डोट्याली भाषाको लेखनको स्थिति, समस्या र सम्भावना

डोट्याली भाषाको लेखनको स्थिति, समस्या र सम्भावना

मानवीय भावना, विचार र चेतनाको सम्प्रेषण वा अभिव्यक्तिको सशक्त माध्यम भाषा हो। मानव सभ्यताको आरम्भदेखि नै विश्व मानवसमुदायले भाषिक सम्पदाको उपयोग र युगानुकूल विकास गर्दै आएको पाइन्छ। परिवेशगत सम्पूर्ण परिवर्तित आयामहरूलाई आत्मसात गर्नु भाषाको सर्वोपरि विशेषता नै हो। भाषामा सम्बन्धित जाति र समुदायको सम्पूर्ण पहिचान सुरक्षित हुन्छ। यसरी भाषाले जीवनकै प्रतिनिधित्व गर्ने भएकाले मानवसमुदायका लागि भाषा एक अनमोल सम्पदा हो।

नेपाल एक बहुभाषिक मुलुक हो। नेपालको एघारौँ जनगणना २०६८ले नेपालमा मातृभाषाका रूपमा बोलिने भाषाहरूको सङ्ख्या १२३ देखाएको छ। तीमध्ये नेपालको सुदूरपश्चिमेली भूभागको सेरोफेरोमा बोलिने जीवन्त भाषा डोट्याली (डोटेली) हो। पहिले नेपाली भाषाका भाषिकाका रूपमा मानिएका डोटेली, डडेल्धुरेली, बैतडेली, अछामी, बझाङी, बाजुरेली, दार्चुलेली, दैलेखी, जुम्ली र गढवाली भाषाहरूलाई २०६८ सालको जनगणनामा स्वतन्त्र भाषाका रूपमा समावेश गरिएको छ। डोट्याली भाषाको स्वतन्त्र पहिचान र विकास–विस्तारको अभियानमा यो एक महत्वपूर्ण उपलब्धि हो। 

डडेल्धुरेली, बैतडेली, अछामी, बझाङी, बाजुरेली, दार्चुलेली, दैलेखी, जुम्ली र गढवाली भनिएका सबै भाषाहरू डोट्याली भाषाकै भौगोलिक र सामाजिक भेद भएकाले यी भाषाका वक्ताहरू पनि डोट्यालीभाषी वक्ता नै हुन्। जनगणनाको पछिल्लो तथ्याङ्कअनुसार डोट्याली/डोटेली भाषाका वक्ताहरूको सङ्ख्या ७,८७,८२७ रहेको छ । 

डोट्याली भाषाको प्रभावक्षेत्र सुदूरपश्चिमदेखि कर्णालीसम्मको सेरोफेरोमा फैलिएको र यहाँको मुख्य भाषा नै डोट्याली भएको हुँदा डोट्यालीभाषी वक्ताको सङ्ख्या हालको तथ्याङ्कभन्दा कैयौँ गुना बढी हुने सहजै अनुमान गर्न सकिन्छ। अतः उक्त तथ्याङ्क सङ्कलन त्रुटिपूर्ण रहेको हुँदा नेपाल सरकारले आगामी दिनमा सत्यतथ्यमा ध्यान पुर्‍याउनु आवश्यक छ।

विगत लामो समयसम्म डोट्याली एक भाषा हो या भाषिका ? भन्ने मतसम्बन्धी विवाद शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा रहेको भए पनि पछिल्ला दिनहरूमा यो विषय क्रमशः स्पष्ट हुँदै गएको छ। डोट्याली भाषाको प्रयोग कथ्य तथा लेख्य दुवै रूपमा हुनु र यो क्रम दिनप्रतिदिन मौलाउँदै जानुले आफैँमा डोट्याली भाषिका नभई भाषा हो भन्ने कुरा स्थापित भएको छ। यस सन्दर्भमा डोट्याली भाषा आफ्नै भौगोलिक–सामाजिक भेदको विवादबाट पूर्णतः मुक्त भने हुनसकेको देखिँदैन।  

