खानेपानी मन्त्री मगरको राजीनामा माग्दै जनकपुरमा फेरि प्रदर्शन

खानेपानी मन्त्री मगरको राजीनामा माग्दै जनकपुरमा फेरि प्रदर्शन

खानेपानी मन्त्री बिना मगरको राजीनामा माग्दै जनकपुरमा फेरि प्रदर्शन भएको छ। मेलम्ची खानेपानी आयोजनामा भएको कमसल कामका कारण इन्जिनियर सतीश गोइतको ज्यान गएको भन्दै मन्त्री मगरको राजीनामा माग्दै युवाहरूले प्रदर्शन गरेका हुन्।

जनकपुरको कदम चोकमा एक घण्टा सडक अवरुद्ध पारेर प्रदर्शन गरेका युवाहरूले सुरुङ परीक्षणको क्रममा इन्जिनियर गोइतको सरकारी लापारबाहीका कारण मृत्यु भएको भन्दै उनीहरूले मन्त्री मगरले राजीनामा, पीडित परिवारलाई उचित क्षतिपूर्ति, घटनाको निष्पक्ष हुनुपर्ने लगायतका माग राखेका छन्।

मेलम्चीमा कमसल निर्माणका कारण सुरुङमा बगेर गोइतको मृत्यु भएको प्रदर्शनकारी युवाहरूको दाबी छ। आफूहरूले उठाएको माग पूरा नभए सशक्त आन्दोलनमा जाने उनीहरूले चेतावनी दिएका छन्। प्रदर्शनको क्रममा प्रहरीले अवरोध गर्न खोजेपछि केहीबेर प्रहरी र प्रदर्शनकारी युवाबीच चर्काचर्कीसमेत भएको थियो।

यसअघि युवाहरूले मन्त्री मगरलाई बर्खास्त गर्नुपर्ने, घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई क्षतिपूर्तिलगायतका माग राख्दै प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएका छन्।

यसअघि जनकपुरमा घटनाको विरोधमा प्रदर्शन गर्दै युवाहरूले खानेपानी मन्त्री मगरको पुतलासमेत जलाएका थिए।

गत मंगलबार मेलम्ची खानेपानी आयोजनको निरीक्षण गर्न पुगेका इन्जिनियर गोइत र उनका चालक राधाकृष्ण थापा मगर १७ नम्बर गेट फुट्दा वेपत्ता भएका थिए। गोइतको शव बुधबार फेला परेको थियो।


Leave a Reply

Your email address will not be published.