ऋण तिर्न नसकेपछि अपहरणको ‘अभिनय’ गर्ने रेग्मी होटलबाट पक्राउ

ऋण तिर्न नसकेपछि अपहरणको ‘अभिनय’ गर्ने रेग्मी होटलबाट पक्राउ

व्यवसाय गर्छु भनी करोडौं ऋण लिएर अपहरणमा परेँ भनी अभिनय गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौं-४ चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मी छन्। उनलाई खोजी गर्ने क्रममा बसपार्कस्थित सुगन्ध होटलबाट मंगलबार राति पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। 

कार्कीका अनुसार रेग्मी असार २४ गते बिहान ६ बजे घरबाट निस्किएका थिए। उनी सम्पर्कविहीन भएपछि आफन्तले साउन २ गते प्रहरीमा निवेदन दिएका थिए। 

कार्कीका अनुसार मौखिक रुपमा बुझ्दा रेग्मीले विभिन्न व्यक्तिहरूसँग जग्गा व्यवसाय गर्छु भनेर करोडौं रुपैयाँ लिएको भन्ने बुझिन आएको छ। 

‘पैसा तिर्नु नपरोस् भनी अपहरणको नाटक गरेको बुझियो,’ कार्कीले भने, ‘अपहरणमा नपरेको तथा प्रहरीलाई अनावश्यक हैरानी दिएर राज्यको स्रोत साधनहरूको समेत दुरूपयोग भएकाले उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ।’ 

रेग्मी सम्पर्कविहीन भएर सोही होटलमा बसिरहेको पाइएको कार्कीले बताए।


Leave a Reply

Your email address will not be published.