पश्चिम नेपालको डोट्याली समुदायमा सञ्चालन गरिएको सामाजिक भाषिक अनुसन्धानमा नेपालका भाषिक सर्वेक्षण (लिन्सुन)को प्राप्त परिणामहरूको प्रतिवेदनमा डोट्याली एक स्वतन्त्र भाषा भएको र उच्च बोधगम्यताका आधारमा यसका चारओटा भाषिकाहरू पहिचान भएको कुरा उल्लेख भएको छ। 

उक्त प्रतिवेदनको सारांशमा भनिएको छ– ‘यो पश्चिम नेपालको डोट्याली समुदायमा सञ्चालन गरिएको सामाजिक भाषिक अनुसन्धानमा प्राप्त परिणामहरूको प्रतिवेदन हो। हालैको आइएसओको छनोटमा डोट्यालीलाई एक स्वतन्त्र भाषाको रूपमा राखेको हुँदा, यस क्षेत्रमा विभिन्न विकास सङ्गठनहरूको उपस्थिति औ नेपालका भाषिक सर्वेक्षण (लिन्सुन)को समग्र लक्ष्यहरू, आधारभूत सामाजिक भाषिक जानकारीहरूको खोजी गरिएको थियो। 

यस अनुसन्धानको प्रारम्भिक लक्ष्य डोट्यालीका भाषिकाहरूको राम्रोभन्दा राम्रो बुझाइ तथा ती भाषिकाहरूबीचको बोधगम्यताको तह थाहा पाउनु थियो। विशेषतः यस अनुसन्धानले भाषामा आधारित सामग्रीहरू प्रयोगमा ल्याउनका लागि, क्षमता निर्धारण गर्न डोटी जिल्ला र अन्य जिल्लाका डोट्यालीभाषीबीचमा बोलिने डोट्यालीको बोधगम्यताको स्तर प्रस्ट पार्न खोजेको हो। सामाजिक भाषिक स्थितिको समग्रतामा नक्सा सुनिश्चित गर्नका निम्ति भाषागत प्रवृत्ति, जातीय–भाषिक पहिचान औ भाषिक सजीवताहरू यस अध्ययनमा समावेश गरिएको थियो।

यस अनुसन्धानले  डोट्यालीका प्रमुख चारओटा भाषिकाहरूको पहिचान गरेको छ र यी भाषिकाबीचको बोधगम्यता उच्च छ भनी स्थापित गरेको छ। यस अनुसन्धानका प्राप्तिहरूले बलियो भाषिक सजीवताको सङ्केत दिन्छ। सबै डोट्याली भाषिकाहरू एकअर्काका भाषामा आधारित सामग्रीहरू प्रयोगमा ल्याउन सक्छन् भन्ने हाम्रो आशय हो।’ (चटौत : २०७१)।

भाषिक इतिहासका पानामा नेपाली भाषाकै भाषिकाका रूपमा पहिचान रहिआएको डोट्याली भाषालाई कोशकार आर.डी.प्रभास चटौतद्वारा गरिएको दाबी र अनुरोधका आधारमा सन् २०१२मा नेपालको एक स्वतन्त्र भाषाका रूपमा आइएसओ मान्यता प्राप्त भएको देखिन्छ, जसअनुसार डोट्याली भाषाको आइएसओ कोड ६३९–३ मतथ। रहेको छ।  

'In 2012, Dotyali was reclassified by the Ethnologue as a distinct language of Nepal and assigned the ISO code 639–3 dty. This reclassification occurred after an ISO request for change was submitted by R.D. Prabhas Chataut, a speaker and lexicographer of Dotyali. r6f}t M @)&!_. (चटौत : २०७१)।

