विपदमा खाद्यवस्तुको ढुवानीलाई प्राथमिकता, सरकारी कम्पनीलाई मौज्दात बढाउन निर्देशन

विपदमा खाद्यवस्तुको ढुवानीलाई प्राथमिकता, सरकारी कम्पनीलाई मौज्दात बढाउन निर्देशन

बाढीपहिरोसँगै सडक अवरुद्धका घटना बढ्न थालेपछि सरकारले दैनिक उपभोग्य वस्तुको ढुवानीलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा मंगलबार बसेको बैठकले आपूर्ति व्यवस्थापन सहज बनाउन अन्तर्राष्ट्रिय व्यापार हुने तथा अन्य व्यापारिक मार्गमा भएका अवरोध छिटो हटाउन सडक विभागले पहल गर्ने निर्णय गरेकाे छ। त्यसका लागि सुरक्षा निकायले पहल गर्नेछन्।

यसैगरी, दैनिक उपभोग्य खाद्यवस्तुको ढुवानीलाई प्राथमिकता राख्ने र आन्तरिक उत्पादनको ढुवानी, बजार व्यवस्थापनका लागि सहजीकरण गरिने भएको छ।

निजी क्षेत्रले विपदको समयमा आपूर्ति व्यवस्था सूचारु राख्नुपर्ने छ।

त्यस्तै, नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ लिमिटेडलाई मौजदात बढाउन निर्देशन दिइएको छ। बैकल्पिक उपाय समेत अबलम्बन गरी आपूर्ति सूचारु गर्न तथा कर्मचारीलाई तयारी अवस्थामा राख्न भनिएको छ।

सरकारले विपद् प्रभावितका लागि दाल, नुन, चामल, तेल जस्ता सामग्री उपलब्ध गराउने भएको छ। त्यसको व्यवस्था नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले मिलाउनेछन्।

विपद्को समयमा कृत्रिम अभाव, कालोबजारी नियन्त्रण गर्नृ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्ने भएको छ।


Leave a Reply

Your email address will not be published.