स्याङ्जामा पहिरो : आमाको मृत्यु, छोरी घाइते
स्याङ्जामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। गल्याङ नगरपालिका–१० गाँउस्वारा बस्ने ५२ वर्षकी माया सारूको बुधबार पहिरोमा पुरिएर मृत्यु भएको हो।
पहिरोमा पुरिएकी मायाकी छोरी नारायणीलाई स्थानीयले उद्दार गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीका अनुसार घर भन्दा ३० मिटर माथिबाट झरेको पहिरोले दुवैलाई पुरेको थियो। घाइते नारायणीको वालिङमा उपचार भइरहेको छ।
यस्तै, स्याङ्जा भिरकोट नगरपालिका–९ ठुलीभङज्याङमा भारी वर्षाले गर्दा घर भत्किएको छ।
स्थानीय किसानबहादुर सार्कीको टिनले छाएको ढुंगामाटोको दुई तले घर भत्किएको डिएसपी रेग्मीले जानकारी दिए।
घर भत्किए पनि मानवीय क्षति भएको छैन। घर भत्किँदा डेढ लाखको क्षति भएको प्रहरीले जनाएको छ।