डोट्याली भाषाको उत्पत्ति र विकासक्रमलाई हेर्ने हो भने भारोपेली परिवारको आर्यली–इरानेली शाखाको आर्यली उपशाखाबाट विकसित भएको संस्कृत–प्राकृत–अपभ्रंश हुँदै डोट्याली भाषा जन्मिएको हो। पहाडी खस भाषाको पहिचान बनाएको तत्कालीन सिञ्जाली तथा सुदूरपश्चिम प्रदेशमा प्रचलित डोट्याली भाषाको विकसित रूप नै आजको समृद्ध नेपाली भाषा हो। खसान क्षेत्रमा भने पुरानै खस भाषा र सुदूरपश्चिममा डोट्याली भाषाको प्रभाव अद्यापि कायम रहेको छ। 

प्राचीन डोटी राज्यका तत्कालीन राजाहरूद्वारा जारी गरिएका, शिलालेख, ताम्रपत्र, दानपत्र आदि अभिलेखहरूमा सुरक्षित भाषिकस्वरूप नै प्राथमिककालीन डोट्याली भाषाका लेख्य प्रमाण हुन्। डोटीका राजा निरयपालको ताम्रपत्रको ‘ॐ स्वस्ति श्री शाके १२३४ संवत् १३६९…’ (चटौत : २०७१) को मूलपाठमा लिखित भाषालाई प्रमाण मानेर यसैलाई डोट्याली भाषाको हालसम्म प्राप्त प्रथम अभिलेख मान्न सकिन्छ। 

डोट्याली लोकसांस्कृतिक परम्पराका अनमोल धरोहरका रूपमा कथ्य तथा लेख्यरूपमा लोकप्रचलित फाग, सगुन, माङल, चैत, धमारी, भारत, होरी गीत, भैना, चैतोलो, डेउडा, बातैहरूमा प्रयुक्त भाषाले पनि प्राथमिककालीन डोट्याली भाषाकै बृहत् प्रतिनिधित्त्व गरेको देखिन्छ। यी डोट्याली भाषाका अमूल्य सम्पदा हुन्। डोट्याली भाषाको पुरानो साहित्य र प्रतिभाका बारेमा डोट्याली भाषा–संस्कृतिका अध्येता वासुदेव पाण्डेयका अनुसार– ‘एक हजार वर्ष जति डोट्याली भाषा राजभाषाका रूपमा रह्यो। गण्डकीदेखि गङ्गासम्म यस भाषाका पुराना प्रमाणहरू छरिएर रहेको अवस्थामा फेला पर्दछन्’  (गोरखापत्र, डो.भाषा पृ : चैत्र, २०७५)। पाण्डेयका अनुसार डोट्याली भाषाका पुराना कवि, गीतकार तथा लेखकहरूमध्ये बाजुराका लोककवि रत्नाकर पण्डितले– 
डोटी राम्डो डँडेल्धुरा अछाम राम्डो साँफ्या। 
मान्छ्या राम्डो मन मिल्याको पन्छी राम्डो डाँफ्या।।  

भन्ने गीतलगायत उत्कृष्ट साहित्य रचेका थिए। पुराना कवि कुमाउँका गुमानी पन्तले रचना गरेको निम्न कवितामा पनि डोट्याली भाषाको सङ्लो स्वरूप फेला पर्दछ : 
दिनदिन खजनाका भारिका बोकनाले,
शिव ! शिव ! चुलिमैका बाल नै एक कैका।
तदपि मुलुक तेरो छोडि कोही न भाज्या,
इति बदति गुमानी धन्य गोर्खालि राजा।। 

