बाइरोडको बाटोमा रन्जन कोइराला समात्नेहरू भेट्दा…

बाइरोडको बाटोमा रन्जन कोइराला समात्नेहरू भेट्दा…

बाइरोडको बाटोलाई प्रायः रोमान्चसँग जोडेको किस्सा र गीत मात्र याद थियो मलाई। तर त्यस दिन त्यहाँ कतै एउटा दारुण कथा भेट्नु थियो। कहिल्यै हिँडेको पनि थिइनँ पहिले त्यता। 

नौबिसेबाट उकालो लाग्यो पत्रिका बोक्ने ट्रयाक्स। घुम्ती-घुम्तीमा फन्का खाँदै अलि सोझो बाटो पाएपछि ड्राइभर एक्सिलेटर दबाइहाल्थे। पछाडिपट्टि बसेका फोटोपत्रकार विजय राईको एकैछिनमा पेट हुँडल्न थालेछ।

बिहान ६ नै बजे त्रिपुरेश्वर गणेश मन्दिर पछाडिको हलुवाइवालाकहाँ हामीले डबल जेरीस्वारी र दूध चिया खाएका थियौं। कुटाइमको खानाले पाचन प्रणाली बिग्रिरहने पत्रकारका लागि त्यो ‘डिजायरेबल’ ब्रेकफास्ट थिएन। 

हाम्रो यात्राले हुस्सु बयेली खेल्ने केही पहाडहरू छिचोलिसकेको थियो। घाम नलाग्दा खेरी मलाई किन-किन हाम्रा पहाडहरू दुःखले रोइरहेजस्तो लाग्छ। दिमागमा त्यस्तै अवसाद चलिरहँदा अचानक परैबाट एउटा फराकिलो घुम्तीमा सडकछेउ कालो धब्बा देखियो। तन्द्रा रोकियो। नजिकै गएर हेर्दा छिरोलिएको अवशेष, धूलोमा कट्कटिएको दाउराको गोल र त्यहीँमाथि गाडीको चक्काले बनाएको डोब। 

‘विजय, ल यहीँ हो जस्तो लाग्यो जलाएको,’ म कराएँ।

सिटमा लमतन्न सुतेको ऊ म कराएको सुनेर हुँडलिएको पेट भुलेर जुरुक्क उठ्यो।

‘दाइ, अब मान्छे खोजम्- को छ यताउता,’ न्यूजसेन्स राम्रो भएको उसले तत्परता देखाइहाल्यो। 

केही सय मिटर माथि पुगेपछि एउटा गाउँ भेटियो। सडक वरपर पातलो बस्ती। बायाँतर्फ थोरै उच्चाइलो, गहिरातिरको घरका धुरीमा जोडिने गरी टाँगिएको ध्वजापतका। तामाङ गाउँ भन्ने लाग्यो। हामी ओर्लियौं। एक हुल युवा क्याराम बोर्ड खेल्दै रहेछन्। थोरै घाम झुल्केजस्तो भएर महिलाहरू आँगनको डिलमा आङ तान्दै थिए।

हामीलाई अचानक देखेर युवाहरूको ध्यानाकर्षण भयो। म उनीहरूतिरै गएँ, आफूलाई पत्रकार भनेर चिनाउँदै उद्देश्य खुलाएँ। उनीहरू छक्क परे, सायद मेरो उपस्थिति अपेक्षित थिएन। एउटा केटोले मलाई ‘हाम्रो दाइकहाँ जाम् न’ भने। दुई घरपर्तिर एक पातला कदका बुज्रुक काठे बेन्चमा बसिरहेका थिए। उनले हाम्रो प्रयोजन सोधे। 

उनको नाम मंगल रहेछ। काठमाडौंसँग निकै गुनासो भएका स्थानीय अग्रज। माओवादी द्वन्द्वसँग जोडिएका, तर त्यतिबेलै मोहभंग भइसकेका व्यक्ति रहेछन्। 

‘डिआइजीलाई हामीले पक्रेका हौं, प्रहरीले एकलौटी जस लियो। हामी गाउँलेलाई मिडियाले पनि पुछेन। तपाईंहरू नै पहिलो हो यहाँ आएको, अब हेरौं,’ उनले हामीप्रति शंका देखाए। 

