अरू देशभन्दा हाम्रो अर्थतन्त्र चाँडै लयमा फर्किन्छ

अरू देशभन्दा हाम्रो अर्थतन्त्र चाँडै लयमा फर्किन्छ

तीन दशकदेखि गोल्छा ग्रुपमा आबद्ध व्यवसायी शेखर गोल्छाको काँधमा उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको जिम्मेवारी आएको छ। गोल्छालाई महासंघको अब हुन लागेको चुनावी साधारणसभाले अध्यक्षको जिम्मेवारी दिँदै छ। यसअघिको कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन पाउने प्रावधान ल्याएपछि अध्यक्षका लागि हुने चुनावी चलखेल लगभग सकिएको छ। तर, अब हुने चुनावको ‘केन्द्र’ मा भने गोल्छा नै छन्। उनी वरिष्ठ उपाध्यक्षको चुनाव लड्दा जसले साथ दिएका थिए, अहिले ती सबै उनको प्रतिस्पर्धी समूहमा छन्। कोरोना कहरले अर्थतन्त्रमा पारेको असर, निजी क्षेत्रप्रति सरकारको व्यवहार र चुनावी साधारणसभालगायत सेरोफेरोमा रहेर गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशकसमेत रहेका गोल्छासँग आयोमेलका लागि सुशील भट्टराईले गरेको कुराकानीः   

निजी क्षेत्रले जहिले पनि सरकार निजीमैत्री छैन भन्दै आएको छ। अहिलेको लगभग दुई तिहाइको नेकपा सरकारले निजी क्षेत्रप्रति कस्तो दृष्टिकोण राखेको पाउनुभएको छ?

दुई–तिहाइको र बलियो सरकार हाम्रो पुस्ताले यसअघि कहिल्यै देखेको थिएन। सरकार बलियो भएपछि अपेक्षा पनि बढी हुन्छ। निजी क्षेत्रले खास गरेर उद्योगसँग रहेका समस्या र व्यापार–व्यवसायका समस्यामाथि धेरै नीतिगत सुधार गर्नु आवश्यक थियो। त्यो सुधार हुन्छ भन्ने पनि अपेक्षा गरेका थियौं। केही सुधार भएका छन्, नभएका होइनन्। तर, जति निजीसँग सहकार्य हुनुपर्ने हो त्यो सहकार्यमा कमी देखेका छौं। विश्वासको कमी पनि देखेका छौं। जुन चिन्ताको विषय छ।

जुन देशमा निजी क्षेत्रलाई विश्वास गरी ‘ग्रोथ इन्जिन’ का रूपमा लिइन्छ, त्यस्ता देशको आर्थिक विकास गति तीव्र भएको छ। जहाँ निजी क्षेत्रलाई शंकाको दृष्टिले हेरिन्छ, यिनीहरू नाफामूलकमात्रै छन् त्यस्ता देशमा विकास भएको छैन वा कम भएको छ। नेपालको निजी क्षेत्र राष्ट्रप्रति जिम्मेवार छ। यसको उदाहरण के हो भने हामीले कूल गार्हस्थ उत्पादन (जिडिपी) र कर तिर्ने कुरा दक्षिण एसियाली देशमध्ये सबैभन्दा राम्रो नेपालमा छ।

सर्वोच्च अदालतले जबसम्म लकडाउन खुल्दैन तबसम्म एक महिना कर तिर्नुपर्दैन भनेको छ। तैपनि निजी क्षेत्रले आफ्नो कर्तव्य–दायित्व सम्झेर राज्यलाई कर तिरेको छ। राज्यले आफ्नो लक्ष्यअनुसार कर उठाएको पनि छ। नतिरेको भए पनि हुन्थ्यो तर तिरेको छ। यस्तो निजी क्षेत्रलाई राज्यले विश्वास र सहकार्य गरेर अगाडि बढाउनुपर्ने थियो तर त्यो हुन सकेको छैन। केही कमी–कमजोरी देखेका छौं।

पछिल्लो पटक निजी क्षेत्रमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग घुसाउने काममा सरकार लागेको छ। निजी क्षेत्रले विरोध पनि गर्‍याे। उद्योग वाणिज्य महासंघको नेतृत्व आफ्नो काँधमा आएका बेला सरकारको यो कदमलाई कसरी हेर्नुभएको छ?