साहित्यकार पहलमानसिंह स्वाँरका कविताहरूमा पनि फाट्टफुट्ट डोट्याली भाषाको प्रयोग देखापर्दछ। त्यसपछि कवि एन.डी. ‘प्रकाश’ चटौत डोट्याली भाषामा कविता सिर्जना गर्ने महान् कविका रूपमा देखिन्छन्। ‘एन.डी. ‘प्रकाश’को बेजोड कवित्वको आलोक डोट्याली भाषाका कविताहरूमा अझ बढी प्रकाशित भएको पाइन्छ। यिनै डोट्याली भाषामा उनिएका साहित्येतिहासका बीज बन्न सफल उनका कविताहरूको मूल्याङ्कन सन्दर्भलाई समसामयिक डोट्याली भाषाको विकास आन्दोलनसँग जोडेर हेर्नु उपयुक्त हुन्छ’ (भण्डारी : २०६८)। ‘रचना–प्रकाश’मा प्रकाशित ‘जुगा’ शीर्षकको एन.डी.को निम्न कवितांशले सामाजिक वर्गीय विभेदका विरुद्धमा युगीन चेतनाको राँको यसरी सल्काएको छ :          
तम् खणन्छौ, तम् गोडन्छौ, नेल्लछौ काट्टछौ। 
चुटि, कुटि पिसिबर खान् क्याकि छाड्डछौ।। 
मुल्यामुल्लि सब् तमराइ मद्दान भोगले। 
सीरन्छ हल्लैन हल्लो उइखान्छ मोजले।। (भण्डारी : २०६८)।

 
स्व. एन. डी ‘प्रकाश’ का सिर्जनाहरूलाई संरक्षण र संवर्धन गर्ने उद्देश्यका साथ ‘चटौत एन्.डी. ‘प्रकाश’का कालजयी कविताहरू’ (२०५१) नामक कृति आर.डी प्रभासले सम्पादन गरी प्रकाशन गरेका छन् भने चटौत एन. डी ‘प्रकाश’को अर्को कृति ‘रचनाप्रकाश’ (२०५४) आर.डी प्रभास र डा. बी.डी चटौतले सम्पादन गरी प्रकाशित गरेका छन्। यसैगरी एन. डी ‘प्रकाश’कै सम्मान र सम्झनामा ‘जागरणका सारथि एन्.डी. ‘प्रकाश’ चटौत’ नामक स्मृतिग्रन्थ ‘एन्.डी. ‘प्रकाश’ चटौत स्मृति प्रतिष्ठान, महेन्द्रनगर’ले प्रकाशनमा ल्याएको छ।

ज्योतिर्विद् विश्वेश्वर चटौतको डोट्याली भाषामा विरह र शृङ्गारले आप्लावित ‘बाह्रमासे’ (१२ महिनाको ऋतु वर्णन) वि.सं १९५९ को पाण्डुलिपि (सुपुत्र साहित्यकार आर.डी. प्रभास चटौतसँग रहेको) हालसम्म अप्रकाशित अवस्थामा सुरक्षित रहेको छ। अनेक किसिमका रोग–दोषहरूको निवारणका निमित्त मन्त्र–तन्त्र र पुरानो वेदाङ्ग भनी डोट्याली भाषामा लेखिएका विश्वेश्वरका हस्तलिखित अन्य अभिलेखहरू पनि प्राप्त भएका छन्। उनका त्यस्ता अभिलेखहरूमध्ये डोट्याली भाषाका शब्दहरूको बाहुल्य भएको ७/८ मिटर लामो अनौठो हस्तलिखित चिठीसमेत चटौतका घरमा फेला परेको छ। 

गुगलमा हालसम्म प्राप्त नतिजाहरूलाई हेरिल्याउँदा एकै व्यक्तिद्वारा लेखिएको उक्त चिठी विश्वकै लामो प्रमाणित हुनसक्ने अनुमान गर्न सकिन्छ। यी सबै तथ्यका आधारमा ज्योतिर्विद् विश्वेश्वर चटौत डोट्याली भाषाका साधक व्यक्तित्वका रूपमा देखापर्दछन्। ती सामग्रीहरूलाई यथाशीघ्र प्रकाशनमा ल्याउन सकेमा डोट्याली भाषाको इतिहासको अध्ययन–अनुसन्धानमा थप योगदान पुग्ने विश्वास लिइएको छ। 

