लिबियामा नेपालीलाई ११ महिना बन्धक, संलग्न दुई पक्राउ

लिबियामा नेपालीलाई ११ महिना बन्धक, संलग्न दुई पक्राउ

लिबिया र कुवेत पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम लिएर बन्धक बनाएको अभियोगमा दुई जनालाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-९ का उद्धव घतानी र झापा मेची नगरपालिका-१० बस्ने गोरे भन्ने नरबहादुर श्रेष्ठ रहेका छन्।

घतानीले एक नेपाली युवालाई लिबियामा मिल्क पाउडर कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी १ लाख ६० हजार रूपैयाँ र १ हजार अमेरिकी डलर समेत लिएर दुबई हुँदै लिबियाको त्रिपोली पुर्‍याएका थिए। 

२०७५ भदौ महिनादेखि २०७६ साउन ८ गतेसम्म बन्धक बनाएर राखेको घटनाको अनुसन्धान गर्न ब्युरोबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो। श्रेष्ठले तीन जना नेपाली महिलालाई कुबेत पठाउने भनी भारतको नयाँ दिल्ली पुर्‍याएर एक अपार्टमेन्टमा बन्धक बनाएको ब्युरोले जनाएको छ।

श्रेष्ठलाई ब्युरोबाट खटिएको प्रहरीले झापा मेची नगरपालिका-१० स्थित उनकै घरमा फेला पारी असार ७ गते पक्राउ गरेको हो।  नयाँ दिल्लीको एक अपार्टमेन्टमा बन्धक बनाइराखेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा उद्धार गरी नेपाल तीन महिलालाई नेपाल फर्काइएको थियो।  

दुवै जनाविरुद्द मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार आवश्यक अनुसन्धान भइरहेको उक्त ब्युरोले जनाएको छ।


Leave a Reply

Your email address will not be published.