चालिस हजार खर्चेर भारतीयले लिए नेपाली ‘वंशज’काे नागरिकता

चालिस हजार खर्चेर भारतीयले लिए नेपाली ‘वंशज’काे नागरिकता

कागजात र प्रमाण जुटाउन नसक्दा कतिपय नेपाली नागरिकहरु नागरिकता पाउनबाट बञ्चित भइरहेका छन्। तर, जनकपुरमा एक भारतीय नागरिकले रुपैयाँ खर्चेर वंशज नागरिकता बनाउन सफल भएका छन्।

भारतको सीतामढी जिल्ला बस्ने एकजना भारतीय नागरिकले पैसा खर्च गरेर वंशज नागरिकता बनाएको रहस्य बाहिरिएको छ। भारतको सीतामढीस्थित कुम्माका स्थायी वासिन्दा रोशनकुमार ठाकुरले धनुषाबाट वंशजका आधारमा नागरिकता बनाएका छन्।

बाबु त्रिवेणी ठाकुरसँग नेपाली नागरिकता नरहेपनि छोरो रोशनसँग भने नेपाली वंशज नागरिकता रहेको बुझिएको छ। रोशनले ४० हजार खर्चेर जिल्ला प्रशासन कार्यालयका कर्मचारीको सहयोगमा वंशज नागरिकता बनाएको उनका भाइ रमेश ठाकुरले दाबी गरेका छन्।

रोशनले साढे दुई वर्षअघि पैसा खर्चेर नेपाली नागरिकता बनाएको रमेशले बताएका छन्। बाबुसँग नेपाली नागरिकता प्रमाणपत्र नरहेपनि दाइ रोशनले वंशज नागरिकता बनाएको रमेशको भनाइ छ।

रोशनसँग रहेको नेपाली नागरिकता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय धनुषाबाट जारी भएको छ। भाइ रमेशका अनुसार साढे दुई वर्षअघिमात्र नागरिकता प्रमाणपत्र बनाएपनि जारी मिति भने २०६४/३/६ भनिएको छ। 

प्रशासकीय अधिकृत विनोदकुमार दहालको हस्ताक्षर भनिएको नागरिकता प्रमाणपत्रमा त्रिवेणी ठाकुरका छोरा रोशनलाई जनकपुर- ४ का स्थायी वासिन्दा भनिएको छ। 

रमेश बाबु त्रिवेणीको भारतीय पहिचानपत्र देखाउँदै प्रश्न गर्छन्, ‘बाबुले नेपाली नागरिकता नपाइकन छोराले कसरी वंशजको नागरिकता पाउन सक्दछ ? यदि रोशनले लिएको नागरिकता फर्जी होइन भने बाबुको नागरिकता देखाइ दिनु प-यो।’

परिवारसँगै ३० वर्षदेखि जनकपुरमा बस्दै आइरहेका रोशन र रमेश राज मिस्त्रीको काम गर्दै आइरहेका छन्। लामो समयदेखि जनकपुरमा बस्दै आइरहेपनि बाबुले नागरिकता लिनतर्फ कहिल्यै चासो नदेखाएको रमेशको भनाइ छ।

‘बाबु साधु हुनुहुन्छ, उहाँले नागरिकता लिनबारे कहिल्यै चासो देखाउनु भएन्,’ आयोमेलसँग कुरा गर्दै रमेश भन्छन्,‘दाइले ४० हजार खर्चेर नागरिकता बनाउन लागेको कुरा गरेका थिए। तर, बाबुले चासो देखाउनु भएन्।’ बाबुकै नागरिकता नरहेपछि छोराले बनाएको नागरिकता स्वतः फर्जी हुने रमेशको दाबी छ। रोशनले सोही नागरिकताको आधारमा मोटरसाइकलसमेत खरिद गरेको उनको भनाइ छ।

२०७५ मंसिरमा धनुषा प्रहरीले जनकपुरबाट नक्कली नागरिकता बनाउन गिरोहलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धनुषाका ४ जना कर्मचारीसमेत थिए। उनीहरु सबैजना अहिले कारागारमा छन्। 

प्रहरीले नक्कली नागरिकता बनाउने गिरोहलाई पक्राउ गरेपनि उनीहरुले क–कसलाई नागरिकता बाँडे यसको अनुसन्धान अझै हुनसकेको छैन्।

रोशनसँग रहेको वंशज नागरिकतापनि सोही गिरोहले तयार पारेको हुनसक्ने धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आशंका व्यक्त गरेका छन्। 

‘बाबु भारतीय नागरिक भएपछि छोरोले नेपाली नागरिकता पाउने कुरा नै भएन,’ प्रमुख जिल्ला अधिकारी निरौला भन्छन्,‘अहिले देखिएको यो नागरिकतापनि पक्राउ परेका मानिसहरुले तयार पारेको हुनसक्दछ।’ 

नागरिकता प्रमाणपत्रमा प्रशासकीय अधिकृतको हस्ताक्षर नक्कली रहेको उनले बताए। नक्कली नागरिकता लिने र दिने जा सुकै भएपनि कारबाहीको दायरामा आउने प्रमुख जिल्ला अधिकारी निरौलाले बताएका छन्।

उनले आफूसँग अहिले नक्कली नागरिकतासम्बन्धी १८ वटा उजुरी आएको र सबैको अनुसन्धान भइरहेको जानकारी दिएका छन्। ‘गैर नेपाली नागरिकले कुनै पनि हालतमा नेपाली नागरिकता पाउन सक्दैन्,’ उनले भने,‘हामीसँग आएको उजुरीका साथै अहिले देखिएको वंशज नागरिकताबारे समेत तत्काल छानबिन सुरु भएर लिने र दिने दुबैलाई कारबाही हुन्छ।’

छोराले लिएको नेपाली नागरिकता

बुवाको भारतीय भोटिङ कार्ड


One thought on “चालिस हजार खर्चेर भारतीयले लिए नेपाली ‘वंशज’काे नागरिकता

Leave a Reply

Your email address will not be published.