कृषि केन्द्रको झेलः कामै नगरी उपभोक्ता समितिलाई ५२ लाख भुक्तानी  

कृषि केन्द्रको झेलः कामै नगरी उपभोक्ता समितिलाई ५२ लाख भुक्तानी  

धनुषाको नक्टाझिझस्थित कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्रले असार ३० मा डिप ट्युबेलसम्बन्धी योजनाको भुक्तानी गरिदिन कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) धनुषामा पत्राचार गर्‌यो। 

योजना सम्पन्न भइसकेको भन्दै केन्द्रले कोलेनिका धनुषालाई भुक्तानी दिन आग्रह गरेको थियो। तर, कोलेनिकाले भुक्तानी रोक्का गर्‌यो।

केन्द्रले धनुषाको बनिनियाँस्थित राष्ट्रिय धानबाली अनुसन्धान परिषद् हर्दिनाथ परिसरमा डिप ट्युबेल जडान गरेवापत कोलेनिकालाई १६ लाख १ हजार २८ रुपैयाँ भुक्तानी गर्न भनेको थियो।

कोलेनिका धनुषाका प्रमुख वीरेन्द्र मिश्रले डिप ट्युबेल जडानसम्बन्धी कार्य सम्पन्न नभएको जानकारी पाएका थिए। स्थलगत निरीक्षणपछि मात्र भुक्तानी हुने भन्दै मिश्रले निकासा रोकिदिए। साथै उनले निर्माणाधीन कार्यलाई यथास्थितिमा राख्न निर्देशनसमेत दिएका छन्।

केन्द्रका प्रमुख रतनकुमार पुर्वेले जेठ १५ देखि असार २९ काम सम्पन्न भएको भन्दै प्राविधिक मूल्यांकनसहित भुक्तानीका लागि असार मसान्तसम्म फाइल पठाएको कोलेनिका प्रमुख मिश्रले बताए। 

सम्पन्न नै नभएको कामको भुक्तानी माग

‘असार ३० मा केन्द्रले हर्दिनाथ र चितवनमा ट्युबेल जडान काम सम्पन्न भएको भन्दै भुक्तानी आदेश पठायो,’ आयोमेलसँग मिश्रले भने, ‘दुवै ठाउँमा काम सम्पन्न नभएको हामीलाई शंका थियो। स्थलगत निरीक्षण गर्ने जानकारी गरायौं।’

स्थलगत निरीक्षण गर्ने भनेपछि कार्यालयले चितवनको भुक्तानी आदेश फाइलबाट झिकेको मिश्रले बताए।

‘काम सम्पन्न नै नभएको जानकारी आएको थियो, त्यहाँका अन्य कर्मचारीले पनि काम पूरा नभएको खबर गर्‌यो,’ मिश्र भन्छन्, ‘साउन २ मा स्थलगत निरीक्षण गर्न जाँदा ट्युबेल निर्माणको काम भइरहेको थियो।’ ट्युबेल जडानस्थलमा कार्यरत कामदारबाट २ साउनमा मुचुल्का उठाएर केन्द्रका प्रमुख पुर्वेलाई यथास्थितिमा काम राख्न भनेको मिश्रले बताएका छन्।

कामै नगरी भुक्तानी आदेश पठाएको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको कोलेनिका प्रमुख मिश्रले जनाए।

सर्लाहीको ब्रम्हपुरी–७ मोहनगन्जमा पनि काम सम्पन्न नै नगरी कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रले उपभोक्ता समितिलाई रकम भुक्तानी गरिसकेको बुझिएको छ।

केन्द्रमार्फत ब्रम्हपुरी–७ मोहनगन्जमा डिप ट्युबेल जडान, पम्प हाउस निर्माण, पम्प जडान, विद्युतीकरण र नाला निर्माण कार्य गर्नुपर्ने थियो। 

स्थलगत निरीक्षणको क्रममा डिप ट्युबेल जडान भइसके पनि पम्प जडान नभएको मिश्रले बताए। नालाको पाइपहरू त्यतिकै राखिएको छ भने विद्युतीकरण कार्यका लागि ट्रान्सफर्मर जडानसमेत नभएको उनको भनाइ छ।

काम सम्पन्न नभए पनि कार्यालयले ५२ लाख ३७ हजार १७ रुपैयाँ भुक्तानी गरेको बताइएको छ। केन्द्रले जनकपुरको पिडाडी चोकस्थित राष्ट्रिय वाणिज्य बैंक शाखाको खाता नम्बर १५२०००२६९५०१ मा पैसा पठाएर भुक्तानी गरेको बुझिएको छ। 
 


Leave a Reply

Your email address will not be published.