पिपरा गाउँपालिकामा जसपाको ताला, अध्यक्ष कार्यालयभित्रै थुनिए

पिपरा गाउँपालिकामा जसपाको ताला, अध्यक्ष कार्यालयभित्रै थुनिए

जनता समाजवादी पार्टी (जसपा) ले महोत्तरीको पिपरा गाउँपालिका कार्यालयमा तालाबन्दी गरेको छ।

२० बुँदे माग राख्दै आफूहररूले बुझाएको ज्ञापन पत्रमाथि सुनवाइ नभएको भन्दै जसपाले कार्यालयमा तालबन्दी गरेको हो।

तालाबन्दीपछि गाउँपालिका अध्यक्षसहित कर्मचारी कार्यालयभित्रै थुनिएका छन्। कार्यालयमा तालाबन्दी गर्ने क्रममा ठूलो संख्यामा जसपाका कार्यकर्ता पुगेका थिए।

२० बुँदे माग राख्दै एक महिनाअघि ज्ञापन पत्र बुझाए पनि गाउँपालिका अध्यक्ष विक्रम चौधरीले सुनवाइ नगरेको भन्दै जसपा कार्यकर्ता पाँच दिनदेखि कार्यालय अगाडि धर्ना दिँदै आएका थिए ।

पिपरामा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ।

जसपाले गाउँपालिकामा डिपिआर तयार पार्न, राहत वितरणलगायतमा भ्रष्टाचार भएको दाबी गरेको छ।

यसैगरी जाडो महिनामा गरिब तथा विपन्नलाई वितरण गरिएको न्यानो लुगा खरिदमा समेत भ्रष्टाचार भएको जसपाको आरोप छ। जाडो महिनामा स्वेटर, कम्बललगायत लुगा वितरण गर्ने निर्णयका साथै प्रत्येक विद्यालयमा रहेका विद्यार्थीको विवरण र खर्च भर्पाइ सार्वजनिक गर्न जसपाले माग गरेको छ।

गाउँपालिका अध्यक्ष चौधरीले भने जसपाले लगाएको सम्पूर्ण आरोप निराधार रहेको दाबी गरे। जसपाकै बहुमत रहेको पिपरा गाउँपालिकामा आफूले भ्रष्टाचार गरेको आरोपमा कुनै सत्यता नरहेको उनको भनाइ छ।

‘बोर्ड र गाउँसभामा जसपाकै बहुमत छ, ७५ प्रतिशत उपभोक्ता समितिको अध्यक्षमा उहाँहरु नै हुनुहुन्छ,’ अध्यक्ष चौधरी भन्छन्,‘भ्रष्टाचार भएको भए प्रमाण देखाउनु प¥यो ।’

गत आर्थिक वर्षमा सञ्चालन भएका सम्पूर्ण योजना र कार्यक्रमको लेखा परीक्षण भइरहेको भन्दै उनले सकिए लगत्तै सबै हरहिसाब सार्वजनिक हुने बताए।


Leave a Reply

Your email address will not be published.