‘डोट्याली बृहत् शब्दकोश’का कोशकार आर.डी. प्रभास चटौत डोट्याली भाषाका बहुआयामिक प्रतिभाका रूपमा देखापरेका छन्। उनको अथक साधनाले डोट्याली भाषाले विशद् उपहारका रूपमा शब्दकोश प्राप्त गरेको छ।  वि.सं. २०५८मा प्रकाशित उक्त ‘डोट्याली बृहत् शब्दकोश’का बारेमा सन् २०१६ मा ओभियडो युनिभर्सिटी, स्पेनका भाषावैज्ञानिक जोन लाजोले आफ्नो विद्यावारिधि तहको अनुसन्धानका लागि कोशकार आर.डी. प्रभास चटौतलाई पत्राचार गरी माग गरेअनुसार शब्दकोश पठाइएको थियो। 

‘डोट्याली बृहत् शब्दकोश’लाई डा. देवीप्रसाद ओझाले ‘यस कालको सबैभन्दा महत्वपूर्ण उपलब्धि मानेका छन् भने राष्ट्रकवि माधव घिमिरेले यसलाई विश्वकोश नै भनेका छन्। यस शब्दकोशमा चालिस हजारभन्दा बढी प्रविष्टि, प्रायः उदाहरणमा प्रविष्टिसँगै डोट्याली उखानटुक्का, लोकगीत, फाग, सगुन तथा संस्कृतिजन्य अन्य जानकारीहरू समावेश गरिएको पाइन्छ। साथै, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘सुदूरपश्चिमाञ्चल व्यवहार’ (२०६४) मा पनि डोट्याली लोकप्रचलन, संस्कृति र भाषासम्बन्धी अनेक जानकारीहरू पाइन्छन्। ‘कालो सूज्र्य’ (भरत जङ्गमको सामाजिक उपन्यासः डोट्याली भाषामा अनुदित), ‘डोट्याली हाइकु सङ्ग्रह’ र ‘बेजोड स्वाद’ (२०७६), डोट्याली कविता सङ्ग्रह पनि भाषा तथा साहित्यसेवी आर.डी. प्रभास चटौतद्वारा सिर्जित अमूल्य कृतिहरू हुन्। 

लेखकद्वय आर.डी. प्रभास/राजलक्ष्मीको ‘बेलाको बोली बखतको इतिहास’ (२०७०) अर्को महत्वपूर्ण दस्तावेज हो, जसको प्रकाशक संस्था, नई प्रकाशन काठमाडौँ रहेको छ। उक्त पुस्तकमा सङ्कलन प्रकाशन गरिएका अभिलेखहरू जस्तैः ताम्रपत्र, दानपत्र, प्राचीन आदेशपत्र, सम्झौतापत्र, अहदनामा, इस्तिहार, सनद, मालपोतसम्बन्धी कागजात, बिन्तीपत्र, भरभर्पाई, चिठी, तमसुक आदिमा प्रयुक्त डोट्याली भाषा पनि अध्ययनका दृष्टिले महत्वपूर्ण रहेको छ।  

इतिहास विषयक उक्त पुस्तकको पृष्ठ २३५देखि रहेको लघु–शब्दकोश र अनुसन्धानात्मक वंशावलीहरूमा प्रयुक्त डोट्याली भाषालाई पनि हेर्न सकिन्छ। साझा प्रकाशनद्वारा प्रकाशित प्रभास/राजलक्ष्मीका ‘डोट्याली उखान–टुक्का सङ्ग्रह’ (२०७५) र प्रकाशोन्मुख ‘सुन्दर सुदूरपश्चिमेली लोकगीत सङ्ग्रह’समेत उल्लेखनीय छन्।

