रंगमञ्चलाई उकास्न रंगिन सपना र नवीन जोस बोकेका लोहनी

रंगमञ्चलाई उकास्न रंगिन सपना र नवीन जोस बोकेका लोहनी

जीवन रंगमञ्च होइन। तर, रंगमञ्चभित्र जीवन खोज्छु भन्नेहरूका लागि यो ठूलो प्लेटफर्म हो।

रंगमञ्चभित्रको संघर्ष त्यति सहज छैन। 

राम्रो गर्नसके नाम र दाम दुवै हुन्छ यो क्षेत्रमा। दर्शकको मनमा बसेर स्टारडम जमाउन सक्नु चानचुने भने पक्कै होइन।

कलिउडको सानै बजार भए पनि यस क्षेत्रमा लाग्नेको संख्या भने ठूलै छ।

कोही रहरले आउँछन्। कोही यसै क्षेत्रमा भविष्य खोज्ने गरी आएका हुन्छन्। 

कोही साँच्चै नेपाली चलचित्रको स्तर उकास्नका लागि केही गर्नुपर्छ भनेर आएका हुन्छन्।

रहरले मात्रै चलचित्र क्षेत्रमा टिक्न र बिक्न गाह्रो छ। यसका लागि ठूलो साधना चाहिन्छ।

त्यही साधनासाथ लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा आबद्ध निर्देशक हुन् सन्तोषबाबु लोहनी।

उनी नेपाली चलचित्रका पुराना कलाकार।

सानैदेखि यसै क्षेत्रमा केही गर्छु भन्ने हुटहुटी थियो मनमा। त्यही हुटहुटीले सधैं तानिरह्यो।

त्यसैले त लोहनी २० वर्षकै उमेरमा कलाकारिता क्षेत्रमा होमिए।

२०५२ सालमा ‘अपमान’ फिल्मबाट अभिनय यात्रामा होमिएका लोहनी त्यसयता कुनै न कुनै रूपमा नेपाली रजतपटमा सक्रिय छन्। ‘अपमान’ फिल्म नायिका विपना थापाको डेब्यु फिल्म हो। 

२०५२ सालपछि उनी म्युजिक भिडियोका साथै टेलिफिल्ममा सक्रिय रहे। पछि उनले २०६६ सालतिर नेपाल टेलिभिजनमा ‘हेलो नेपाल’ नामक कार्यक्रम चलाए। त्यो कार्यक्रम एक वर्षसम्म चल्यो। 

२०६८ सालमा नेपाल वान टेलिभिजनमा ‘कसलाई सोधँु मनका कुरा’ कार्यक्रम चलाए। उनले थुप्रै म्युजिक भिडियो, सिरियलको डाइरेक्सन गरिसकेका छन्।

अहिले उनी कलाकार बनेर पर्दामा देखिने भन्दा पनि पर्दा पछाडि रहेर समाजका लागि राम्रो चलचित्र दिने ध्याउन्नमा छन्।

२०६४ सालमा ‘नारी’ फिल्मको निर्देशन गरेका उनी त्यसपछि आफ्नो व्यापार व्यवसायका कारण फिल्म क्षेत्रमा सक्रिय हुन सकेनन्। उनी करिब दशकपछि २०७६ सालमा ‘शुभ–लभ’ फिल्म ल्याएर फेरि नेपाली चलचित्र क्षेत्रमा फर्किए।

वर्तमान अवस्थाप्रति सन्तुष्ट छैनन् लोहनी

दशकपछि फर्किंदा पनि उनी नेपाली चलचित्रको अवस्थाप्रति सन्तुष्ट छैनन्। भन्छन्, ‘नेपाली फिल्म इन्डस्ट्रिजको वर्तमान अवस्था र ट्रेनप्रति त्यति सन्तुष्ट हुनसक्ने अवस्था अझै बनिसकेको छैन।’

सानो बजारलाई नै सबैले व्यवस्थित बनाउँदै लैजानुपर्ने उनको तर्क छ।

‘हो, हाम्रो बजार सानो छ। हामी अहिले नै सन्तुष्ट हुने ठाउँमा पुगिसकेका छैनौं। धेरै मिहिनेत गर्न बाँकी नै छ,’ उनले भने, ‘टेक्नोलोजीको हिसाबमा भने हामी राम्रै स्थानमा छौं।’