निजी क्षेत्रसँग अख्तियारी नै छैन भने किन अख्तियार छिर्ने र किन सरोकार राख्ने? खास गरेर यो व्यापार व्यवसायमा पारदर्शिता होस् भन्ने हिसाबले अन्तर्राष्ट्रिय महासन्धिमा नेपालले हस्ताक्षर गरेको थियो। त्यहीअनुसार अख्तियारलाई पनि निजी क्षेत्रलाई अनुगमन गर्नुपर्छ भन्ने हिसाबले कानुन संशोधनको प्रस्ताव आएको हो। नेपालमा निजी क्षेत्रलाई हेर्ने हो भने अनुगमनका लागि १४ वटा संस्था छन्। जसले निरन्तर काम गरिरहेका छन्। राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, विभिन्न संसदीय समिति, अडिटहरू छन्। विभिन्न चरणमा निजी क्षेत्रलाई अडिट गरिन्छ। जब निजी क्षेत्रले आफ्नै पुँजी परिचालन गरेर व्यवसाय गरेको हुन्छ भने त्यसको सम्पूर्ण जोखिम आफैंले उठाएको हुन्छ। यसमा अख्तियारको किन चासो भएको?

अख्तियारको चासो तब हुनुपर्छ जब राज्यले लगानी गरेको हुन्छ। जुन उद्योग–व्यवसायमा राज्यको स्वामित्व ५१ प्रतिशत वा ५० प्रतिशतभन्दा बढी छ, त्यसमा अख्तियार गए हामीलाई कुनै आपत्ति छैन। तर जहाँ निजी क्षेत्रको स्वामित्व ५० प्रतिशतभन्दा बढी छ, त्यहाँ अख्तियारी हुनुहुँदैन चाहे त्यो बैंकिङ क्षेत्र, मेडिकल क्षेत्र वा पब्लिक कम्पनी लिमिटेड नै किन नहोस्। यसमा अख्तियारी हुनुहुँदैन भन्ने कुरा राखेका थियौं। यो संशोधन प्रस्ताव पनि केही समयका लागि फेरि परिमार्जित हुनका लागि फर्केको पनि छ। यससम्बन्धमा हामीले सबै उच्च तहका नेतालाई पनि भेटेका थियौं। यसबारे उहाँहरूलाई कन्भिन्स गर्न सफल भयौं। यस्तो गर्दा झन् विकृति आउँछ, राज्यमा लगानी हुँदैन, लगानी अझ निरुत्साहित हुन्छ। अझ खास गरेर एफडिआइ (प्रत्यक्ष विदेशी लगानी) निरुत्साहित हुन्छ भन्ने कुरा राखेका थियौं। संशोधन प्रस्ताव निकालेर फेरि अरू पनि विषय समेटेर संशोधन गर्ने हिसाबले अघि बढेको छ।

केही दिनअघि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई निजी क्षेत्रले स्वागत गरेको देखियो। के तपाईंंहरूले स्वागत गरेझैं मौद्रिक नीति कार्यान्वयनमा आउला?

