कर्णालीमा शुक्रबार एकवर्षे बालकसहित ११ जनामा संक्रमण पुष्टि
कर्णालीमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। शुक्रबार प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा गरिएको परिक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि हुनेमा दैलेखका आठजना, कालिकोटका दुईजना र सुर्खेतका एकजना रहेको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
योसँगै कर्णालीका कोरोना संक्रमितको संख्या १ हजार ८ सय २४ पुगेको छ।
संक्रमण पुष्टि हुनेमा एक वर्षीय बालकसमेत छन्। उनी कालिकोटको नरहरिनाथ गाउँपालिका–२ निवासी हुन्।
शुक्रबार कर्णालीमा ३ सय ९० जनामा कारोना भाइरस संक्रमणबारे परीक्षण गरिएको थियो। त्यसमध्ये ११ जनामा संक्रमण पुष्टि भएको हो।