डा. भट्टराईको प्रस्ताव- ‘अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ’
जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ‘अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउनुपर्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री भट्टराईले कुनै न्यायाधीशको नाम त लिएका छैनन् तर सर्वाेच्च अदालतका पछिल्ला फैसलातर्फ संकेत गरेको बुझिन्छ।
सर्वाेच्चले हालै मात्र जन्मकैद सजाय पाएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको ११ वर्ष सजाय कटौति गरिदिएको छ, भने बुढानीलकण्ठमा मदिरा सेवन गरी सवारी चलाएर महिलाको ज्यान लिएको घटनाका अभियुक्त पृथ्वी मल्ललाई थुनामा राख्दा कोरोना भाइरस संक्रमणको जोखिम रहेको धरौटीमा छाड्न आदेश दिएको थियो।
अदालतबाट यी र यस्ता विवादित फैसला सार्वजनिक भइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले शुक्रबार ट्टवीट गर्दै भनेका छन्, ‘अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ।’
उनले देश गम्भीर संकटतिर गइरहेको उल्लेख गर्दै लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यी सुझाव दिएका हुन्।
जसमा संसद अधिवेशन बोलाउन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट बिदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न, अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन, भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जान प्रस्ताव गरेका हुन्।
देश गम्भीर संकटतिर जाँदैछ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं:१.संसद अधिवेशन बोलाऊँ;२.KPOलाई विदा गरेर नेकपाभित्रैबाट नयाँPMचयन गरौं;३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ;४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं;५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!
— Baburam Bhattarai (@brb1954) July 24, 2020