ठेकेदारको लापरवाही, पुल निर्माणकाे काम तीन वर्षमा ४५ प्रतिशत मात्र

ठेकेदारको लापरवाही, पुल निर्माणकाे काम तीन वर्षमा ४५ प्रतिशत मात्र

एलाइड एड्भेन्चर प्रालिले धनगढी–७ स्थित शिवगंगा नदीमा निर्माणधीन पुल अलपत्र पारेको छ। 

२०७४ मा तीन वर्षभित्रै पुल निर्माण गर्ने सहमतिअनुसार जेठ मसान्तमा पुल निर्माण गरिसक्नुपर्ने म्याद समाप्त भएको छ।

पुल निर्माणका लागि निर्माणको जिम्मा पाएको एलाइडले निर्धारित समयमा ४५ प्रतिशत मात्रै काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय साइड कार्यालय धनगढीका इन्जिनियर गणेश जोशीले बताए। 

धनगढी उपमहानगरपालिका ७ वडास्थित शिवगंगा नदीमा निर्माण हुने १२ करोड रुपैयाँ लागतको एक सय ५० मिटर लम्बाइ भएको पुलको समेत तीन वर्षसम्म पूरा हुन नसकेको इन्जिनियर जोशीले बताए।

‘निर्धारित समयमा पुलको आधा काम पनि सम्पन्न भएको छैन,’ इन्जिनियर जोशीले भने, ‘कामको प्रगति विवरण विभागमा पठाएका छौं, अब के गर्ने उसैले निर्णय गर्नेछ।’ 

पुल निर्माणका लागि ठेकदारलाई पटकपटक ताकेता गर्दा बेवास्ता गरेको उनको आरोप छ। 

एलाइड एड्भेन्चरका इन्जिनियर दिनेश बटालाले एक पटक निर्माण गरिएको पुलको बेस पानीले बगाएका कारण समयमै पुल निर्माण हुन नसकेको बताए ।

‘सुरुमा पुल निर्माणका लागि तयार गरिएका केही आधार पिलर शिवगंगा नदीमा आएको बाढीका कारण काम नलाग्ने भए,’ उनले भने, ‘एक वर्षपछि फेरि सुरुदेखि काम गर्नुपरेका कारण समयमै पुल निर्माण गर्न सकिएन ।’ 

असारभित्रै काम सम्पन्न गर्ने गरी मंसिरदेखि काम सुरु गरेकोमा चैतयता लकडाउनका कारण पुल निर्माणमा अवरोध आएको उनले बताए। 

एलाइडले यसअघि मोहना नदी र पथरैया नदीमाथि बन्ने पुल निर्माण पनि वर्षौंसम्म अलपत्र पारेको थियो।


Leave a Reply

Your email address will not be published.