मैले यथार्थ खोज्नै आएको भनेर उनलाई सम्झाएँ। 

विजय दृश्य खिच्दै थिए। म चाहिँ मंगलसँग गफको पोयो मिलाउन थालें। उनको पनि मर्म फुक्न थाल्यो।

नेतागिरीको अनुभव भइसकेका उनले एकछिन पख्नोस् भन्दै उही केटोलाई अह्राए- ‘सूर्यका बुढाबुढी बोला।’

तीन दशक उमेर आसपासको एउटा जोडी सँगैको घरबाट निस्क्यो। श्यामवर्णका सूर्य गठिलो शरीर ढल्काउँदै आए। सुनीता पनि बाक्ली-बाक्ली, तर निकै चलाख आँखा भएकी। 

‘यिनैले भेटेका हुन् डिआइजीलाई,’ मंगलले उद्घोष गरे। 

सुनीता दोङले धाराप्रवाह बयान दिन थालिन्। 

सुनीता त्यो दिन तल्लागाउँकी एक महिलालाई सुत्केरी गराएर फर्कंदै थिइन्। सुडेनी तालिम लिएयता उनी वल्लापल्ला गाउँ दौड्नमै व्यस्त रहिछिन्। सूर्यले उनलाई मोटरसाइकलमा ल्याउने पुर्‍याउने गर्ने रहेछन्। 

बुढाबुढी गफिँदै घुम्तीमा तरेलिँदै आउँदा जलेको लास भेटिएको ठाउँमा एउटा कार रोकिएको देखियो। दुवैको दिमागमा झ्याट्ट कुनै संशय छिरेन। होला कोही, हावा खान निस्केको भन्ठानिन् सुनीताले।

अलि परको घुम्ती पुग्दा उनको दृष्टि फेरि त्यही कार भएकै ठाउँमा झर्‍यो। 

कान्लामुन्तिरबाट उक्लँदै कोही डिलमा चढ्यो। उसको दृष्टि त्यही कालो धब्बातिर गढेको थियो। सूर्य मोटरसाइकल मन्द गतिमा हाँकिरहेका थिए। सुनीताले त्यतै हेरिरहेकी थिइन्। अजंगको शरीर भएको पुरुष भयातुर भएर दायाँबायाँ हेरिरहेको थियो। सुनीताको मुख अचानक ठूलो स्वरमा खुल्यो, ‘बुढा, रोक-रोक।’

सुनीता मोटरसाइकलबाट झरेर एउटा रुखबाट छेलिएर हेरिरहिन्। सूर्य चुपचाप उनको पछाडि बसे। 

‘हेर बुढा, अस्ति जलेको लाश भेटिएको त्यहीँ होइन? त्यो मान्छे त्यहीँ घुमिरहेको छ,’ सुनीताले खासखुस गरिन्। 

झन् झन् अत्यास देखाउँदै थियो त्यो पुरुष। ऊ फेरि कान्लातिर झर्‍यो, दुई मिनेटमा उक्लेर बाटातिरै फर्कियो। अनि त्यही कालो धब्बातिर एकोहोरियो। पुनः त्यही प्रक्रिया।

१५ मिनेट अवलोकन गर्दा सुनीताको शंका गहिरियो मात्रै। उनलाई लाग्यो- यो मानिसमा पक्का केही गडबड छ। 

दोङ जोडी अब तुरुन्त गाउँ उक्लेर हल्लाखल्ला गर्ने निधोमा पुग्यो। पाँच मिनेटमै गाउँ पुगेर उनीहरूले मंगललाई खबर गरे। दस मानिस जुटिहाले, सबै गुरमुरिएर त्यहीँ आए, जहाँ शंकास्पद मानिस छट्पटिएर यताउता गरिरहेको थियो। 

हुल बोकेर आएका मंगलसँग साक्षात्कार हुनेवित्तिकै उनी आत्तिए र गाडीभित्र गए। गाडी घेरियो। उनले सीसा मात्र खोेले।

‘तपाईं यहाँ निकैबेरदेखि के गर्दै हुनुहुन्छ?,’ मंगलले सोधे। 

‘यतिकै फ्रेस हुनलाई निस्केको, हेटौंडातिर लागेको। अब जाने,’ उनले जवाफ फर्काए। 

‘तलमाथि गरिरहनुभएको छ, के कारण?,’ सुनीताले प्रश्न गरिन्। 

‘दिसा गर्न गएको।’

‘दिसा गर्न पटक-पटक जान्छन् त?’

