ट्राफिक नियम मिच्नेमा ट्रक र टिपर अगाडि

ट्राफिक नियम मिच्नेमा ट्रक र टिपर अगाडि

प्रदेश ५ मा ट्राफिक नियम मिच्नेमा सबैभन्दा बढी ट्रक चालक भेटिएका छन्। 

प्रदेशको ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १ लाख ७० हजार ९ सय २७ सवारी साधन कारबाही परेकोमा  ट्रक र टिपर चालकले मात्रै नियम मिचेको घटना ४७ हजार २ सय ७१ वटा छ। 

त्यतिका संख्याका ट्रकलाई प्रदेश ट्राफिक प्रहरीले कारबाही गरी जरिवाना लिएको जनाएको छ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख (एसपी) डम्बर बिकले विकासको निर्माण बढेसँगै ट्रक र टिपरको चापमा वृद्धि भएको ती साधनले ट्राफिक नियम बढी उल्लंघन गरेको पाइएको बताए। 

ओभरलोड सामान ढुवानी गर्ने, तीव्र गतिमा चलाउने, उपयुक्त ठाउँमा पार्किङ नगर्ने, आफ्नो लेनमा नहिँडने जस्ता समस्या देखिएको ट्राफिक प्रमुख बिकको भनाइ छ। ट्राफिक नियम मिच्दा र दुर्घटना हुँदा गाडी साहु र आबद्ध कम्पनीले जिम्मेवारी लिने हुँदा पनि ट्रक र टिपरले ट्राफिक नियम बढी उल्लघंन गर्ने गरेको उनले बताए।

ट्राफिक प्रहरी कार्यालय बुटवलले आर्थिक वर्ष ०७६/७७ मा सवारी साधन कारबाहीबाट साढे १० करोड राजस्व संकलन गरेको छ। १२ जिल्लामा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश कार्यालयले ट्राफिक नियम मिच्ने सवारी साधनलाई कारबाही गर्दा उक्त राजस्व उठेको उक्त कार्यालयले जानकारी दिएको छ।

१२ जिल्ला र प्रदेश कार्यालय गरी १३ वटा कार्यालयले चेकजाँच गर्दा १ लाख ७० हजार ९ सय २७ सवारी साधन कारबाही परेका छन्। कारबाहीमा परेका सवारी साधनबाट १० करोड ६१ लाख ८ हजार ५ सय रुपैयाँ राजस्व उठेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ। 

प्रदेश कार्यालयले सबैभन्दा धेरै २ करोड ५७ लाख ४० हजार राजस्व संकलन गरेको छ। सबैभन्दा कम रुकुम पूर्वले ५ लाख २३ हजार ५ सय रुपैयाँ राजस्व उठाएको कार्यालयले जनाएको छ। 

त्यस्तै प्रदेश कार्यालय पछि धेरै राजस्व संकलन गर्नेमा दाङ जिल्ला छ। दाङमा २ करोड ३० लाख ७३ हजार राजस्व संकलन छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले १ करोड २९ लाख ६९ हजार, नवलपरासीले ९० हजार २८ हजार ५ सय, कपिलवस्तुले ८८ हजार ६० हजार, पाल्पाले ८३ लाख ७३ हजार ५ सय, बर्दियाले ६५ लाख २ हजार, गुल्मीले ३१ लाख ८९ हजार, अर्घाखाँचीले २९ लाख ९५ हजार, प्युठानले ३६ लाख ४८ हजार ५ सय र रोल्पाले १२ लाख १० हजार ५ सय रुपैया राजस्व संकलन गरेका छन्।

प्रदेश टाफिक प्रहरी प्रमुख डम्बर बिकका अनुसार विभिन्न वर्गका सवारी साधन ट्राफिक नियम विपरीत सञ्चालन भएका कारण कारबाहीमा परेका हुन्। 'ट्रक, बस, जिप, कार, ट्याक्टर, मोटरसाइकल, टेम्पो जस्ता सवारी साधनहरु धेरै कारबाहीमा परेका छन्,’ प्रदेश ट्राफिक प्रहरी प्रमुख बिकले भने।

प्रदेश भरमा कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा धेरै ट्रक रहेका छन्। बितेको आर्थिक वर्षमा ४७ हजार २ सय ७१ वटा ट्रक कारबाहीमा परेका थिए। १२ हजार ५७ वटा बस, १८ हजार ७ सय २९ वटा जिप÷कार, १२ हजार १ सय ८७ ट्रयाक्टर, २५ हजार ६ सय ३४ मोटरसाइकल र ३ हजार ५ सय ६३ वटा टेम्पो कारबाहीमा परेको विकले बताए।

बढी ट्राफिक नियम उल्लंघन दाङमा

प्रदेश ५ को १२ जिल्ला मध्ये प्रदेशभरमा सबैभन्दा धेरै ट्राफिक नियम मिचेर उठ्ने राजस्व दाङमा संकलन भएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रेमप्रसाद रेग्मीले दिएको जानकारीअनुसार बितेको आर्थिक वर्षमा नियमविपरीत सवारी साधन बढी कारबाहीमा परेसँगै राजस्व पनि बढी संकलन भएको हो। 

दाङमा बन्दाबन्दीको समयमा पनि १६ लाख बढी राजस्व संकलन भएको छ। कोरोना भाइरसको संक्रमण देखिएपछि नेपालमा चैत ११ गतेबाट लकडाउन भएको थियो।

त्यसयता जिल्लामा नियम विपरीत सञ्चालन भएका २ हजार ५ सय ६३ वटा सवारी साधन कारबाहीबाट १६ लाख ३० हजार ५ सय रुपैयाँ राजस्व संकन भएको प्रमुख रेग्मीले बताए। 

चैत र वैशाखमा पूर्ण बन्दाबन्दी थियो त्यति कारबाहीमा परेनन्, असारयता सवारीसाधन चलाउन केही खुकुलो भएपछि कारबाहीमा पर्न सुरु गरे प्रमुख रेग्मीले भने। असार महिनामा एम्बुलेन्स, रिजर्भ गाडीसमेत कारबाहीमा परेको उनले बताए। 

उनका अनुसार बढी भाडा असुल्ने एम्बुलेन्स, रिजर्भमा हिँडेका गाडी तथा मापसे गरेर सवारी साधन चलाउने, ओभर स्पिड चलाउनेलाई दाङको ट्राफिक प्रहरीले कारबाही गरेको छ।
 
मुख्य सहरमा चालकसँग एक मिनेट

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले प्रदेशका मुख्य सहरमा चालकसँग एक मिनेट अभियान सुरु गरेको छ। बिहीबारदेखि बुटवल, भैरहवा, नेपालगन्ज र कोहलपुरमा उक्त अभियान सुरु भएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ।

चालकसँग एक मिनेट अभियानमा चालकलाई सडकमै रोकेर एक मिनेटसम्म सडकको लेनबारे जानकारी दिने गरिएको छ। 

फराकिलो बनाइएका सडकमा सवारी चालकलाई लेनअनुसार गाडी चलाउने अभ्यास नभएको देखिएकाले सडकको लेनको विषयमा सचेतना गराउन थालिएको प्रदेश नं. ५ ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रमुख डम्बर बिकले जानकारी दिए। 

यसले गाडी चालकलाई सडकको लेनबारेमा जानकारी हुने र दुर्घटना कम हुन सहयोग पुग्ने ठानिएको उनले बताए।


Leave a Reply

Your email address will not be published.