राप्ती गाउँपालिकाकाे समुदायमै पुगेर पढाइ अभियान, विद्यार्थी उत्साहित

राप्ती गाउँपालिकाकाे समुदायमै पुगेर पढाइ अभियान, विद्यार्थी उत्साहित

कोरोना भाइरसको संक्रमणका कारण शैक्षिक सस्थाहरू बन्द रहेका बेला दाङको राप्ती गाउँपालिकाले भने समुदायमा नै पुगेर बालबालिकालाई पढाउन सुरु गरेको छ। 

सरकारले चैत ११ गतेयता लकडाउन गरेपछि बन्द भएको पठनपाठनलाई गाउँपालिकाले समुदायमै बालबालिकालाई जम्मा गरेर पढाउन सुरु गरेको हो।

लकडाउन खुले पनि संक्रमणको जोखिम यथावत् नै रहेको अवस्थामा विद्यार्थीलाई समुदायमै पुगेर पठनपाठन गराउनु उपयुक्त देखिएकाले गाउँपालिकाले यो अभियान थालेको छ।

समुदायमा भएका सामुदायिक भवन, क्लवका भवन, मन्दिरका छेउछाउमा विद्यार्थीलाई जम्मा गरेर पढाउने अभ्यास सुरु गरिएको राप्ती गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास बिकले बताएका छन्।

समुदायमै पढाउदा संक्रमणको जोखिम पनि कम हुने र विद्यार्थी पनि खाली बस्नु नपर्ने भएकाले लामो समयदेखि बन्द रहेको पठनपाठनलाई साउन १ देखि सुरु गरिएको बताए। 

समुदायमै पढाउदा संक्रमणको जोखिम पनि कम हुने र विद्यार्थी पनि खाली बस्नु नपर्ने भएकाले लामो समयदेखि बन्द रहेको पठनपाठनलाई साउन १ देखि सुरु गरिएको बताए। 

सरकारले लकडाउन खुला गरेको घोषणा गरेसँगै बुधबारदेखि शिक्षकलाई सम्बन्धित विद्यालयमा पुग्न र भदौ १ देखि विद्यार्थी भर्ना लिन पाउने भने पनि पढाइ कहिले सुरु हुने निश्चित छैन।

विद्यालय खुल्ने निश्चित नभएको समयमा समुदायमा शिक्षकहरू पुगेर पढाउँदा बालबालिका खुसी हुने गरेको गाउँपालिकाको माध्यमिक विद्यालय मौरीघाटका प्रधानाध्यापक सीता रिजालले बताइन्। 

उनका अनुसार साउन १ देखि उक्त क्षेत्रमा शिक्षकहरू समुदायमा पुगेर पढाउन थालेका हुन्। ‘शिक्षकहरू आउने जानकारी पाएपछि विद्यार्थी समुदायमा आफैं जम्मा हुने गरेका छन्,’ प्रअ रिजालले भनिन्, ‘विद्यार्थी तोकिएको ठाउँमा आफू बस्ने चकटी, गुन्द्रीसमेत ल्याएर आउने गरेका छन्, त्यहाँ शिक्षक पुगेर पढाउने गरेका छौं।’ 

लामो समयसम्म पढाइ नहुँदा विद्यार्थीमा निराशा छाएको उनले बताइन्। समुदायसम्म पुग्ने शिक्षक तथा विद्यार्थीले स्वास्थ्य सुरक्षा अपनाएर सहभागिता जनाउने गरेको उनको भनाइ छ।

शिक्षकहरू समुदायमा पुग्नका लागि विषयगत शिक्षकको समयतालिका नै निर्माण गरिएको प्रधानाध्यापक रिजालले जानकारी गराइन्। 
समय तालिकाअनुसार शिक्षकहरूले पालैपालो समुदायमा गएर पढाउने गरेका छन्। 

रिजालका अनुसार एउटा समूहमा ४ जना शिक्षक रहेका छन्। ‘लामो समयसम्म पढाइ नहुँदा बालबालिकासँगै अभिभावकमा समेत निराशा थियो, पढाइ बिग्रने हो कि भन्ने चिन्ता रहेको पाइयो,’ रिजालले भनिन्, ‘अहिले समुदायमै पढाइ सुरु गरेपछि विद्यार्थीसँगै अभिभावकमा समेत खुसी छाएको छ।’

गाउँपालिकाले विद्यार्थीलाई विद्यालयसम्म ल्याउन र बालबालिकाको सिकाइमा निरन्तरताका लागि समुदायमा कक्षा सञ्चालन गरिएको राप्ती गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिक बताउँछन्। 

गाउँपालिकाले विद्यार्थीलाई विद्यालयसम्म ल्याउन र बालबालिकाको सिकाइमा निरन्तरताका लागि समुदायमा कक्षा सञ्चालन गरिएको राप्ती गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिक बताउँछन्। 

‘अहिले विद्यालय खोलेर पढाइ सञ्चालन गर्ने अवस्था छैन, विद्यालय नखुल्दा बालबालिकामा निराशा छ,’ उनले भने, ‘बालबालिकामा भएको निराशा हटाउन समुदायमै पढाउन सुरु गरेका हौं।’ 

उनका अनुसार अहिले कक्षा १ देखि १२ कक्षासम्मका विद्यार्थीका लागि कक्षा सञ्चालन गरिएको छ।

गाउँपालिकामा रहेका विद्यालयका प्रधानाध्यापकहरूसँगको छलफलपछि पढाइ सुरु गरिएको गाउँपालिकाले जनाएको छ। समुदायमा सञ्चालन गरिको कक्षामा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरू सहभागिता हुने गरेका छन्।  

गाउँपालिकाले असार महिनामा वैकल्पिक शिक्षाका लागि रेडियो तथा टिभीमार्फत पनि अध्यापन गराएको थियो। त्यसको प्रभावकारिताबारे बालबालिकाहरूसँग जानकारी लिइने यो अवसरसमेत भएको उनी बताउँछन्।

गाउँपालिकामा सामुदायिक तथा संस्थागत गरी ४७ वटा विद्यालय छन् भने करिब १५ हजार बढी विद्यार्थी रहेका छन्। 

शिक्षा विकास तथा समन्वय इकाई दाङले स्थानीय निकायहरूले आ-आफ्नो तर्फबाट वैकल्पिक माध्यमको प्रयोग गर्न सक्ने बताएको छ।

तर त्यसबारे हालसम्म कुनै पनि जानकारी नआएको शिक्षा विकास तथा समन्वय इकाईका निमित प्रमुख देवमणि चौधरीले जानकारी दिए। 

उनका अनुसार जिल्लाका दसवटा स्थानीय तहमध्ये अन्य स्थानीय तहले रेडियोका माध्यमबाट पढाइ सुरु गर पनि समुदायमै पुगेर पढाउन भने सकेका छैनन्।


Leave a Reply

Your email address will not be published.