लोकसाहित्यका अनुसन्धाता तथा साहित्यकार देवकान्त पन्त, ‘बेलु’ महाकाव्यका कवि भक्तबहादुर बलायर र बझाङका कवि ज्योतिप्रकाश जोशीले पनि कविता विधामै कलम चलाएका छन्। कवि पूर्णानन्द भट्ट, भालचन्द्र भण्डारी, मनिराज जोशी, निर्मलकुमार भण्डारी, रामलाल जोशी, डा. पुष्करराज भट्ट, वीरबहादुर चन्द, डा. बद्री शर्मा विनाडी, वासुदेव भाइसाब, दिव्येश्वरी जोशी, पार्वती भट्ट, नेत्र पनेरू, आत्माराम ओझा, हेमन्त ‘विवश’, हरिकृष्ण कडायत, रोहित भट्ट, प्रकाश ‘क्षितिज’, पद्मराज जोशी ‘प्रभात’, टी.एन. जोशी, डोटेली कान्छा, जी.एस.ऐर, दीप आर, यज्ञराज ‘यात्री’, वासुदेव पाण्डेय, सुभाषचन्द्र भण्डारी, राजेन्द्र तारकिणी, दीपसागर ‘प्यासी’, हीरा भट्ट, एन.के.जोशी, अमरबहादुर शाही, यज्ञराज जोशी, तीर्थराज भट्ट, तोयनाथ भट्ट, पुष्पराज जोशी, सुभाष ‘सङ्कल्प’ भण्डारी, टोपेन्द्र शाह ‘रसिक’, नवराज ओझा, हर्षराज भट्ट, कविराज भट्ट ‘विलौना’, मीन बाब्ली मिलन,  लेखराज जोशी, धर्मराज जोशी, गोदावरी पाण्डेय आदिका लेख रचनाले समकालीन डोट्याली भाषा, साहित्यलाई गोडमेल गर्दै विकासको गति प्रदान गरिरहेको देखिन्छ। 

वि.सं. २०२३ मा कवि भालचन्द्र भण्डारीले डोट्याली भाषामै ‘मखमलकी झक्क’ शीर्षकको गीत लेखेर साहित्यिक यात्राकै थालनी गरेका थिए (भण्डारी : सेतीको सुसेली, २०७५)। उनको ‘रोपाइँ गीत’ पनि गोरखापत्रमा प्रकाशित भएको छ। डोटेली भाषामा कलम चलाउने लेखक/सर्जक तथा कृतिहरूका बारेमा खोज–अन्वेषण एवम् अध्ययन–विश्लेषण गर्ने परम्पराको जग बलियो भई नसकेको हुँदा यसतर्फ सम्बद्ध सबैको ध्यान जानु जरुरी छ।

वर्तमानमा डोट्याली भाषाको साहित्यिक प्रयोगमा आएको विकास विस्तारले यस भाषाको स्वर्णिम भविष्यको सङ्केत गर्दछ। नेपाली भाषा–साहित्यको उत्तरआधुनिक प्रयोग–कल्पका रूपमा डोट्यालीका सामाजिक, सांस्कृतिक र भाषिक आञ्चलिकताको प्रयोगले पनि चर्चा पाइरहेको देखिन्छ। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव– २०७६ मा डोटीका कवि सुभाषचन्द्र भण्डारीले ‘किनाराका अलिखित संवेगहरू’ कवितामा यस किसिमको प्रयोग गरेका छन्। उक्त कविताले प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरेको छ। तलका पद्यांशमा रेखाङ्कित शब्दहरू डोट्याली भाषाका ठेट शब्द हुन्; जसको प्रयोग कविले नेपाली कवितामा सशक्त ढङ्गले गरेका छन्। यहाँ नेपाली भाषाले डोट्याली भाषाबाट आगन्तुक शब्दहरू प्राप्त गरेको बुझ्न सकिन्छ। यो डोट्याली भाषाको विशिष्ट सामथ्र्य पनि हो।

कर्खा कोट र कोतका समयका कल्पान्त गाथाहरू–
हुड्कामा विरुदावली पयरमा छन् घाउ–टाँकाहरू !
फाटेको इतिहासको छ पगडी कर्नाल भोकै बजे,
पैताला रगताम्य माथ–तनमा रङ्गीन धाजा सजे !
          –।१।–
पैकेला झगुला र खाँक्कर तिनै लोकोक्तिका आँखर,
पुर्खाका पदचाप कोरस कला संस्कारका पाहुर !
सारा वस्त्र सिलाउने ‘बलबिरे’ निर्वस्त्र आफैँ किन ?
ढाल्ने शस्त्र सुवीर ‘जग्गु तिरुवा’ सन्त्रस्त काँप्ने किन ?
         –।२।–

