प्रदेश २ मा बाढीबाट एकको मृत्यु, दुई सय १९ घरपरिवार विस्थापित

प्रदेश २ मा बाढीबाट एकको मृत्यु, दुई सय १९ घरपरिवार विस्थापित

लगातारको वर्षापछि प्रदेश २ का विभिन्न स्थानमा आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ।  

रौतहटको चन्द्रपुर नगरपालिकास्थित चाँदी खोलामा बगेर एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

ती व्यक्तिको शव तीन किलोमिटर दक्षिण फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

 महोत्तरी र सर्लाहीमा एक-एक जना बेपत्ता भएका छन्। महोत्तरीको भंगहा नगरपालिकामा रातु नदी तर्न खोज्दा वडा नम्बर ६ संग्रामपुरका वीरेन्द्र कापर बगेर बेपत्ता भएका हुन्।

बाढीका कारण सप्तरीमा १५०, सर्लाहीमा ४६ र रौतहटमा २३ सहित २ सय १९ घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ। बाढीको पानी घरमा प्रवेश गरेपछि उनीहरु विस्थापित भएका हुन्।

सप्तरीको हनुमाननगर नगरपालिका ७ र ९ मा कोशी नदी, सर्लाहीको मलंगवा नगरपालिका ५ मा लखनदेही खोला, लालबन्दी नगरपालिका–४ मा जर्बा खोला र चक्रघट्टा गाउँपालिकामा डेब्रा खोलाको पानी बस्तीमा प्रवेश गरेको बताइएको छ। 

यसैगरी रौतहटको गरुडा नगरपालिका-५ शिवनगरमा खोलाको पानी बस्तीमा छिरेपछि ६९ घर परिवार विस्थापित भइ छिमेकी तथा आफन्तकोमा बसेको प्रहरीले जनाएको छ।

प्रहरीले सर्लाहीको बागमती नदीबाट दुईजनालाई उद्धार गरेको छ। दाउरा निकाल्न गएका दुईजना नदीमा बगेपछि उनीहरुलाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनकपुरले जनाएको छ। 


Leave a Reply

Your email address will not be published.