‘मधुश्रावणी’ मा रमेको मिथिला

‘मधुश्रावणी’ मा रमेको मिथिला

सखी हे सावनके बुँद झिसी, पियासँग खेलब पचिसी ना !
गोर बदन पर कारी चुनरिया, पतली कमरिया ना, सखी हे!
रंग भवनमे सँग पियाके बहके जवनीया ना !

मिथिलाञ्चलकी महिलाहरू अहिले यस्तै खाले लोकभाकामा भुलिइरहेकी छिन्। सावन लागि सक्यो पतिसँगै बसेर पचिसी (कौडा) खेल्न नवविवाहिता मिथलानी महिलाहरू घर आउन गीतको माध्यमले आग्रह गरिरहेकी हुन्छन्।

अवसर हो मिथिलाकी नारीहरूले १५ दिनसम्म मनाउने ‘मधुश्रवाणी’ पर्वको। मिथिलाका महिलाहरूले पन्ध्र दिनसम्म पूजा पाठ गरेर मनाउने मधुश्रावणी पर्व १४ दिनअघि सुरु भइसकेको छ। मिथिलाञ्चलकी नारीहरू आफ्नो पति र परिवारको दिर्घायु एवम समृद्धिको कामना गर्दै मधुश्रावणी मनाउने गर्दछन्।

जनकपुर सहित मिथिला क्षेत्रका गाउँ नगर बस्तीमा मधुश्रावणी पर्वको रौनक बढेको छ। पर्वमा रमेका नव विवाहिता महिलाहरूको जत्था नै श्रृंगारिक गीतमा लय बाँध्दै घर बाहिर निस्केपछि यस पर्वको रौनकतालाई झनै बढाइ रहेको हुन्छ।

मिथिला परम्परा अनुसार मैनापञ्चमी भनिने श्रावण कृष्ण पञ्चमीदेखि श्रावण शुक्ल त्रितीया सम्म मनाइने यस पर्वमा नव विवाहिता महिलाले शिव पार्वती र नाग देवताको पूजा आराधना गर्ने परम्परा छ। गाउँका साथीहरूसँग गीत गाउँदै पूजा आराधनाको मुख्य समाग्री फूल टिप्न निस्केका नव विवाहिता महिलाहरूको रसिक गीतको सामुहिक लयले बाटो हिँड्ने जोसुकैको मन तानेको देख्ने गरिन्छ।

विवाह भएको वर्षमा पहिलो पटक आउने यस तिथीमा मनाइने यो पर्व नव विवाहिताले माइती घरमै मनाउने गरेपनि पर्वका सारा सामाग्रीभने पतिले पठाएका नै प्रयोग गर्ने परम्परा रहेको ब्रतालु महिलाहरू बताउँछिन्।

हरेक दिन साँझ श्रृंगारिएर साथीहरूसँग रमाइलो ठठ्ठा गर्दै गीतगाउँदै ब्रतालु महिलाहरू छरछिमेक, मठमंदिर र फूलबारीबाट टिपेर ल्याएको फूलले भोली पल्ट पूजा आराधना गर्ने परम्परा रहेको बताउँछीन जनकपुर– ४ बस्ने ब्रतालु नेहा कर्ण।

त्रेता युगमा समेत माता सीताले गौरीको पूजा गरेकोले मधुश्रावणीमा पनि महिलाहरू गौरीको पूजा गर्ने गरेको पछिल्लो ११ वर्षदेखि मधुश्रावणीको कथा सुनाउदै आएकी जनकपुर–४ बस्ने धर्मशीलादेवी कर्णले बताइन्।

पूजा गर्ने क्रममा गाउँ अथवा टोलको वृद्ध महिलाले १५ दिनसम्म तिथि अनुसारको कथा सुनाउने गर्दछन्। साउन महिनाको कृष्ण पक्षको पंचमीदेखि शुक्ल पक्षको त्रितीया सम्म मनाइएने यस पर्वको अंतिम दिन ब्रतालु महिलालाई बल्दै गरेको दियोको तातो तेलले घुँडामा पोल्ने प्रचलन रहेको छ जसलाई स्थानीय भाषामा टेमी भन्ने गरिएको छ।

टेमी दिने पुरानो परम्परा रहेपनि समाजको आधनुकिकरणसँगै ब्रतालुलाई हुनेगरेको कष्टलाई हेर्दै बिस्तारै यसको वैकल्पिक उपायहरू अपनाउने गरिएको छ। यस वर्षको ‘मधुश्रावणी’ विहिबार सकिँदै छ।


Leave a Reply

Your email address will not be published.