भक्तपुरमा पूजाआजा गरी ‘खम्ये’ भित्र्याइयो
भक्तपुरस्थित नवदुर्गा द्योछें (दसैंमा राष्ट्रपति आउने मन्दिर) मा खम्ये (राँगो) भित्र्याएको छ।
दसैंमा धुमधामसाथ ठूलो जात्रागरी बली चढाउने खम्ये (राँगो) बर्सेनि नवदुर्गा द्योछेंमा नै भित्र्याउने परम्परा छ।
दसैंको महानवमीसम्म नवदुर्गा द्योछेंमा राखेर रातभर जात्रा गरी खम्ये (राँगो) लाई बली चढाइन्छ।
नेपाल भाषामा खःमेय् भनेको निख्खर कालो राँगो हो। त्यही निख्खर कालो राँगोलाई दौडाएर गरिने जात्रालाई स्थानीय नेपाल भाषामा खःमेय् ब्वाकेगु जात्रा भनिन्छ।
नवदुर्गामा ल्याइएको राँगोलाई मन्दिरकी नकीं न्हुछेमाया वनमालाले स्वागत गर्दै पूजाआजा गरेकी छन्। न्हुछेमायाले नै अब दसैंको नवमीसम्म उक्त राँगोकाे रेखदेख र हेरचाह गर्नेछिन्।
जात्राको विधि विधानअनुसार गथाःमग चह्रे चतुर्दशीको दिन नवदुर्गा मन्दिरमा खःमेय् बाँध्ने किलामा डोरी बाँध्नुपर्ने प्रचलन रहेको नवदुर्गा देवगणका नाइके बुद्धिकुमार वनमालाले जानकारी गराए।
राँगो छ भने त्यही दिन बाँध्ने तर खम्ये नभेटिने हुनाले उक्त दिन डोरी बाँधिसकेपछि खःमेयका लागि योग्य राँगो खोजी गरिन्छ।
यसवर्ष भक्तपुर नगरपालिका–२ बालाखु निवासी विजेन्द्र पुलाछेंले राँगो चढाएका हुन्। उनले काठमाडौंको गोकर्णबाट करिब ९० हजार रुपैयाँमा उक्त राँगो किनेर ल्याएको बताए।
विजेन्द्रले चार वर्षअघि नै राँगो चढाउने इच्छा व्यक्त गरेका थिए। जसअनुसार पाँचौं वर्षमा उनले नवदुर्गालाई राँगो चढाउने पालो पाएका छन्।
पछिल्लो दस वर्षमा खःमेय् (राँगो) मधुसूदन अवाल, रामभक्त प्रजापति, राकेश दुवाल, रुद्रशेखर दुमरु (विकास), भाइकाजी श्रेष्ठ, राजकुमार प्रजापति, केशव बनेपाली, अष्टवीर वनमाला, राजेन्द्र दुमरु र बद्रीलक्ष्मी साखले चढाउने मौका पाएका थिए। यी सबै भक्तपुरवासी हुन्।
यसभन्दा केही वर्ष पहिला भने काठमाडौंवासीले पनि चढाउने अवसर पाएका थिए।
बर्सेनि घण्टाकर्णपछि र गाईजात्राभित्र खम्ये (राँगो) नवदुर्गा द्योछेंमा ल्याइसक्नुपर्ने चलन छ। यसअनुसार प्रत्येक वर्ष मिति मिलाएर खम्येलाई भित्राउने गरिन्छ। यसअघि खम्येका लागि साइत हेर्ने गरिन्थ्यो र मिल्ने व्यक्तिको घरमा पालेर राखेपछि किनेर ल्याउने गरिन्छ।
द्योछेंमा राखेर पालिएको खम्येलाई प्रत्येक वर्ष दसैंको महानवमीको राति भक्तपुरको ब्रम्हायणीमा रातभर ठूलो जात्रासाथ बली दिइन्छ। यसको भोलिपल्ट ब्रम्हायणीमा ठूलो मेला लाग्दछ। जहाँ काठमाडौं उपत्यकाबाट दसौं हजार भक्तालु जात्रास्थल पुग्ने गर्दछ।
यसअघि खम्येलाई नवमीको साँंझ नवदुर्गा द्योछेंबाट निकालेर दौडाउने गरिन्छ। जसलाई खम्ये जात्रा भनिन्छ। विशेष आकर्षणको यो जात्रा हेर्न भक्तपुर नगरभरि भीड लाग्ने गर्दछ। द्योछेंबाट निकालिएको खम्येलाई नगर परिक्रमा गराई ब्रम्हायणीमा पुर्याउने प्रचलन छ।