बेपत्ता ३ बालक मृत फेला, स्थानीयले शव उठाउन दिएनन्

बेपत्ता ३ बालक मृत फेला, स्थानीयले शव उठाउन दिएनन्

स्थानीय सरकार, सिमसार व्यवस्थापन समिति र ठेकेदारको लापरवाहीका कारण तीनजना बालकको ज्यान गएको दाबी गर्दै भद्रपुर २ का स्थानीयले मृतक बालकको लाश उठाउन दिएका छैनन्।

भद्रपुर नगरपालिका २ स्थित निर्माणाधीन कमलधाप सिमसार क्षेत्रमा डुबेर स्थानीय अनिल तामाङका १० वर्षीय छोरा अंकुश तामाङ, सोही ठाउँका कमला थामीका छोरा १४ वर्षका करण थामी र उनका भाइ १२ वर्षका अर्जुन थामीको मृत्यु भएको हो।

अंकुशको शव हिजो राति डुबिरहेको अवस्थामा फेला परेको थियो भने करण र उनका भाइ अर्जुनको शव आज फेला पारिएको हो। 

तालिम प्राप्त गोताखोरको सहयोगमा सिमसार क्षेत्रमा खनिएको पोखरीमा हिलोमा गाढिएको अवस्थामा ती दाजुभाइको शव बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी  राकेश थापाले बताए।

सिमसारको नाममा पोखरी खनेर अलपत्र  पारेर छोडेपछि डुबेर बालकहरुको ज्यान गएको आक्रोशित स्थानीयको जिकिर छ।

घटनाको जिम्मेवारी स्थानीय सरकार , सिमसार व्यवस्थापन समिति र ठेकेदारले लिनुपर्ने उनीहरुको माग छ। ‘स्थानीय सरकार, सिमसार व्यवस्थापन समिति र ठेकेदारले घटनाको जिम्मा लिनुपर्छ,’ स्थानीय समर थुलुङ राईले भने।

क्षतिपूर्ति र कार्बाहीको माग गर्दै सयौं अहिले स्थानीयले त्यहाँ नाराबाजी गरिरहेका छन्। हिजो दिउँसो खेल्न गएका ती तीनजना बालकहरु सिमसारभित्र डुबेका थिए ।

सो सिमसार घेराबारा गरिएको छैन। त्यहाँ रेखदेख गर्ने पनि कोही नरहेको जनाइएको छ।


Leave a Reply

Your email address will not be published.