राजविराज नगरपालिकामा भोलिदेखि पूर्ण लकडाउन 

राजविराज नगरपालिकामा भोलिदेखि पूर्ण लकडाउन 

सप्तरीको राजविराज नगरपालिकाले नगरपालिका क्षेत्रमा बुधबारदेखि पूर्ण लडकाउन गर्ने निर्णय गरेको छ। 

नगर क्षेत्रभित्र कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नगरपालिकाले पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो। 

पछिल्लो समय नेपाल सरकारकै निर्णयअनुसार लकडाउन केही खुकुलो गरिएको अवस्थामा नगरपालिका क्षेत्रभित्र कोरोना संक्रमण फैलिन नदिन नगरवासीको चाहनाबमोजिम पूर्ण लकडाउन गर्ने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताएका छन्। 

सरकारले भने मंगलबार राति १२ बजेपछि लकडाउन अन्त्य भएको घोषणा गरेको छ। 

बुधबारदेखि लकडाउन अवधिभर नगरक्षेत्रभित्र अत्यावश्यक सेवाबाहेक सम्पूर्ण बजार, पसल, व्यवसाय, सरकारी, गैर सरकारी कार्यालय र वित्तीय संस्थाहरु पूर्णरुपले बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए। 

लकडाउन अवधिभर अनावश्यक घरबाट बाहिर ननिस्कन, अत्यावश्यक कामको लागि निस्कनुपर्ने अवस्थामा मास्कको अनिवार्य प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न नगरपलिकाले सम्पूर्ण नगरवासीसँग आग्रह गरेको छ। 

केही दिनअघि राजविराजमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको थियो। मृतक परिवारका अन्य पाँचजना सदस्य र उनको पसलमा कामगर्ने एक कामदारसहित सम्पर्कमा आएका अन्य चार जनामा संक्रमण पुष्टि भएपछि स्थानीयवासी त्रसित बनेका छन्। 

सप्तरी स्वास्थ्य कार्यालयका प्रमुख बुनियालाल यादवले पछिल्लो पटक राजविराजमा कोरोना संक्रमित एकजनाको मृत्यु भएपछि सावधानीस्वरुप पुनः पूर्ण लकडाउन गर्नुपरेको बताए। 

मृतकको सम्पर्कमा आएका १२३ जनाको स्वाब संकलन गरिएको उनले जानकारी दिएका छन्। स्वास्थ्य प्रमुख यादवका अनुसार सप्तरीको राजविराजमा अहिले २७ जना कोरोना संक्रमित रहेका छन्।


Leave a Reply

Your email address will not be published.