स्याङ्जाका तीन प्रहरीमा संक्रमण पुष्टि

स्याङ्जाका तीन प्रहरीमा संक्रमण पुष्टि

स्याङ्जामा तीनजना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३३, ३४ र ३८ वर्षका तीन प्रहरीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए। 

संक्रमण पुष्टि हुनेमा दुई हबल्दार र एक सिपाही छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ५५ जना कार्यरत छन्। तीमध्ये प्रबन्ध शाखा (जिन्सी) मा खटिएका तीन सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको स्याङ्जाका प्रहरी प्रमुख (एसपी) विमलराज कँडेलले बताए।

जिन्सी शाखाका प्रहरी भए पनि चाहिएका बेला हुलदंगा नियन्त्रण र अरु कामका लागि बाहिर निस्किएकाले त्यति बेला कोरोना सरेको हुनसक्ने एसपी कँडेलले अनुमान लगाए।

केही दिनदेखि चार जनालाई सामान्य ज्वरो आएकाले शंकाका आधरमा स्वाब परीक्षण गरिएकोमा तीन जनामा कोरोना पुष्टि भएको हो। 

तीनजनालाई सदरमुकामकै आइसोलेसनमा राखिएको छ। जिल्ला प्रहरी कार्यालयलाई मंगलबारबाटै सिल गरी जिल्लाको सुरक्षाका लागि वैकल्पिक व्यवस्था गरिएको छ। 

नागरिकसँग जोडिएका काम र जिल्लाको शान्ति सुरक्षाका लागि जिल्लाभित्रकै अन्य युनिटका प्रहरी परिचालन गरिने कँडेलले बताए। प्रहरी कार्यालयभित्र रहेका सबैजनाको स्वाब लिएर तत्कालै परीक्षणका लागि पठाइने उनले जनाए।  

जिल्लाको फेदीखोला गाउँपालिकाका तीन जना पुरुषमा मंगलबार नै कोरोना पुष्टि भएको छ। यसअघि गल्याङ नगर अस्पतालमा कार्यरत डाक्टरमा सोमबार कोरोना पोजेटिभ देखिएको थियो। उनी संक्रमितको उपचारमा खटिएका थिए। 

तीन संक्रमित थपिएसँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या दुई सय चार पुगेको छ। संक्रमितमध्ये एक सय ८३ जना निको भएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ। 

गण्डकी प्रदेशमा मंगलबार साँझसम्म कोरोना संक्रमितको संख्या एक हजार तीन सय २९ पुगेको छ। प्रदेशमा कोरोना संक्रमितमध्ये हालसम्म एक हजार २० जना निको भएर घर फर्केका छन्।

प्रदेशभर कोरोनाबाट चार जनाको मृत्यु भएको छ। स्याङ्जाका दुई, बागलुङ र गोरखाका एक÷एक पुरुषको मृत्यु भएको हो।

स्याङ्जासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा हालसम्म १३ सय ४५ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये एक हजार २० जना निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published.