(‘किनाराका अलिखित संवेगहरू’ : कवि सुभाषचन्द्र भण्डारी)

कवि सुभाषचन्द्र भण्डारीको डोट्याली भाषाको ‘पहाडकी सौँराइ’ शीर्षकको कविता सुदूर पश्चिमाञ्चल साहित्य समाज धनगढीले प्रकाशन गरेको ‘सुरभि’ नामक पत्रिकामा प्रकाशित छ भने ‘सहिदौ ! तम् भया घाम रे शत्रु भ्यो बादलु’ शीर्षकको कविता डोटेली समाज, काठमाडौँले प्रकाशन गरेको ‘देवाटवी’ (अङ्क–६, २०६७, वैशाख) मा प्रकाशित छ।  देश र जनताको लागि सहिदले गरेको बलिदानको स्मरण गर्दै लेखिएको स्रग्विणी छन्दको उक्त कविताको एक श्लोक यहाँ साभार गरिएको छ :
सेट सौकारका मन्पडी जिद्द थे 
टीठ के मान्न थे गादिमी गिद्द थे 
औलकी प्याउली लेक सिर्पा बलु
तम् भया घाम रे शत्रु भ्यो बादलु।

(‘‘सहिदौ ! तम् भया घाम रे शत्रु भ्यो बादलु’ : कवि सुभाषचन्द्र भण्डारी)

विभिन्न विश्वविद्यालयहरूमा डोट्याली लोकसाहित्यका विभिन्न आयामहरूमा भएका र भइरहेका औपचारिक शैक्षिक अनुसन्धानबाट पनि क्रमशः डोट्याली भाषाको लिखित अभिलेखीकरण भइरहेको छ। यस किसिमका अनुसन्धानमा प्रा.डा. जयराज पन्तको उच्च योगदान रहेको छ। ‘अँजुलीभरि सगुन पोल्टाभरि फाग’ जयराज पन्तको सर्वचर्चित पुस्तक पनि हो। उनले डोटेली पार्विक फागहरूको सङ्कलन र अध्ययन गरेको पाइन्छ। 

डा. बद्री शर्मा विनाडीले डोट्याली भाषाका केही महत्वपूर्ण शब्दहरू सङ्कलन गरी सानो आकारमा शब्दकोश प्रकाशन गरेका छन् भने डोट्याली भाषाका अर्का विज्ञ अनुरागी नेत्र पनेरूले ‘डोट्याली भाषाका घटकहरू’को अध्ययनमा रुचि राखेर व्याकरणिक लेखन गरेको पाइन्छ। यसैगरी डोटेली उखानटुक्काहरूको सङ्कलन र प्रकाशनका सन्दर्भमा अन्वेषक दिव्येश्वरी जोशी र साहित्यकार गणेशराज जोशीले उल्लेखनीय काम गरिरहेका छन्। लोकगायक नन्दकृष्ण जोशी, यज्ञराज उपाध्याय, भोजराज भट्ट, चाँदनी मल्ल, डोटेली कान्छालगायतका डेउडा गीतका धेरै गितेरू–गायक र स्रष्टाहरूले पनि यस भेगको भाषिक उन्नयनमा महत्वपूर्ण योगदान पु-याएको कुरा उल्लेखनीय छ। 

अतः उल्लिखित स्रष्टाहरूका सिर्जनाबाट डोट्याली भाषाको बगैँचामा आज गीत, गजल, कविता, कथा, उपन्यास र अन्य लेख रचनाहरू पल्लवित भइरहेका देखिन्छन्। समकालीन रचनाहरूले डोट्याली लोकजीवनका मर्म र माधुरीहरूलाई नै मुखरित गर्नुका साथै सामाजिक सङ्गति र विसङ्तिको आँखीझ्यालका रूपमा प्रस्तुत भएका छन्।  

