मेगा बैंकले‌ पार गर्‍याे एक दशक

मेगा बैंकले‌ पार गर्‍याे एक दशक

मेगा बैंक नेपाल लिमिटेडले सञ्चालनको एक दशक पार गरेको छ। बैंकका अध्यक्ष भोजबहादुर शाहले स्थापनाको १० बर्षमा बैंकले उत्साहका साथ पार गरेको बताए।

राजधानीमा आयोजित एक समारोहकाबीच उनले बैंकको दश वर्षे सफलताले आफूलाई गौरवान्वीत बनाएको बताए। ग्राहक, संस्थापक, शेयरधनी, सञ्चालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरूको सहयोग र विश्वासले ब‍ैंक यो स्थानसम्म पुग्न सफल भएको उनले बताए।

यो अवधिमा पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर सम्पन्न गर्दै गत महिनामात्रै गण्डकी विकास बैंकलाई प्राप्ति गर्नु पनि मेगा बैंकको महत्वपूर्ण उपलब्धी भएको उनले बताए। 

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले दश बर्षको वित्तिय सूचकांकलाई केलाएर हेर्दा रणनीतिक र व्यवसायिक योजनाका साथ अगाडि बढ्न बैंक सफल भएको बताइन्।

बैंक स्थापनाको १०औं बर्षलाई विशेष बर्षका रुपमा मनाउन थालिएको उनले बताइन्। यसका लागि बैंकले बार्षिक क्यालेन्डर बनाएर बर्षभरि नै संस्थागत सामाजिक उत्तरदायित्व लगायत विभिन्न कार्यक्रम गर्ने उनले बताइन्। 

'१० बर्षमा आइपुग्दा बैंकले आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यूनतम राखी आधारदरलाई ८.३२ प्रतिशतमा कायम राख्न सफल भएको छ। बैंकले बितेको १० बर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि गरेको छ', उनले भनिन्, 'देशको २८औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक स्थापनकालको १०औं बर्षमा आइपुग्दा चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा, व्यावसाय (निक्षेप तथा कर्जा) का आधारमा १२औं स्थानमा रहेको छ। २०७७ आषाढ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ३२ अर्ब र कुल कर्जा करिब १ खर्ब १४ अर्ब रहेको छ।'

मेगा बैंकले १८ सयभन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका २ सय ६ शाखा सञ्जालमार्फत ११ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको उनले बताइन्।


Leave a Reply

Your email address will not be published.