सीतापाइलामा युवतीमा एसिड छ्याप्ने दुईजना पक्राउ
बिहीबार साँझ काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड हान्ने दुई जना पक्राउ परेका छन्। प्रहरीका अनुसार रौतहट घर भएका हाल डल्नु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमै बस्ने मुन्ना मोहम्मद छन्।
उनीहरूलाई बिहीबार राति नै डल्डुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
ओखलढुङ्गाकी २२ वर्षीया पवित्रा कार्कीमाथि यी दुई युवा मिलेर एसिड हानेका थिए। कार्कीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि उनीहरुले ट्वाइलेटमा प्रयोग गर्ने एसिड छ्यापिदिएका थिए।
घटनापछि महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरको संयुक्त टोलीले दुवै युवाको खोजीमा लागेको थियो। राति ११ बजे दुवैलाई काठमाडौंको डल्लुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।