प्रदेश सभा सदस्य मल्ल हिँडेको बाटोमा शंकास्पद वस्तु, डिस्पोज गर्दै आर्मीको टोली
सुदूरपश्चिम प्रदेश सभा सदस्य देबकी मल्ल आफ्नो निर्वाचन क्षेत्रमा जाँदै गर्दा बाटोमा शंकास्पद वस्तु भेटिएको छ। शंकास्पद वस्तु बम भएको हुनसक्ने आशंका गरिएपछि प्रदेशसभा सदस्य मल्ल बीच बाटोमै बसेकी छन्।
अहिले घटनास्थलतर्फ नेपाली सेनाको बम डिस्पोज टोली गएकाे जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ।
बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा जान हिँडेकी मल्ललक्षित गर्दै दुर्गाथलीकै वडा नम्बर ५ मा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
मल्लका अनुसार दर्गाथली ५ खेती गाढ भन्ने स्थानमा बीच बाटोमा पर्खाल लगाएर त्यसभित्र कालो प्लास्टिक भित्र राखेर केही शंकास्पद वस्तु राखिएको छ।
बाटोमा लगाइएको पर्खालमा यसअघि नजानु भन्दै नेत्रविक्रम चन्द नेतृत्वको विप्लव पार्टीको पर्चासमेत फेला परेको प्रदेशसभा सदस्य मल्लले बताइन्। उनले शंकास्पद वस्तु भेटिएको स्थानमा नेपाली सेनाको टोली पुगेको र अहिले डिस्पोज गर्ने तयारी भइरहेको बताइन्।
आर्मीले शंकास्पद वस्तु हटाएपछि आफू पूर्वनिर्धारित कार्यक्रममा जाने उनले बताइन्। ‘मैले जनतालाई आउँछु भन्दै वचन दिएकी छु,’ प्रदेश सभा सदस्य मल्लले भनिन्, ‘कसैले धम्काएर म धम्किने व्यक्ति होइन। जनताको माझमा जानेछु।’
प्रमुख जिल्ला अधिकारी कमल भण्डारीले बाटोमा शंकास्पद वस्तु किन र कसले राखेको हो भन्नेबारेमा अनुसन्धान थालिएको बताए।