‘पहिले दिसा गरेको, पछि फेरि पिसाब लागेर ओर्लेको।’ 

‘दिसा गर्दा त पिसाब पनि भइहाल्छ नि,’ सुनीताको मुखबाट झटारो निस्क्यो।

अब अलमल परे ती भद्र। उनी रातापिरा भए। प्रश्नहरू ओइरिँदै जाँदा उनको सुर खुस्कँदै गयो। सम्हालिन सकेनन्। सुरुमा बोलेका कुरा आफैं काट्न थाले। अन्तिममा उनले कार्ड देखाउँदै भन- ‘म सशस्त्र प्रहरीको डिआइजी।’

मंगलका लागि त्यो क्षण टर्निङ प्वाइन्ट थियो। सबैले उनकै मुख हेरे। 

मंगलले सोचे– डिआइजीले अपराध गर्दैनन् भन्ने के ग्यारेन्टी छ?

झन् प्रश्नहरू थप्न थाले। जलेको लास भेटिएको ठाउँमा गाडीवालाको शंकास्पद ‘मुभमेन्ट’, अनि सामान्य प्रश्नहरू गरिँदा अस्वाभाविक हड्बडिएको अवस्था। मंगलका लागि यति नै काफी थियो।

अब डिआइजी भनेर चिनाउने ती व्यक्ति जसरी हुन्छ उम्कने यत्नमा लागे। काठमाडौंमा पेट्रोल अभाव भएकाले बाटोमा सकिएला भनेर जगेडा समेत बोकेर आएको भन्दै बोतलहरू देखाउन थाले। हेटौंडामा पुग्न बेर भइसकेको भनेर जिद्दी गर्न थाले। 

मंगलले अब पालुङ प्रहरीलाई खबर गर्ने, गाडीवालालाई चाहिँ त्यहीं पक्राउने सोचमा पुगे। सँगै आएकाहरूलाई त्यही इशारा गरे।

त्यो मानिस गाडीमा यसरी हुर्रियो मानौं ऊ बाघको मुखबाट कसो कसो खसेको खरायो हो। 

पालुङ प्रहरीलाई मंगलले फोन गरे। प्रहरी त्यहाँ ढुकेर बस्यो। गाडीवाला शंकास्पद समातिए। त्यहाँनेर चाहिँ उनी डिआइजी रन्जन कोइराला भनेर सही ढंगले पहिचान भए। त्यहाँका प्रहरी प्रमुखले चियापानी खुवाएर सलामसहित पठाए। त्यो खबर मंगललाई प्राप्त भयो। 

तर, मंगलको चित्त बुझिरहेको थिएन। उनी घर फर्केर फोन घुमाउन थाले। आधा रातसम्म मानव अधिकारकर्मीदेखि चिनेजानेका नेतासम्म सबैलाई फोन गरेर आफ्नो गहिरो शंका सुनाए।

त्यो कुरा कोइरालालाई समेत शंकामा राखेर अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीलाई राति अबेर थाहा पायो। त्यसपछि उनको लोकेसन ट्रेस गर्न थालियो। कोइराला रातभर वेपर्वाह हुर्रिरहेका थिए। उनको लगातार फेरिइरहेको लोकेसनले बेचैनी देखाउँथ्यो।

जलेको बेवारिसे लास भेटिएको ठाउँमा पुगेको, त्यहाँबाट कता कता बतासिइरहेको र बेपत्ता भनिएकी पत्नीका आफन्तले उनीमाथि नै अनुसन्धान हुनुपर्ने माग गरिरहेको– यति भइसकेपछि अनुसन्धानको सुईंले उनलाई नै घोच्नुपर्ने ठहरमा प्रहरी नजिकिँदै गयो, रात छिप्पिँदै जाँदा। 

प्रहरी भोलिपल्ट जतिसक्दो चाँडो उनलाई काठमाडौं झिकाउनुपर्ने निष्कर्षमा पुग्यो। त्यसका लागि उनी कसले भनेको मान्छन् भन्नेमा पनि प्रहरीले मिहिनेत गर्यो।

