खानेपानी मन्त्रीकै घरबेटीले अलपत्र पारे मेलम्चीको पाइपलाइन

खानेपानी मन्त्रीकै घरबेटीले अलपत्र पारे मेलम्चीको पाइपलाइन

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीले बुढानिलकण्ठ नगरपालिकामा मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पारेका छन्।

अधिकारीको शैलुङ कन्स्ट्रक्सन प्रा.लि.ले पाएको उक्त ठेक्कामा प्रगति एमदमै नाजुक देखिएको हो। मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्याङ्की निर्माण कार्यको ठेक्का शैलुङले लिएको छ।

जम्मा १५० किलोमिटर पाइपलाइनमध्ये हालसम्म शैलुङले साढे चार किलोमिटर मात्र पूरा गरेको छ। ओभरहेड ट्याङ्कीको त जग खन्ने कामै सुरू भएको छैन।

संयोग, यो छ कि उनै अधिकारीको खुमलटारस्थित घरमा खानेपानी मन्त्री बिना मगर बस्छिन्। आमरुपमा काम बिगार्ने ठेकेदारको रुपमा चिनिएका अधिकारीले मन्त्री मगरकै पालामा मेलम्चीको पाइपलाइन विस्तारको काम पाएका थिए।

‘अहिलेसम्म साढे चार किलोमिटर पूरा भएको छ, ट्याङ्कीको त फाउन्डेसन नै बनेको छैन। ठेक्का लागेको पन्ध्र महिना बितिसकेको छ,’ आयोजना कार्यान्वय निर्देशनालय कार्यालयका सूचना अधिकृत उज्जवल प्रजापतिले आयोमेलसँग भने, ‘लकडाउन र बर्खाका बीचमा कामै हुन सकेको छैन।’

सरकारले लकडाउनको अवधिमा यस्ता विकासे परियोजनालाई चारदेखि छ महिना शून्य अवधि मानेर ठेक्काको म्याद थप्न सकिने निर्णय नै गरेको छ। उसै पनि ढिलो काम गरिरहेको शैलुङलाई सरकारको यो निर्णयले थप राहत मिल्ने देखिएको छ।

निर्देशनालयका अनुसार शैलुङलाई पटक-पटक ताकेता गरिँदै आएको छ। तर, शैलुङको काममा चित्त बुझाउने ठाउँ छैन।

‘शैलुङले राम्रोसँग गरिरहेको छैन। प्रगति एकदमै ढिलो छ,’ आयोजना निर्देशक भोजविक्रम थापाले भने, ‘हामीले छिटो गर्न भनेर सक्नेजति ताकेता गरेका छौं।’

संयोग, यो छ कि उनै अधिकारीको खुमलटारस्थित घरमा खानेपानी मन्त्री बिना मगर बस्छिन्। आमरुपमा काम बिगार्ने ठेकेदारको रुपमा चिनिएका अधिकारीले मन्त्री मगरकै पालामा मेलम्चीको पाइपलाइन विस्तारको काम पाएका थिए।

लकडाउन र बर्खायामलाई छोडेर हेर्ने हो भने पनि शैलुङको काम सन्तोषजनक छैन।

‘सरासर गर्दा एक वर्षमा सकिने काम हो, अबका पन्ध्र महिना हेर्न बाँकी छ,’ थापाले भने, ‘काम गर्ने वातावरण भएपछि फुल फ्लेजमा लगाउँछौं।’

शैलुङले सिआइपिइएल नामक भारतीय कम्पनीलाई ज्वाइन्ट भेञ्चर राखेर मेलम्चीको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माणको ठेक्का पाएको थियो। २०१९ मार्चमा निर्देशनालयसँग एक अर्ब ४१ करोड ६९ लाख २२ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो।

सम्झौताअनुसार ठेकेदार कम्पनीले अप्रिल महिनाबाट काम थाल्नुपर्थ्यो। तर, ९ महिनापछि मात्र शैलुङले  पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण क्षेत्रमा सामग्री खसाल्न थालेको थियो।

शैलुङले ठेक्का सम्झौता भएको ९ महिनासम्म पनि काम नथालेपछि आयोजना निर्देशनालय कार्यालयले दबाब र ताकेता थालेको थियो। ‘भर्खर अलिअलि काम हुँदैथियो, लकडाउन सुरू भएपछि काम प्रभावित छ, कामदारहरू बिदामा रहेकाले साइटमा आउन सकेका छैनन्,’ प्रजापतिले भने।

ताकेता गरेपछि शैलुङले पाइपलाइन विस्तार बल्ल थाल्यो। ट्याङ्की खन्ने ठाउँमा सामान झारिरहेको थियो। ‘अहिले ट्याङ्की बनाउने ठाउँ घेराबारा गरिएको छ,’ प्रजापतिले भने।

ठेक्का लागेपछि शैलुङले इन्जिनियरिङ परीक्षणको काम गर्नै महिनौं लगाएको थियो। ठेक्का लगाउने निकायले एकपटक पाइपलाइनको इन्जिनियरिङ परीक्षण गरेको हुन्छ। ठेक्का लागेपछि ठेकेदार कम्पनीले त्यसको प्रमाणीकरण (रूजु) गरेर मात्र पाइपलाइन खन्न थाल्नुपर्ने नियम छ।

