लमजुङको मर्स्याङदी-३ मा भीषण पहिराे, २० बढी घर पुरिए
लमजुङको मर्स्याङदी गाउँपालिका वडा नम्बर ३ तल्लाे टारीमा भीषण पहिरो गएको छ। बुधबार बिहान पहिरो खस्दा करिब २० घर पुरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिएका छन्।
उनका अनुसार बुधबार बिहान ससानो पहिरो खसेको थियो। पहिरो खस्न थालेपछि प्रहरीले स्थानीयलाई अन्यत्र स्थानान्तरण गरेको थियो।
तर, त्यसपछि ठूलठूला पहिरो खस्दा गाउँका अधिकांश घर पुरिएको स्थानीय प्रशासनले जनाएको छ।
प्रहरीको टोली घटनास्थल पुगेको छ। मानवीय क्षति भने नभएको बताइएको छ।
घटनास्थल पुग्न सदरमुकामबाट गाडीका एक घण्टा बढी समय लाग्छ। बीचमा पहिरोले त्यहाँ जाने बाटोमा पनि अवरोध गरेको जनाइएको छ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पहिराेका कारण १८ घर पुरिएकाे पुष्टि गरेका छन् । उनका अनुसार अझै १५-२० घर जाेखिममा रहेकाे छ। अघिल्लाे दिनदेखि नै पहिराे खस्ने क्रम सुरु भएकाे हाे । आज भीषण पहिराे जाँदा एउटा गाउँकाे बस्ती नै पुरिएकाे हाे।