धौलिगंगा बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आह्वान

धौलिगंगा बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आह्वान

भारतको उत्तराखण्डस्थित धौलिगंगा जलविद्युत आयोजनाको बाँध फेरि खोलिने भएपछि नेपाली प्रशासनले महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आह्वान गरेको छ।

आयोजनाले सिल्ट फ्लसिङ र सरसफाइका लागि साउन १५ गते मध्यरातिदेखि १६ गते साँझसम्म बाँध खोलिने जानकारी नेपाली प्रशासनलाई दिइसकेको छ।

निरन्तरजसो वर्षा भइरहेको र महाकालीसहितका नदीमा पानीको बहाव बढ्दै गएका बेला भारतीय पक्षले जलविद्युत आयोजनाको बाँध खोल्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले बहाव बढ्नसक्ने आकलन गरेको हो।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले पनि साउन १५-१६ गते बाध खोल्ने जानकारी भारतीय पक्षले दिएको पुष्टि गरे। बाँध खोल्दा नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमा बहाव बढ्न सक्ने भएकाले सर्तकर्ताका लागि तटीय क्षेत्रका सर्वसाधारण, स्थानीय तह र जिल्ला प्रहरी कार्यालयलाई सूचित गरिएको उनले बताए। 

महाकाली नदी दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरको सीमा क्षेत्र भएर बग्छ। बाँध खोलिएमा दार्चुलाको ब्याँस गाउँपालिकाको धौलाकोट र लेकम गाउँपालिकाको लालीका तटीय क्षेत्रमा पानीको बहाब बस्ती पस्ने खतरा हुनसक्ने आँकलन गरिएको छ।   

आयोजनाले यसअघि असार १५ गते राति पनि बाँध खोलेको थियो। 

भारतीय पक्षले हरेकजसो बर्खायाममा धौलीगंगाको बाँध खोल्ने गरेको छ। ०७० मा नेपाली प्रशासनलाई जानकारी नै नदिइ बाध खोल्दा दार्चुलाको खलंगामा भीषण बाढी आएको थियो। जसकारण ठूलो क्षति भएको थियो।

तर, पछिल्लो समय भारतीय पक्षले धौलीगंगाको बाध खोल्नुअघि नेपाली प्रशासनसँग सहकार्य गर्ने गरेको छ। दार्चुला क्षेत्रमा दुई दिनदेखि ठूलो वर्षा नभएकाले त्यति जोखिम नहुने प्रजिअ पोखरेलले बताए। 


Leave a Reply

Your email address will not be published.