मौद्रिक नीतिको कार्यान्वयनमा चुनौती रहन्छ। राम्रो नीति–नियम धेरै लिएर आउँछन् तर कार्यान्वयन जहिल्यै चुनौतीपूर्ण रहन्छ। कोरोना भाइरस महामारीले निम्त्याएको सबैभन्दा ठूलो समस्या नगद प्रवाहको व्यवस्थापन संकुचित थियो। त्यो कसरी समाधान गर्ने भन्ने हिसाबमा मौद्रिक नीतिले समाधान गर्ला भन्ने आशा लिएका थियौं। मौद्रिक नीतिमा मुख्य तीन–चारवटा कुरा आएका छन्। जस्तै, कर्जाको पुनर्तालिकीकरण, पुनर्कर्जा, ब्याज मिनाहा, ब्याज घटाउने उपायसम्बन्धी सल्लाह दिएका थियौं जुन सम्बोधन भएको छ। राम्रो नीति–नियम कार्यान्वयन गर्न सकेनाैं भने यसको लाभ हुँदैन। यसले लिएको जुन उद्देश्य छ, खास गरेर साना र मझौला उद्योगी–व्यवसायीलाई कोरोना महामारीले पारेको असरबाट कसरी निदान पाउने भन्ने भएन भने नीति कार्यान्वयन सफल हुँदैन।

कोरोना महामारीका कारण झन्डै पाँच महिना देश ‘लकडाउन’ मा गयो। यसबाट व्यापार, व्यवसाय, आवागमन लगभग ठप्प भयो र अहिले लकडाउन खुलेको छ। अब मुलुकको अर्थतन्त्र कति गहिराइसम्म धकेलिन्छ जस्तो लाग्छ?

निजी क्षेत्रले पहिले पनि धेरै आर्थिक चुनौतीहरू सामना गरिसकेको छ। उदाहरणका लागि हामीले भूकम्प हेर्‌यौं, नाकाबन्दी हेर्यौं, ऊर्जाको चरम संकट हेर्‌यौं। हामीले यस्तो समय पनि देखेका छौं, जब हरेक हप्ता नेपाल बन्द हुन्थ्यो, श्रम सम्बन्ध बिग्रेर हडताल हुन्थ्यो र राजनीतिक परिवर्तनका बेला सुरक्षासम्बन्धी समस्या। यी सबै समस्या झेल्दै आएका छौं। यी सबै समस्या अर्थतन्त्रलाई चुनौती दिनका लागि आएका थिए। निजी क्षेत्रले ती चुनौती पार गर्न सक्यो किनकि हाम्रो अर्थतन्त्रको आधार बलियो थियो। अर्थतन्त्रलाई निर्धारण गरेका तीन चिज रेमिट्यान्सको इन्फ्लो एकदमै राम्रो छ जसका कारण जे पनि आयात गर्न सक्छौं र यसले कन्जम्प्सन लिएको छ र राजस्व पनि उठेको छ र अर्थतन्त्र चलेको छ।

हाम्रो अर्थतन्त्र सामान्य अवस्थामा छ। जिडिपी र कम ब्याजमा चलिरहेको छ। हाम्रो बैंकिङ क्षेत्र एकदमै रोबस्ट छ। रोबस्ट हुनुको मुख्य कारण राष्ट्र बैंकले नियामक संस्थाको हिसाबले राम्रो अनुगमन पनि गरेको छ। हामीकहाँ भएका सबै ऋण व्यक्तिगत छन् जसका कारण हाम्रो एनपिए एकदमै कम छ। यी कारणले गर्दा विगतका समस्या समाधान भएका थिए। तर, कोरोना भाइरसले अर्थतन्त्रमा यस्तो चुनौती लिएर आएको छ कि हाम्रो तीनवटै मुख्य आधारमा प्रहार गरेको छ। अहिले रेमिट्यान्स घट्दो छ। सरकारले बाह्य र आन्तरिक ऋण धेरै उठाइरहेको छ जसका कारण हाम्रो स्ट्रेस बढेको छ। एनपिए बढेर बैंकको पर्फर्मेन्ससमेत घट्ने अवस्थामा रहेको छ। यसकारण कोरोना भाइरसको प्रभाव लामो समयसम्म रहने देखिएको छ। होमस्टे, होटल व्यवसाय, पर्यटन उद्योग र अन्य व्यवसायमा कोरोना भाइरसको प्रभाव लामो समयसम्म रहने भएको छ। यसले लामो समयसम्म अर्थतन्त्रमा असर गरिरहन्छ।

होटल, रेस्टुरेन्ट, वायुसेवा कम्पनीसहित समग्र पर्यटन क्षेत्र ठप्प छ। अब नेपालको पर्यटन कहाँ पुग्ला?

नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा यस्तो महामारी आउला भन्ने कसैले कल्पना गरेका थिएनौं। २० लाख पर्यटक भित्र्याउन गरिएको प्रयासमा कोरोनाले प्रभाव पारेको छ। यो नेपालमा मात्रै नभई विश्वभर फैलिएको छ। पर्यटन क्षेत्रमा कोरोना भाइरसको प्रभाव लामो समयसम्म रहने भएको छ। पर्यटन क्षेत्र भाइरसबाट प्रत्यक्ष प्रभावित भएको छ। कोरोनाका कारण नेपालको पर्यटन क्षेत्र दुई वर्षसम्म पुरानो अवस्थामा फर्कन सक्दैन। यो चुनौतीपूर्ण अवस्थामा छ। जिडिपीमा १० प्रतिशत सहयोग पुर्‌याउने पर्यटन क्षेत्र अस्थिर रहन्छ र यसमा असर परिरन्छ। सरकारले ल्याएका पुनर्कर्जालगायत अन्य सहुलियत पर्यटन क्षेत्रलाई दिनुपर्छ भनेका छौं। यसको असर दूरगामी रहने छ, संयमता राखेर लड्नुपर्ने आवश्यकता देखिएको छ।

नेपालको औद्योगिक क्षेत्रले अहिले कस्तो खालको समस्या सामना गरिरहेको छ?

नेपालको औद्योगिक क्षेत्र कुनै बेला अर्थतन्त्रको १४ प्रतिशतसम्म पुगेको थियो भने अहिले चार–पाँच प्रतिशतमा पुगेको छ। हामी बढी ट्रेडिङ अर्थतन्त्रतिर गइसकेका छौं। हाम्रो फोकस पनि त्यतैतिर गइसकेको छ किनभने उद्योगमा रहेका आधारभूत समस्या समाधान गर्न सकेका छैनौं। उद्योगमा रहेका धेरै कानुनसम्मत कुराका साथै अन्य समस्या पनि रहेका छन्। सबैभन्दा ठूलो समस्या के छ भने नेपालमा उद्योग राखेर कस्ट अफ प्रोडक्सन र कस्ट अफ डुइङ एकदमै उच्च छ। 

जस्तै, बिजुलीकै कुरा गर्ने हो भने अन्य देशमा उद्योगी–व्यवसायीलाई बेचिने बिजुली हाम्रो तुलनामा सस्तो हुन्छ। हामीले भारतलाई बिजुली बेच्नुभन्दा आफ्नो उद्योगलाई सस्तोमा दिनु फाइदाजनक हुन्छ। जसका कारण बढी रोजगारीको सिर्जना र उत्पादन बढाउन सक्छौं। यसबाट व्यापार घाटासमेत कम गर्न सक्छौं।

दोस्रो चुनौती भनेको ब्याजदर हो। राष्ट्र बैंकको मौद्रिक नीतिपछि केही घटेको छ तर पनि भारत तथा अन्य देशभन्दा बढी नै छ। यसलाई नियन्त्रण तथा कम गर्न सकेनौं भने समस्या हुन्छ र यो पनि ठूलो लागतका रूपमा आएको छ।

तेस्रो भनेको लजिस्टिक कस्ट हो। हामी भूपरिवेष्ठित देश हो। कच्चापदार्थका साथै सबै सामग्री हामीले भारत, चीन तथा अन्य देशबाट भित्र्याउनुपर्ने अवस्था छ। लजिस्टिक कस्ट प्रतिकिलोमिटरका हिसाबले हेर्ने हो र क्लियरिङ एन्ड फर्वार्डिङका अनुसार हेर्ने हो भने हामीेले यसमा धेरै मेहनत गर्नुपर्ने देखिएको छ। यसका लागि संरचनाको निर्माण गर्नु आवश्यक छ। यसका साथै अन्य लागतमा पनि काम गर्नु आवश्यक छ।