बुढानिलकण्ठ नगरपालिकाको पाइपलाइन विस्तार र ओभरहेड ट्याङ्की निर्माणको अवधि ३० महिना हो। पन्ध्र महिनामा झिनो मात्र काम भएकाले समयमै पूरा गर्न चुनौती छ। किनभने, मेलम्चीको पानी परीक्षण थालिएको छ। राजधानीका धारामा पानी झर्न थालिसकेको अवस्था छ।

सुरूङमा हालिएको पानी काठमाडौंका नौ वटा ट्याङ्कीमा जम्मा हुन्छ। ती ट्यांकीमार्फत घरसम्म पुर्‍याउने तयारी हो। काठमाडौंमा जम्मा १० वटा ट्यांकीमध्ये कटुञ्जेको बाहेक नौ वटा तयारी अवस्थामा छन्।

आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार काठमाडौंमा १ हजार १० किलोमिटर पुरानो पाइपलाइन मर्मत पूरा भइसकेको छ। नयाँ पाइपलाइन भने बनिरहेको छ।

ट्यांकी बनिसकेको बालाजु, हेपाली, बाँसबारी, कीर्तिपुर, खुमलटार, महांकाल, ठिगनीठिमी लगायत ठाउँमा पाइपलाइन विस्तार सकिएको निर्देशनालयले जनाएको छ। बुढानिलकण्ठमा भने अधिकारीले ढिलो गर्दा नयाँ पाइपलाइन बन्न सकेको छैन।

‘रिङरोडभित्र १ हजार १० किलोमिटर क्षेत्र पाइपलाइनमा पानी परीक्षण भइरहेको छ,’ सूचना अधिकृत प्रजापतिले भने।

बुढानिलकण्ठ नगरपालिकाको पाइपलाइन लसुनटार, कपनटार, श्रापाचोक, फैका, गौरीशंकर, भृकुटीचोक, कुमारस्थान, धोवीखोला करिडोर, रामहरि चोक, फूलबारी हुँदै आरूबारीमा पुगेर सकिन्छ। आरूबारीमा ओभरहेड ट्याङ्की रहन्छ।

आफ्नो निर्माण कम्पनीको क्षमता कमजोर हुनेले ज्वाइन्ट भेञ्चरमा ठेक्का लिने गरेका छन्। शैलुङले हालसम्म लिएका सबै ठेक्कामा ज्वाइन्ट भेञ्चर कम्पनी छन्। ज्वाइन्ट भेञ्चर कम्पनीले साधन मात्रै उपलब्ध गराउने भएकाले यसमा प्रमुख ठेकेदार कम्पनी शैलुङ नै हो। 

सबैभन्दा कम रकम कबोलेका कारण शैलुङसँग मेलम्चीको पाइपलाइन विस्तारको काममा सम्झौता गरिएको थियो।

मगर खानेपानी मन्त्री भएकै बखत अधिकारीले मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएका थिए। मन्त्री मगर आफैं पनि अहिले खुमलटारस्थित अधिकारीकै घरमा बस्छिन्।

गृह मन्त्रालयका अनुसार शैलुङ निर्माण क्षेत्रमा ‘बदमासी’ गर्ने ‘क’ वर्गको ठेकेदार कम्पनी हो।

गृहमन्त्री रामबहादुर थापाले दुई वर्षअघि ‘बदमासी’ गर्ने निर्माण कम्पनीको नाम सार्वजनिक गर्दा अधिकारीको शैलुङ पनि थियो।

दुई अर्ब आठ करोडको राष्ट्र बैंक केन्द्रीय कार्यालयको ठेक्का विवादास्पद पप्पु कम्पनीले पाउने भएपछि सरकारले हस्तक्षेप गरेर रोकेको थियो। पप्पुले देशैभरि पुल निर्माणको काम बिगारेको आरोप छ। बर्दियाको जबदीघाटस्थित बबई नदीको पुल भासिएपछि पप्पुलाई भ्रष्टाचार मुद्दा लागेको थियो। सार्वजनिक खरिद अनुगमन कार्यालयले उसलाई एक वर्षसम्म ठेक्काबाट बञ्चित गराइसकेको छ।

शैलुङ पनि यस्तै विवादित कम्पनी हो, जसले ठेक्काका धेरै काम पूरा गरेको छैन। निर्माण क्षेत्रमा समयमा काम नगर्ने सरकारी सूचीमा शैलुङ छ। सरकारले चाहे पप्पुलाई जस्तै ठेक्का खोसेर वा कालोसूचीमा राखेर शैलुङलाई कारबाही गर्न सक्छ। तर, अधिकारीसँग नेकपा अध्यक्ष दाहाल नै जोडिएपछि उनी कारबाहीमा पर्न सकेका छैनन्।

