कांग्रेसले साग स्वर्णधारीलाई अहिले, अरूलाई पछि सम्मान गर्ने

कांग्रेसले साग स्वर्णधारीलाई अहिले, अरूलाई पछि सम्मान गर्ने

नेपाल कांग्रेस केन्द्रीय खेलकुद विभागले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ।

विभागको साउन ५ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्दै मंगलबार पत्रकार सम्मेलनमा विभाग प्रमुख मोहनबहादुर बस्नेतले तत्काललाई एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने बताए। उनले बाँकी पदक विजेता, प्रशिक्षक र व्यवस्थापकलाई पनि क्रमैसँग सम्मान गरिने जानकारी गराए।

‘सुरुमा हामीले एकल स्पर्धाका स्वर्णधारीलाई सम्मान गर्न लागेका हौं। उहाँहरूलाई १० दिनभित्रै सम्मान गर्छौं। अरु पदकधारीलाई पनि सम्झन्छौं’  प्रमुख बस्नेतले भने। एक स्वर्णलाई १० हजार, दुईलाई १५ हजार र चार स्वर्ण जित्नेलाई २५ हजार नगदसहित सम्मान गर्न लागिएको हो।

टोकियो ओलम्पिकमा भाग लिने नेपाली खेलाडी र प्रशिक्षकको कोरोना बिमा गरी यथाशीघ्र उच्च सतर्कतासाथ प्रशिक्षण सुरु गर्न सरकारसँग अनुरोध गर्ने जनाएकाे छ। 

नेपाली कांग्रेस केन्द्रीय सभापतिको नाममा बर्सेनि राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने, कांग्रेसमा आबद्ध खेलाडी र खेल क्षेत्रका संघ संस्थालाई कोरोना भाइरस र प्राकृतिक विपत्तिबाट जोगाउन सहयोग पुग्ने कार्य गर्न र गराउन परिचालन गर्ने, राष्ट्रिय खेलकुद परिषदमा १३ देखि २४ वर्षसम्म सेवा अवधि पूरा गरेका कर्मचारीको बढुवा प्रकृया अगाडि बढाउन माग गर्ने निर्णय गरेको छ।

विभागले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याएका आफ्ना स्वर्गीय नेता र सहिदको सम्मानमा राष्ट्रिय, प्रदेशस्तरीय र स्थानीयस्तरीय प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ।

विभागले बिपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधि, मंगलादेवी सिंह, शैलजा आचार्य, धनमानसिंह परियार, खुमबहादुर खड्का, शेख इद्रिस, बलबहादुर राई, बखानसिं गुरुङ, योगेन्द्रमान शेरचन, भीमबहादुर तामाङ, राधाकृष्ण चौधरी, द्वारिकादेवी ठकुरानी, भूविक्रम नेम्वाङ र सहिद लखन थापा मगरको स्मृतिमा प्रतियोगिता आयोजना गर्ने जानकारी गराएकाे छ।


Leave a Reply

Your email address will not be published.