दर्शक र सबै कलाकर्मी एकजुट भएर अगाडि बढे नेपाली चलचित्र उद्योग माथि उठ्नेमा उनी विश्वस्त छन्।

‘नेपाली मौलिक वस्तुलाई अन्तर्राष्ट्रिय मार्केटमा बिक्ने खालको बनाउन सके नेपाली फिल्म इन्डस्ट्रिज चाँडै माथि उठ्ने छ,’ उनी भन्छन्।

नेपाली मौलिक विषय मथेर नवीन बनाउने सके त्यो अन्तर्राष्ट्रिय बजारमा पनि राम्रोसँग बिक्न सक्ने उनी बताउँछन्। र, त उनी आफू सोही कर्ममा जुटिरहेका छन् लोहनी। ‘नयाँ प्रोजेक्ट सोहीअनुरुप अगाडि बढाउने सोचमा छु,’ उनी भन्छन्।

‘सबैलाई लगानी डुब्ने डर हुन्छ। हाम्रो बजार सानो छ। बजार ठूलो भए मन फुकाएर काम गर्न सकिने अवस्था हुन्थ्यो। सानो बजार भएकाले धेरै जोखिम मोलेर काम गर्न गाह्रो छ,’ उनले भने। त्यसैले स्टडीदेखि मेकिङसम्मको पार्ट खुम्चिने गरेको उनको अनुभव छ।

‘नयाँ पन दिन्छु भन्दै करोड लगानी हुँदा लगानी नै उठेन भने अर्को पटक मान्छे लगानी गर्न डराउँछ,’ उनले भने, ‘मार्केटकै कारणले गहिराइमा गएर फिल्म बनाउन सकिने अवस्था छैन।’

नेपाली दर्शकले बलिउड–हलिउडको स्तर हेरेर दिने प्रतिक्रियाप्रति लोहनी त्यति खुसी छैनन्। किनकि उनलाई थाहा छ, सानो बजारलाई दर्शकको साथबिना माथि उठाउन असम्भव छ।

‘बाह्य फिल्मको बजार ठूलो छ। गरेको लगानी सहजै उठाउन सक्छन्। भारतका सामान्य फिल्म ७०–८० करोडमा बन्ने गर्छ। हाम्रो एक करोडमा बन्ने फिल्मले उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्दैन। हाम्रो बजार पनि ठूलो हुन्थ्यो भने हामी पनि सोहीअनुसार लगानी गर्न सक्थ्यौं र क्वालिटी पनि त्यही दिन्थ्यौं,’ उनले मनको कुरा खोले। 

लगानी सुरक्षित नहुँदा समस्या

लगानी सुरक्षित हुने जोखिम कम भए उनी नेपाली फिल्मको स्तर निकै माथि उठ्ने ठान्छन्। त्यसका बावजुद पनि नेपाली फिल्म क्षेत्रका लगानीकर्ताले सके जति राम्रो गरिरहेको उनले सुनाए।

ठूलो लगानीमा आएको स्तरीय फिल्म पनि चल्छ भन्ने ग्यारेन्टी नभएकाले समस्या भइरहेको उनको बुझाइ छ।

‘कुनै बेला राजेश हमाल, भुवन केसी भएकै आधारमा फिल्म चल्थ्यो। पछि निखिल उप्रेती, विराज भट्टहरूको पालो आयो,’ उनले स्मरण गराए, ‘अहिले पनि कुनै अनुहार चल्यो भने हामी त्यसकै पछि लागिरहेका हुन्छौं।’ 

नयाँ अनुहार वा नयाँ कथा दिन खोज्दा बिक्छ कि बिक्दैन भन्ने डरले पनि निर्माता र निर्देशकहरूले पुरानै कथावस्तु र पुरानै कलाकार रोज्ने बाध्यता रहेको लोहनीले ठम्याइ छ।

