बीस लाख रुपैयाँसहित विशालबजारबाट हुण्डी कारोबारी समातिए
गैरकानुनी हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले विशालबजारबाट एक युवालाई १९ लाख ९१ हजार रुपैयाँसहित पक्राउ गरेको छ।
विशालबजारमा शंकास्पद रुपमा हिँडिरहेका काठमाडौं-२९ सामाखुसी बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपानेलाई शुक्रबार दिउँसो पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
उनको घर स्याङजा कालिगण्डकी गाउँपालिका-५ हो। हाम्रो गण्डकी इन्टरप्राइजेज न्युरोडका कपडा व्यापारी न्यौपानेलाई प्रहरीले तलासी लिँदा स्रोत नखुलेको रकम फेला परेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए।
उनले भाइबरमार्फत हुण्डी कारोबार गर्ने गरेको विवरण फेला परेको थापाले बताए। पक्राउ परेका न्यौपानेलाई प्रारम्भिक अनुसन्धानपछि कारबाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइने महाशाखाले जनायो।