गत चैत ३० गतेसम्म उसले काम सक्ने समय थियो। त्यो गुज्रिसकेको छ। ‘करिब ९० प्रतिशत काम सकिएको छ, सडक सुधारका केही काम बाँकी नै छन्,’ कार्यालयका प्रमुख गुरु अधिकारीले भने, ‘म्याद थप्न फेरि निवेदन आएको छ।’

काठमाडौं उपत्यका सडक सुधार योजना कार्यालयका अनुसार शैलुङले त्रिपुरेश्वर-कलंकी-नागढुंगा ९.१ किलोमिटर सडक ठेक्का पूरा गरेको छैन। एक वर्षे सम्झौताअनुसार २०७२ असार मसान्तमा शैलुङले ठेक्का पाएकोमा चार वर्ष ढिलो हुँदा पनि सकिएको छैन।

गत चैत ३० गतेसम्म उसले काम सक्ने समय थियो। त्यो गुज्रिसकेको छ। ‘करिब ९० प्रतिशत काम सकिएको छ, सडक सुधारका केही काम बाँकी नै छन्,’ कार्यालयका प्रमुख गुरु अधिकारीले भने, ‘म्याद थप्न फेरि निवेदन आएको छ।’

२०६९/७० मा सम्झौता भएको भक्तपुर-नगरकोट साढे १५ किलोमिटर कालोपत्रे सडक शैलुङ र भारतीय ठेकेदार कम्पनी अरभाली इन्फ्रापावर समेतले हालसम्म पूरा गरेका छैनन्। यो सडक ०७२/७३ भित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य थियो। भूकम्प, नाकाबन्दीको समस्या देखाएर ठेकेदारले २०७४ मंसिरसम्म म्याद बढाउन लगाए पनि यो सकिएन।

जेठ मसान्तसम्म फेरि अर्को म्याद थप्दा पनि काम नसकेपछि शैलुङ र भारतीय दुबै कम्पनीलाई २१० दिनको अल्टिमेटम दिएर काम लगाइएको छ। यो मितिमा यिनीहरूले दैनिक १ लाख ४५ हजार रुपैयाँ हाराहारी पेनाल्टी तिरेर काम गरिरहेका छन्।

सम्झौता उल्लंघन गर्ने कम्पनीलाई दुई सय दिनको समयावधिमा काम सक्न निर्देशन दिई सम्झौताको १० प्रतिशत हर्जाना तिराउने नियम छ।
उक्त समयसीमा पनि गुजारे पेश्की रकम तान्ने, सम्झौता रद्ध गर्ने, बैंकबाट पैसा फिर्ता लिने र कालुसूचीमा राख्ने नियम छ।

भक्तपुर-नगरकोट-सिपाघाट-बल्खु-दक्षिणकाली सडक योजनाका अनुसार अन्तिम विकल्पका रूपमा पेनाल्टी तिराएर काम लगाउन थालिएको हो।

पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक भक्तपुर-नगरकोट-सिपाघाट सडकको प्रगति ६५ प्रतिशत छ। २७ करोड ९० लाख १९ हजार ६६३ रुपैयाँमा ठेक्का सम्झौता गरिएको उक्त सडक अलिअलि बन्ने र भत्किने गरिरहेकै छ।

सुख्खामा धूलो र वर्षातमा हिलो बेस्सरी हुने भएकाले हिँडडुल गर्नै समस्या छ।

साढे तीन मिटरको सडकलाई बढाएर सात मिटरमा कालोपत्रे गर्ने, नाली र ढलको व्यवस्थापन गर्ने र मुख्य घुम्तीमा ११ मिटरसम्मको फराकिलो सडक बनाउने योजनासहित सडक विस्तार अरभाली इन्फ्रापावर लिमिडेट भारत र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रा.लि.ले लिएका थिए।

बालाजु-रानीपौवा-त्रिशुली सडक पनि अरभाली र शैलुङले लिएका थिए। सडक छ वर्षदेखि अलपत्र अवस्थामा छ। २७ करोड ४७ लाख ४७ हजार ७०८ रुपैयाँमा ५६ किलोमिटर सडक निर्माण सम्झौता भएको उक्त सडक ठेकेदार कम्पनीको लापरबाहीले लथालिंग भएको सम्बद्ध अधिकारीले बताएका छन्।

आर्थिक वर्ष २०७३/७४ मा सम्झौता भएको ढोलाहिटी-सुनाकोठी-चापागाउँको ३.२ किलोमिटर सडकको प्रगति पनि सन्तोषजनक छैन। सोही आर्थिक वर्षमा सक्नुपर्ने भए पनि अहिलेसम्म सम्पन्न भएको छैन।

यी ठूला सडकसँगै काठमाडौं उपत्यकाभित्र शैलुङले अन्य सडक गरी ९ सडक र तीन पुल ठेक्का लिएको छ। चाबहिल-जोरी-साँखु, जोरपाटी-सुन्दरीजल, ललितपुरमा पाँच वटा,  भक्तपुर एक वटा सडकमा शैलुङले काम गरिरहेको छ। 


Leave a Reply

Your email address will not be published.