यस्तै, उद्योगलाई जग्गा प्राप्ति लगायत अन्य धेरै समस्या छन्। यस्ता समस्या छोटो समयमै समाधान हुनेदेखि लामो समयसम्म रहने देखिएका छन्। यस्ता समस्याको समाधान गर्न सके नेपालमा फेरि उद्योग फस्टाउन सक्छ। अन्तर्राष्ट्रिय श्रम संगठनको रिपोर्टअनुसार नेपालको लेभल अफ प्रोडक्टिभिटी दक्षिण एसियामा सबैभन्दा कम छ। श्रम ऐनले उत्पादनलाई केन्द्रित नगरेको, श्रमको कम सम्मान, कमजोर वातावरणको समस्यालाई समयमै समाधान गर्न सक्यौं भने नेपालमा उद्योगमा बढी लगानी निम्त्याउन सक्छौं।

तपाईंं आफैं उद्योगी र गोल्छा ग्रुपजस्तो व्यापारिक घराना हाँकिरहनुभएको छ। कोरोनाले आफ्नो व्यापार–व्यवसायमा कस्तो प्रभाव पारेको छ?

हामी मल्टिपल क्षेत्रमा छौं। केही क्षेत्रमा धेरै प्रभाव परेको छ भने केहीमा परेको छैन। जस्तै, खाद्यान्न क्षेत्रमा प्रभाव परेको छैन र त्यस्तै रिटेल व्यापार र टे«डिङ व्यापारमा ठूलो प्रभाव परेको छैन। कोरोना भाइरसको महामारीले उद्योग र उद्योगीलाई धेरै ठूलो समस्यामा पारेको छ।

होटलहरूले पछिल्लो पटक मजदुरलाई महिनाको अधिकतम १० हजार रुपैयाँ तलब दिने सहमति गरेका छन्। यो सन्दर्भमा औद्योगिक मजदुरका हकमा उद्योग वाणिज्य महासंघको धारणा के हो?

हामीले लकडाउन सुरु हुनासाथ चैतको तलब पूरै दिने निर्णय गरेका थियौं भने वैशाख र जेठमा काम गर्न आएकालाई पूरै र घर बस्नेलाई आधा तलब दिने सुझाव दिएका थियौं। त्यसपछिका महिनामा काममा आउनेले तलब पाउने र नआएकाले नपाउने भन्यौं। यतिबेलासम्म उद्योग खुलिसकेका थिए। घरमै बसेकालाई तलब खुवाउने अवस्थामा हामी थिएनौं। यसैलाई मध्यनजर गर्दै उद्योग वाणिज्य महासंघले राय पनि बनाएको थियो तर अहिलेसम्म कार्यान्वयन भने भएको छैन। हामीले जेडयुसिसीलगायत अन्य संस्थासँग कुरा गरेर काम गर्नेलाई सतप्रतिशत र काम नगर्ने तथा घरमै बस्नेलाई आधा तिरौं भनेर प्रस्ताव गरेका थियौं र त्यसमा सहमति पनि गरेका थियौं। तर, सरकारले ५० प्रतिशत अहिले र बाँकी पछि तिर्ने भनेपछि कोही पनि आएनन्। घरमै बसेर पूरै तलब पाउने भएपछि कोही काम गर्न इच्छुक देखिएनन्। लकडाउनको समयमा चलेका उद्योगले सामान्यभन्दा २५–३० प्रतिशत बढी तिरेर काममा राखेका थिए। यो विकृति थियो र यसमा सरकारसँग कम सहकार्य भएको छ। यो त्यसको एउटा उदाहरण पनि हो।

मुलुकको अर्थतन्त्र कहिलेसम्म पूर्ववतः अवस्थामा फर्किएला जस्तो लाग्छ? केही अनुमान गर्न सक्नुहुन्छ?