बिचलित रन्जन बिहान १० बजेतिर थानकोट आइपुगे र प्रहरीले समात्यो पनि। हनुमानढोका थाना आइपुग्दा यति विक्षिप्त भइसकेका थिए कि तत्कालीन काठमाडौं प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठ (प्रहरीमा उनकै ब्याचमेट)ले घोच्नेगरी प्रश्न सोध्नेबित्तिकै उनले भने– ‘आई ह्याभ डन इट, एन्ड आई एम गन।’

रन्जनले अपराध स्वीकारेको समाचारसँगै मंगल र उनका गाउँलेले आस गरेका थिए– टिस्टुङलाई श्रेय मिल्ला केही न केही। 

तर, मिलेन। कसैले उच्चारण गरेन। 

त्यसैले उनीहरू थोरै निरास भए। 

मंगल, सुनीता र सूर्यले म र विजयलाई त्यही कालो धब्बा भएको ठाउँमा पनि लगे, जुन आउँदा आउँदै देखेर हामीलाई शंका लागेको थियो। सुनीता त गजबकै ‘न्यारेटर’ रहिछिन्। सबै कुरा यसरी बताइन्।

मानौं म कुनै पोख्त टेलिभिजन प्रस्तोतालाई सुन्दैछु। उनको ‘क्रिटिकल सेन्स’ देखेर छक्क परें। मंगलको ‘कमाण्ड’ र ‘पर्सिसटेन्स’ ले नै त्यसलाई टुंगोमा पु¥याएको थियो । मनमनै सोचें– यी दुई पात्रको विशेष गुणले समयमा काम नगरेको भए रन्जन सायद समातिने थिएनन्।

विजय र म नागरिक दैनिकको कार्यालयमा फर्कंदा रातको ९ बजेको थियो। डेस्कमा सुदीप श्रेष्ठ कुरिरहेका थिए। सवा घण्टामा १ हजार ५ सय शब्दको फिचर गणेशगतिमा लेखियो, अनि कठोर अपराध रिपोर्टिङको उच्याहटलाग्दो दिनलाई बिट मार्न आफ्नै काँठ निवासतिर लागियो।

भोलिपल्ट बिहान मंगल र सूर्यको बीचमा सुनीताको उही तिखा आँखा टल्कने तस्बिर ब्यानर न्युजमा चिप्केर छापिएको थियो। आफैंंले लेखेको समाचार र विजयले कैद गरेका तस्बिर हेर्दाहेर्दै सम्पादक नारायण वाग्ले दाइको एसएमएस आयो– ‘गज्जब स्टोरी, डियर।’

सम्पादकको ‘कम्प्लिमेन्ट’ले भन्दा दिउँसोतिर आएको एउटा फोनले म बढी खुसी भएँ। 

‘सुन्दर भाइ, धन्यवाद। टिस्टुङलाई चिनाइदिनुभयो, जस दिनुभयो,’ मंगल भन्दै थिए। 

‘दाइ, मैले जागिर मात्र खाएको। तर तपाईहरूको बहादुरी सबैले थाहा पाउनुपर्ने थियो,’ मेरो उत्तर यत्तिमात्र रह्यो।

केही दिनपछि ल्होसारको निम्तो आयो, टिस्टुङबाट। मंगलले निकै कर गरे, सम्मानको पनि व्यवस्था छ भनेर। ल्होसारको शुभकामना दिएँ, सम्मानचाहिँ सम्झनाबाटै पर्याप्त मिलिसकेको भनेर बुझाएँ। 

उनै रन्जन आज बिहीबार जेलमुक्त भए। उनलाई सर्वोच्च अदालतले ११ वर्षको कैद माफी गरिदियो। यसमा पनि समाचार शृंखला चल्दैछ। 
र, मेरो मंगलसँग फेरि बातचित नभएको पनि आठै वर्ष बितिसक्यो। फोन नम्बर पनि छैन। बाइरोडको बाटो कुनै रोमान्चका लागि हिँडिएमा टिस्टुङ पुगेर एक कप चिया खाँदै सोधखोज चाहिँ गर्नुपर्ला।


Leave a Reply

Your email address will not be published.