महासंघको चुनाव स्थगित भएपछि ढकाल पक्ष असन्तुष्ट, भन्छन्, ‘स्याल पल्कियो भन्ने कुराले पिरोलेको छ’

महासंघको चुनाव स्थगित भएपछि ढकाल पक्ष असन्तुष्ट, भन्छन्, ‘स्याल पल्कियो भन्ने कुराले पिरोलेको छ’

नेपाल उद्योग वाणिज्य महासंघका एसोसियट उपाध्यक्ष चन्द्र ढकालले चुनावी साधारणसभा स्थगित गरिएकोप्रति असन्तुष्टि जनाएका छन्।

महासंघको वर्तमान कार्यकारिणी समिति र पूर्वअध्यक्षहरुको बिहीबार बसेको संयुक्त बैठकले साउन २६ र २७ गतेका लागि तय भएको ५४ औं साधारणसभा स्थगित गरेको थियो।

तर, वरिष्ठ उपाध्यक्षका उम्मेदवार समेत रहेका ढकालले शुक्रबार पत्रकार सम्मेलन गरेर ‘साधारणसभाको मिति कार्यसमितिको बैठकबाट निर्धारण भएकोमा स्थगित गर्दा कार्यसमितिको अधिकार कुल्चिइएको’ बताए।

उनले भने, ‘यो अत्यन्तै दुखःद कुरा हो। यसले महासंघमा गलत प्रवृत्तिको विकास भएको छ। र मलाई स्यालले कुखुरा लग्यो भन्नेभन्दा पनि स्याल पल्कियो भन्ने कुराले बढी पिरोलेको छ।’

महासंघले साउन २६ र २७ गतेका लागि तय भएको साधारणसभाका लागि सहजीकरण गर्न सरकार समक्ष निवेदन दिएको थियो।

तर, सरकारबाट जवाफ नआउँदै साधारणसभा स्थगित भएको भन्दै ढकालले असन्तुष्टि जनाए।  

साधारणसभा स्थगित गरेर अर्को मिति तयसमेत नगरिँदा यसले कानुनीमात्र नभइ महासंघको नैतिक र सामाजिक जगसमेत कमजोर बनाएको ढकालको तर्क छ।

‘साढे ५ दशक पुरानो संस्था कानुनी रुपमा इतिहासमै कमजोर अवस्थामा पुगेको बेला यसलाई कम्तिमा चुनावी दाउपेचको शिकार बनाउनु हुँदैनथ्यो। यो आफैंमा दुर्भाग्यपूर्ण छ,’ उनले भनेका छन्।
 


Leave a Reply

Your email address will not be published.