पहिलेका चुनौतीबाट सजिलै बाहिर आए पनि यहाँ पर्यटनलगायत केही यस्ता क्षेत्र छन् जो लामो समयसम्म पनि पुरानो अवस्थामा फर्कन सक्दैनन्। यसपालि पुरानो अवस्थामा आउन समय लाग्छ। अहिले आउने ६ महिना निकै चुनौतीपूर्ण रहन्छ। यसमा मौद्रिक नीतिले बोलेका सुविधाहरू र सरकारले बजेटमा ल्याएका कार्यक्रमको सफल कार्यान्वयन गराउन सक्यौं भने ५ महिनापछि पुरानो अवस्थामा फर्किन्छौं र एक वर्षमा पुरानै लयमा फर्किन्छौं। अरू देशको तुलनामा चाँडै पुरानो लयमा फर्किने विश्वास गरेका छौं।

उद्योग वाणिज्य महासंघको नेतृत्व तहमा पुग्न उद्योगी–व्यवसायीबीच सधैं ‘राजनीति, टकराव, स्वार्थ, द्वन्द्व’ हुने गर्छ। एउटा पुरानो र व्यावसायिक संस्थामा किन सधैं यस्तो हुने गर्छ?

गतिशील संघसंगठनमा राजनीति हुनु स्वाभाविक हो। जहाँ गति सकिन्छ त्यहाँ राजनीति पनि सकिन्छ। राजनीति हुनुको एउटा फाइदा के देखेको छु भने उद्योग वाणिज्य महासंघले डेलिभर गर्न सकेको छ। डेलिभर गर्न नसकेको भए किन सबैजना यसको नेतृत्वमा आउन चाहन्थे? मैले राजनीतिलाई नकारात्मक रूपमा लिएको छैन। तर, राजनीति जुन दिन पदाधिकारी र कार्यसमितिको चुनाव हुन्छ, हामी पहिलो कार्यसमितिमा बस्छौं त्यसपछि सबै राजनीति समाप्त हुनुपर्छ। कहिले–कहिले हामी राजनीतिको ह्याङओभर लिएर बसेका हुन्छौं त्यो ठूलो विकृति हो, यस्तो हुनुहुँदैन भन्ने हो। धेरै सक्षम व्यक्तिहरू नेतृत्वका लागि लागिरहनुभएको छ। कोही पनि अक्षम छैनन्। तर, जब चुनाव सकिन्छ तर राजनीति छाडेर हामी जुन स्वार्थका लागि यहाँ आएका छौं त्यो स्वार्थ निजी क्षेत्रको भलो हो, संघसंगठनलाई अझ बलियो बनाउने हो, निजी क्षेत्रमा रहेका समस्या समाधान गर्ने हो, यो स्वार्थमा हामी सबैले काम गर्नुपर्छ।

महासंघको नेतृत्व तपाईंको काँधमा आइसक्यो। अब नयाँ आउने वरिष्ठ उपाध्यक्षसहित सदस्य जुन–जुन प्यानलबाट आए पनि तिनलाई मिलाएर लानुपर्ने चुनौती तपाईंंसामु छ, कस्तो तयारी गरिरहनुभएको छ?

विधानअनुसार मैले चुनाव जितिसकेको छु। म अध्यक्षको रूपमा स्थापित हुन्छु। साधारणसभाले मलाई अध्यक्षको रूपमा स्थापित गर्छ। यस्तो बेला पक्ष–विपक्ष हुनु स्वाभाविक हो। म काम गर्न यहाँ आएको हुँ। यहाँसम्म पुग्न मैले धेरै संघर्ष गरेको छु। काम गर्दा टिम चाहिन्छ। मैले काम गर्नका लागि टिमको अवधारणा अघि बढाएको छु। सबै साथीहरूले सबैको अध्यक्ष हुनुपर्छ भन्नुभएको छ। म सबैको अध्यक्ष त हुन चाहन्छु तर केही साथीहरूले अनावश्यक रूपमा अविश्वासको प्रस्ताव ल्याएर फालिदिन्छु, कुनै प्रस्ताव पास हुन दिँदैनौं भनी सार्वजनिक रूपमा बोलेपछि मैले पनि टिम रोज्नु सामान्य नै थियो जो मैले गरेको छु।

