लिभरपुल कप्तान हेन्डरसनको उडान

लिभरपुल कप्तान हेन्डरसनको उडान

सबैको अपेक्षाअनुसार लिभरपुल कप्तान जोर्डन हेन्डरसन नै भए, फुटबल लेखक संघले चयन गरेको वर्षको उत्कृष्ट खेलाडी।

लिभरपुलले ३० वर्षपछि पहिलोपल्ट लिग उपाधि जितेको थियो। इंग्लिस प्रिमियर लिग जितेको त झन पहिलोपल्ट नै हाे। यस्तोमा यही टिमको कप्तान इंग्ल्यान्डमा वर्ष खेलाडी नभए, को हुने त?

इंग्लिस फुटबल पत्रकारले पनि यस्तै सोचे। लिभरपुलले यसपल्ट जितेको लिगको श्रेय जहाँ प्रशिक्षक योर्गन क्लोपलाई बढी जाने गरेको छ, त्यहीं खेलाडीमध्ये हेन्डरसन अब्बल रहे, त्यसमा शंका नै रहेन।

मैदानमा मोहम्मद सलाहको नेतृत्वमा लिभरपुलको आक्रमण गज्जब थियो अनि भिर्जिल भान डाइकले तयार पारेको रक्षापंक्तिको पर्खाल पनि कम्तीको थिएन।

त्यसमाथि गोलरक्षक एलिसनको प्रदर्शन पनि उत्तिकै उत्कृष्ट रह्यो। यी सबै तत्त्वलाई जोड्ने पनि त कोही चाहियो, हेन्डरसन यसकै उत्तर हुन्। अचेल फुटबलमा पनि कप्तानको महत्त्व बढ्न थालेको छ।

टिममा जत्तिकै राम्रो खेलाडी भए पनि तिनलाई मैदानमा एकजुट गर्ने मान्छे एकजना चाहिने रहेछ, हेन्डरसनले यही काम गरे।

खासमा हेन्डरसन सन्डरल्यान्डमा हुर्के र बढे। पछि उनलाई लिभरपुलले किनेको थियो। ती सुरुआती दिन हेन्डरसनलाई अनुबन्ध गर्ने कामको विरोध गर्ने पनि धेरै थिए।

सबैभन्दा बढी त म्यानचेस्टर युनाइटेडका सर एलेक्स फर्गुसनले नै विरोध गरे, फेरि उनलाई लिभरपुलकै बढी चिन्ता लाग्ने गर्छ। उनी भन्थे, हेन्डरसनको दौडिने शैली नै ठीक छैन। 

झन्डै झन्डै लिभरपुलका पुराना प्रशिक्षक ब्रेन्डन रोजर्सले हेन्डरसनलाई फुलहममा पठाउन लागेका थिए। तर हेन्डरसन स्वंयले यसलाई माननेन्। त्यसपछि त रोजर्स आफै बर्खास्तीमा परे र नयाँ प्रशिक्षकमा आए क्लोप।

यी जर्मन प्रशिक्षक के आए, हेन्डरसनका दिन नै फेरिए। क्लोपले हेन्डरसनलाई विश्वास गरे र बढी भूमिका दिए।

हेन्डरसनले यो विश्वासमा टिकेर राम्रो काम गरे। त्यसैले त हो, लिभरपुलले यसपल्ट इंग्लिस प्रिमियर लिग जितेको। स्टेफेन जेरार्डले छाडेयता लिभरपुलका कप्तान यिनै छन्, त्यो भनेको सन् २०१५ यता।

अहिले तत्काल उनी घाइते छन्, अबको सिजन सुरु नभएसम्म ठीक हुन सक्ने छैनन्।

त्यसो त उनलाई खेल्नु पनि छैन। तर लिभरपुलले प्रिमियर लिग उपाधि प्रदान गरिँदा ट्रफी उचाल्ने उनी नै थिए।

कसैले हिम्मत पनि गर्न सकेनन्, यो कामबाट उनलाई वञ्चित गर्ने।

गत वर्ष लिभरपुलले च्याम्पियन्स लिगको उपाधि चुम्दा पनि उनी नै थिए ट्रफी उचाल्ने।

निश्चित जस्तै छ, यी खेलाडीलाई ढिलोचाँडो लिभरपुलको लेजेन्ड मानिनेछ।

-लिभरपुलको आधिकारिक वेबसाइटमा उनीबारे लेखिएको लेखको सारसहित स्वतन्त्र अनुवाद


Leave a Reply

Your email address will not be published.