पिपरा गाउँपालिकाका विवाद : जसपाद्वारा अनिश्चितकालीन धर्ना, अध्यक्ष भन्छन्- वार्ता हुँदैन

पिपरा गाउँपालिकाका विवाद : जसपाद्वारा अनिश्चितकालीन धर्ना, अध्यक्ष भन्छन्- वार्ता हुँदैन

महोत्तरीको पिपरा गाउँपालिका कार्यालयमा जनता समाजवादी पार्टी (जसपा) ले लगाएको ताला प्रहरीले फुकाइ दिएको छ। प्रहरीले ताला फुकाइ दिएपछि जसपा कार्यकताहरू कार्यालयअघि अनिश्चितकालीन धर्ना सुरु गरेका छन्।

गाउँपालिका अध्यक्ष विक्रम चौधरी आफूहरूसँग वार्ता गर्न नचाहेको र प्रहरीले धोका दिएर ताला फुकाएको भन्दै उनीहरू अनिश्चितकालीन धर्नामा बसेका हुन्।

विभिन्न २० बुँदे माग राख्दै जसपाले गाउँपालिका कार्यालयअघि पछिल्लो पाँच दिनदेखि धर्ना दिँदै आइरहेका थिए। तर, पछिल्लो पाँच दिनमा अध्यक्ष चौधरीले वार्ताको लागि आव्हान नगरेपछि उनीहरूले शुक्रबार कार्यालयमा तालाबन्दी गरेका थिए।

स्थानीय तहको निर्वाचनमा तत्कालीन राजपाबाट अध्यक्षमा निर्वाचित विनोद चौधरीको निधन भएपछि चार महिनाअघि सम्पन्न उपनिर्वाचनमा चौधरी नेकपाबाट निर्वाचित भएका हुन्। पिपरा जसपा अध्यक्ष महन्त ठाकुरको गाउँपालिकासमेत पर्दछ। ठाकुरपनि त्यहि क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।

पिपरा गाउँपालिकाको कार्यपालिका र गाउँसभामा बहुमत भने जसपाको छ। ९ मध्ये ४ वटा वडामात्र नेकपाले जितेको छ। र, यसैलाई आधार बनाएर गाउँपालिका अध्यक्ष चौधरी जसपाको बहुमत रहेको ठाउँमा आफूले कसरी भ्रष्टाचार गर्नसक्ने बताउँदै आइरहेका छन्।

जसपाले गाउँपालिका अध्यक्ष चौधरी डीपीआर तयार पार्न, रातह वितरण, कर्मचारी भर्ना, जाडो महिनामा कम्बल, स्वेटरलगायतका सामग्री वितरणमा भ्रष्टाचार गरेको भन्दै हरहिसाब सार्वजनिक गर्न माग गरिरहेको छ। 

जसपाका पिपरा अध्यक्ष विनित पाण्डेयले गाउँपालिकामा भएको भ्रष्टाचार सार्वजनिक गर्न आफूहरूले राखेको मागप्रति अध्यक्ष चौधरीले सुनवाइ नगरेको बताउँछन्। गाउँपालिकाले सञ्चालन गरेको हरेक योजनामा व्यापक भ्रष्टाचार भएको उनको दाबी छ।

तर, अध्यक्ष चौधरी भने जसपाले लगाएको आरोप निराधार र राजनैतिक उद्देश्यले मात्र प्रेरित रहेको दाबी गर्छन्। अध्यक्ष चौधरी गाउँपालिकामा एक सुको भ्रष्टाचार नभएको र सबै थोक पारदर्शी ढंगले सञ्चालन भएको बताए।

‘कार्यपालिका र गाउँसभामा उहाँहरूकै बहुमत छ, हामी अल्पमतमा छौं,’ चौधरी भन्छन्,‘यदि भ्रष्टाचार भएको हो भने उहाँहरूको पनि संलग्नता हुनुपर्ने हो।’ कतिपय जसपा नेताको नामै किटान गरेर उनले भने, ‘७५ प्रतिशतभन्दा बढी योजनाहरू उहाँले चलाउनु भएको छ, उपभोक्ता समितिमा उहाँकै मानिसहरू हुनुहुन्छ, अनि मैले भ्रष्टाचार कहाँ र कसरी गरेँ ?’

जसपाले लकडाउनको अवधिमा राहत वितरण र पछिल्लो वर्ष जाढो महिनामा गरिब तथा विपन्नलाई न्यानो कपडा वितरणमा भ्रष्टाचार भएको भन्दै हरहिसाब सार्वजनिक गर्न माग गरिरहेको छ।

तर अध्यक्ष चौधरी वडाध्यक्षहरूले पेश्की रकम लिएर राहत वितरण  गरेको बताए। ‘राहत वितरण गाउँपालिका अध्यक्षले गरेको होइन्, वडाध्यक्षज्यूहरूले गर्नु भएको हो,’ चौधरी भन्छन्,‘पेश्की रकम लिएर सबै वडाध्यक्षहरूले राहत बाँड्नु भएको छ, राहत वितरण गर्नेमा जसपाका वडाध्यक्षज्यूहरू पनि हुनुहुन्छ। उहाँहरूले पनि भ्रष्टचार गर्नु भएको हो त ?’

आफूले केही गलत नगरेको भन्दै अध्यक्ष चौधरीले धर्नामा बसेकाहरूसँग कुनैपनि हालतमा वार्ता नगरे बताए। आलेप र मलेप भएलगत्तै गाउँपालिकाले गत आर्थिक वर्षको सबै हरहिसाब सार्वजनिक गर्ने उनले बताएका छन्।


Leave a Reply

Your email address will not be published.