तपाईं वरिष्ठ उपाध्यक्षको चुनाव लड्दा जो–जो व्यवसायीले साथ दिएका थिए, ती सबै अहिले प्रतिस्पर्धीका रूपमा तपाईंंका सामु उभिएका छन्, यसलाई कसरी लिनुभएको छ?

म यसलाई स्वस्थकर रूपमा लिन्छु। त्यसको कारण हो हामी विपक्षमा बस्दा पनि हाम्रो स्वार्थ एउटै हो, निजी क्षेत्रको सेवा गर्न आएका हौं, यो संगठन हामी सबैको आस्थाको केन्द्र हो यसलाई अझ बलियो बनाउन आएका छौं। पक्ष र विपक्ष नभनौं हामी आ–आफ्नो कुरा राख्छौं त्यसपछि कसैको जति कसैको हार हुन्छ। तर, सधैं हार्नेले कहिल्यै जित्दैन भन्ने होइन। जसको कारण समीकरण परिवर्तन हुनु सामान्य नै हो।

लामो समयदेखि उद्योग वाणिज्य महासंघको नेतृत्व लिन मारवाडी र नेवार समुदायका व्यवसायीबीच ‘प्रत्यक्ष भिडन्त’ हुँदै आएको छ। पछिल्लो कार्यकालबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान ल्याइयो। अबको भिडन्त वरिष्ठ उपाध्यक्षमै हुने गर्छ। नयाँ प्रावधानले चुनावी चलखेल रोक्न सक्ला?

मेरो शरीरमा जातीयताको कुनै कण छैन। मैले जातीय रूपमा कहिल्यै राजनीति गरिनँ। कसले डेलिभर गर्न सक्छ त्यसले महत्त्वपूर्ण अर्थ राख्छ। मैले नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गरेको छु। विधान संशोधन भएर वरिष्ठ उपाध्यक्ष जितिसकेपछि मलाई हटाउनका लागि केही आदरणीय व्यक्तिहरूले ठूलो षडयन्त्र गर्नुभयो। मलाई हटाउन र भ्रम फैलाउन जिल्ला–जिल्ला गई प्रचार पनि गरियो। आदर्श व्यक्तिले नै यस्तो काम गरिसकेपछि मलाई दुःख लाग्यो, पीडादायक समय थियो। यस्तो गर्नु हुँदैनथ्यो तर समयमा सद्बुद्धि आयो र विधान संशोधन हुन सकेको छैन। विधानअनुसार म अध्यक्ष बन्दैछु। तर, यस्ता क्रियाकलापले महासंघलाई एकदमै कमजोर बनाएको छ। म उहाँहरूलाई आग्रह गर्न चाहान्छु कि महासंघ निजी क्षेत्रको आस्थाको केन्द्र हो यसलाई आफ्नो स्वार्थका लागि कमजोर नबनाऔं।

महासंघ अध्यक्षको जिम्मेवारी काँधमा आएको छ, सम्पूर्ण उद्योगी–व्यवसायी साथीहरूलाई के सन्देश दिन चाहनुहुन्छ?

कोरोना महामारीको कठिन समयमा नेतृत्वमा आउँदैछु। मलाई सहयोग गर्नुस्। तपाईंंकै सेवा गर्न म यहाँ आएको हुँ। तपाईंहरूले सहयोग गर्नुभयो भने म पूर्ण लगनसाथ आफ्नो बुद्धिविवेकले भ्याएसम्म महासंघ र तपाईंहरूको सेवामा लागि परिरहन्छु।


Leave a Reply

Your email address will not be published.