सरकारी पत्रले पिसिआर ल्याब सञ्चालनमा अन्योल  

सरकारी पत्रले पिसिआर ल्याब सञ्चालनमा अन्योल  

नागरिकको बलबुतामा झापामा  स्थापना  गरिएको पीसीआर ल्याब सञ्चालनमा व्यवधान सिर्जना भएको छ। 

स्वास्थ्य मन्त्रालयले मेची अञ्चल अस्पतालमा मात्रै ल्वाब सञ्चालनको अनुमति दिने जनाएपछि समस्या उत्पन्न भएको हो। 

नेपालमै पहिलोपटक जनस्तरबाट  कनकाई नगरपालिकाको कोटीहोमबाट पिसिआर ल्याब सञ्चालनको अन्तिम तयारी भएको थियो।
साउन १५ गतेभित्र ल्याब उद्घाटन गर्ने गरी काम भइरहेको छ। 

तर, स्वास्थ्य  मन्त्रालयले हिजो (साउन ७ )  मेची अञ्चल अस्पताललाई पत्र पठाएर ल्याब सञ्चालनको अनुमति अन्यत्र दिन नसकिने प्रष्ट परेको छ। 

असार १० गते मेची अञ्चल अस्पतालमा पिसिआर ल्याब स्थापना गर्ने संघीय सरकारको निर्णय अनुसार उक्त अस्पतालमा मात्र ल्याव सञ्चालन गर्न सकिने संघीय मन्त्रालयले स्पष्ट पारेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आतपकालीन तथा विपद व्यवस्थापन इकाईको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले कोटीहोममा बन्ने पिसिआर ल्यावलाई अनुमति दिन नसकिने बुधबार निर्णय गरेको छ।

केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले मेची अस्पतालमा मात्र ल्याब संचालन हुने गरी अनुमति दिन सकिने बेहोरा उल्लेख गरेर पत्र पठाएका छन् । पत्रमा कोटीहोमको ल्याब सहकारी संस्थाहरुले संचालन गर्न लागेको उल्लेख छ। 

 

पत्रमा  मेची अस्पताललाई संघीय सरकारको निर्णय अनुसार हुने र सोही कुरा लेखी पठाउन निर्देशन दिइएको छ। ल्याबको तयारी सक्ने काममा एकका लागि एक अभियान जुटेको छ।

‘यहाँबाट कुनै हालतमा ल्याब सर्दै सर्दैन’ एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले भने, ‘सरकारले संचालनको अनुमति नदिए तालाबन्दी गरेर राख्छौ ।’ उनले सरकारले जहिले अनुमति दिन्छ त्यही बेला संचालन गर्ने बताए।

अभियानले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे लगायतलाई बोलाएर उद्घाटन गर्ने योजना बनाएको छ। ‘शनिबारसम्म सबै काम सकेर ल्याब टेष्ट थाल्ने योजना छ,’ गिरीले भने, ‘मेसिन जडानलगायतका काम सबै सम्पन्न भैसक्यो।’ 

अभियानका सहसंयोजक विनोद बस्नेतले मन्त्रालयको पत्रलाई लिएर नकारात्मक धारणा बनाउन नहुने बताए। उनले पत्रले केही विवाद सिर्जना गरेको भए पनि कोटीहोममा ल्याब सञ्चालन हुने दाबी गरे।

'ल्याब  मेची अञ्चल अस्पताललाई नै हस्तान्तरण गर्ने हो,' सहसंयोजक बस्नेतले भने, 'यो छुट्टै सञ्चालन हुने ल्याब होइन, मेची अञ्चल अस्पतालकै परीक्षण नम्बर ख का रूपमा चल्ने हो।'

सरकारको त्यो निर्णय उचित नभएको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रप्रसाद पोखरेलले बताए। उनले कोटीहोमबाट ल्याब सार्न नसकिने बताउँदै बरु कोभिड अस्पताल मेची भद्रपुरमातहतमा रहने गरी संचालन र व्यवस्थापनको जिम्मेवारी दिन सकिने बताए। 

त्यसबारे जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलसहित जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, संघसंस्थासँग मन्त्रालयको पत्रको विषयमा धारणा बनाउन आज छलफल डाकिएको छ।


Leave a Reply

Your email address will not be published.