

उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाका लागि प्रदान गरिने पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा भनिएकाे छ।

त्यस्तै, बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिएकाे छ। यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढंगलेसक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम/व्यवसाय, विपदबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनरकर्जालाई मानिनेछ।

बैंकले समय-समयमा तोकेको सबै पुनर्कर्जालाई साधारण पुनर्कर्जा मानिने जनाइएको छ।

पुनर्कर्जाको अधिकतम ब्याजदर पाँच प्रतिशत रहेको छ, भने अवधि बढीमा एक वर्षको हुनेछ। यस्तो कर्जा नवीकरण नहुने जनाइएको छ।

‘ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनर्कर्जाको हकमा कोभिड-१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि ६ महिना अवधिको हुनेछ,’ कार्यविधिमा भनिएको छ।
पुनर्कर्जाको अधिकतम सीमा ५ करोड निर्धारण गरिएको छ। यसरी एकमुष्ट प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन।

तर, बैंकले ग्राहक अनुसार मूल्यांकन गरी उपलव्ध गराउने पुनर्कर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोडसम्म हुने जनाइएकाे छ। 
‘बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन,’ कार्यविधिमा भनिएको छ।

व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाका लागि पुनर्कर्जा पाइने छैन।

तर, व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने लगायत स्वरोजगारमुलक काम गरी आयआर्जन गरेको विषयमा इजाजतपत्रप्राप्त संस्था आश्वस्त भएमा पुनर्कर्जा पाइने जनाइएकाे छ।


Leave a Reply

Your email address will not be published.