कसरी बन्नसक्छ उत्कृष्ट फिल्म

आफ्नो काम उत्कृष्ट होस् भन्ने जोसुकैलाई लाग्ने गर्छ। त्यसैले त अधिकांश मानिस सधैं राम्रो गर्ने ध्याउन्नमा हुन्छन्।  

लोहनी पनि सधैं आफू कसरी नवीन र उत्कृष्ट कार्य गर्न सकिन्छ भन्ने सोचमा नै हुन्छन्। त्यसैले फिल्म बनाउनु भन्दा पहिले उनी कथावस्तुलाई प्राथमिकतासाथ लिन्छन्।

कथावस्तुलाई फिल्मको मेरुदण्डका रूपमा लिने उनी सुरुमा धेरै समय त्यसैमा घोत्लिने गरेको बताउँछन्। ‘कथामा दम भएन भने हामीले जतिसुकै राम्रो मेकिङ गरे पनि फिल्म चल्दैन,’ उनी भन्छन्।

त्यसपछि उनी राम्रो फिल्म बन्न पटकथा र सम्वाद राम्रो हुनुपर्ने ठान्छन्। ‘टेक्निकल टिम राम्रो भयो र स्क्रिन प्लेमा राम्रो गर्न सक्यो भने त्यो फिल्म निकै राम्रो हुन्छ,’ उनले भने।

त्यसैले त निर्देशक लोहनी कथावस्तु, मेकिङ, डाइरेक्सनलगायतका कुरामा मिहिन रूपमा ध्यान दिन्छन्। जसले गर्दा एक दशक पछि नेपाली रजतपटमा फर्किंदा पनि उनको पछिल्लो फिल्म ‘शुभलभ’ले सबैको ध्यान तानेको थियो।

कथाले मागेअनुसार भूमिका निभाउन सक्ने पात्र नभए स्टोरी मर्ने उनको बुझाइ छ। ‘कथाले मागेको लोकेसन दिन नसक्दा पनि कथा उत्कृष्ट हुँदैन,’ उनले बुझाए। 

आगामी यात्रा

सानैदेखि कलाप्रतिको मोह भएका लोहनी आफ्ना आगामी दिन यसै क्षेत्रमा बिताउने सोचमा छन्। ‘म सानोमा रहरले आएँ। यसमा डुब्दै गर्दा सके जति योगदान पुर्याउनु पर्छ भन्ने सोचमा छु,’ उनले भने, ‘अब पूर्ण रूपमा यसै क्षेत्रमा सक्रिय हुन्छु। पर्दा पछाडि रहेर नै काम गर्छु।’

दशकपछि फर्किदा उनले ‘शुभ–लभ’ चलचित्र बजारमा ल्याए। नयाँ कलाकार लिएको र दशकपछि फर्किएकाले उनले अपेक्षित सफलता हासिल गर्न सकेनन्।

नेपालमा चलचित्र हेर्न हलसम्म अपेक्षित दर्शक नपुगे पनि जति पुगे त्यतिले लोहनीलाई हौसला प्रदान गरे। फिल्म हेर्ने अधिकांशबाट उनले राम्रो प्रतिक्रिया पाए। जसले गर्दा लोहनीलाई यसै क्षेत्रमा सक्रिय हुन प्रेरणा मिल्यो।

लोहनी देशभित्र अपेक्षित सफलता हासिल गर्न नसके पनि देश बाहिर भने राम्रो व्यापार गरेको बताउँछन्। कहिलेकाही राम्रो बनाउँदा प्रदर्शन मितिदेखि अन्य प्राविधिक कुरा नमिल्दा समस्या हुने बताउँछन्। उक्त पाठ आफूले ‘शुभ–लभ’ बाट सिकेको उनको भनाइ छ।

कोरोनाका कारण लामो समयसम्म नेपाली चलचित्र क्षेत्रमा परेको प्रभावप्रति सरकार गम्भीर हुनुपर्ने उनको ठहर छ। सरकारले चलचित्रकर्मीका लागि केही राहतका प्याकेज ल्याउनुपर्ने उनको ठहर छ।

कला क्षेत्रले देशको सिंगो संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसको संरक्षणलाई सधैं राज्य जिम्मेवार हुनुपर्ने ठान्छन् लोहनी।


Leave a Reply

Your email address will not be published.