बाढी-पहिरोपीडितको उद्धारमा सेनाका हेलिकप्टर ‘स्ट्यान्डबाइ’

बाढी-पहिरोपीडितको उद्धारमा सेनाका हेलिकप्टर ‘स्ट्यान्डबाइ’

अबिरल वर्षाको कारण देशका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धारका जनशक्ति परिचालन गरेको छ।

स्रोतसाधनसहित परिचालित सेनाले खोज, उद्धार तथा राहत वितरण कार्यलाई जारी राखेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ। 

नेपाली सेनाको फौजले अस्थायी तटबन्ध निर्माण, अस्थायी पुल निर्माण, अवरुद्ध भएका सडक सुचारु गर्ने र जोखिममा रहेका स्थानीयहरुको रवरबोट समेतको प्रयोग गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेको जंगी अड्डाले जनाएको छ।

यस क्रममा झापा, तनहुँ, गोरखा, ललितपुर र रुपन्देही जिल्लाका विभिन्न स्थानहरुमा बाढी तथा पहिरोका कारण खतरामा रहेका स्थानीयको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। यसैगरी झापा, चितवन र भक्तपुर जिल्लाका विभिन्न स्थानमा स्थानीय बासिन्दाको सहयोगमा अस्थायी तटबन्ध निर्माण गरी बाढी तथा पहिरोबाट हुनसक्ने जोखिमको न्यूनीकरण गरिएको सेनाले जनाएको छ। 

रसुवा, पर्वत, तनहुँ, पाल्पा, मनाङ्ग र काठमाडौं जिल्लाका विभिन्न स्थानमा अवरुद्ध सडक सुचारु गरिएको छ। दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकामा गएको पहिरोमा परी घाइते भएका दुई जनालाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा नेपालगन्ज पुर्‍याइएको छ। 

प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिको खोज तथा उद्धार कार्यमा नेपाली सेनाका जनशक्ति तथा स्रोत साधन अनवरत् रुपमा खटिरहेको जानकारी दिँदै सेनाले तत्काल उद्धार तथा राहतको लागि काठमाडौं, इटहरी, भरतपुर र सुर्खेतमा नेपाली सेनाका हेलिकप्टर स्टेनबाई राखिएको जनाएको छ।


Leave a Reply

Your email address will not be published.