आमसञ्चारका क्षेत्रमा आएको सुलभता र सहजताले समग्र भाषिक क्षेत्रलाई प्रभाव पारिरहेको कुरालाई नकार्न सकिँदैन। यसै सन्दर्भमा सुभाष ‘सङ्कल्प’ भण्डारीलगायतका केही डोट्याली भाषाका अनुरागी अभियन्ताहरूले सामाजिक सञ्जालको प्रयोगका माध्यमबाट डोट्याली भाषाको लेखन–संवादलाई सार्वजनिक सरोकारको विषय बनाई संवाद र बहस गरिरहेको पाइन्छ। अतः वर्तमानमा डोट्याली भाषा पनि प्रविधिसापेक्ष भएर समुत्थानको गतिलाई पक्रेर दगुरिरहेको आभास हुन्छ।

डोट्याली भाषामा पत्रपत्रिकाको प्रकाशन तथा रेडियो–टेलिभिजनबाट प्रसारणको स्थिति पनि सन्तोषजनक रहेको छ। वि.सं २०५७ देखि रेडियो नेपालको सुर्खेत तथा दिपायल प्रसारण केन्द्रबाट ‘डोट्याली भाषामा समाचार’, डेउडा गीतको कार्यक्रम ‘हजारी माला’ र समसामयिक सन्दर्भको कार्यक्रम ‘सेरोफेरो’ सञ्चालन र सम्प्रेषण भएपछि सुदूरपश्चिम क्षेत्रमा भाषिक जागरण तथा यसको लोकप्रियता बढ्नुका साथै भाषिक प्रयोगमा नयाँ तरङ्ग आएको देखिन्छ। 

यस सन्दर्भमा उक्त कार्यक्रमका प्रथम प्रस्तोता मुकुन्द भण्डारी, धीरेन्द्र चटौत र ओम जोशीलगायतका सञ्चारकर्मीहरूको प्रयासलाई बिर्सन मिल्दैन। महेन्द्रनगरबाट डोट्याली भाषाको पत्रिका ‘गुगुल्टी’ र धनगढीबाट ‘सुदूर चिनारी’ प्रकाशन हुँदै आएका छन्। यसै गरी ‘प्याउली’ 'घुगुती’, ‘स्वराई’ र रामराज्य जस्ता पत्रपत्रिकाहरू पनि यसै भाषामा प्रकाशन भएका छन्। सरकारी स्तरबाट प्रकाशन हुने ‘गोरखापत्र’ राष्ट्रिय दैनिकले डोट्याली भाषाको पृष्ठ संयोजन गरी प्रकाशन गर्नुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यस भाषाले पहिचान कायम गर्नुका साथै डोट्याली भाषाका लेखक तथा साहित्यकारहरूलाई प्रोत्साहन मिलेको अनुभव गरिएको छ। डा. पुष्करराज भट्टले ‘गोरखापत्र’को डोट्याली भाषाको पृष्ठ संयोजक भएर महत्वपूर्ण कार्यसम्पादन गरेका छन्। 

यसैगरी पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा विभिन्न एफएमहरूले विभिन्न किसिमका रेडियो कार्यक्रमहरू प्रसारण गरिरहेका छन्। देशमा सङ्घीयतासहितको लोकतन्त्रको स्थापनापश्चात् मातृभाषाको संरक्षण र विकास–विस्तारमा सरकारी तबरबाट योगदान पु-याउने उद्देश्यका साथ स्थापित राष्ट्रिय भाषा आयोग तथा नेपाल प्रज्ञा प्रतिष्ठानका गतिविधिमार्फत डोट्याली भाषाको समुत्थानमा अझ बढी टेवा पुग्न जाने अपेक्षा गर्न सकिन्छ।

राष्ट्रभाषा नेपालीले आत्मसात् गरेको देवनागरी लिपिको विकास मूलतः संस्कृत भाषाको सापेक्षतामा विकसित हुँदै आएको छ। देवनागरी लिपिका स्वर तथा व्यञ्जनवर्णहरूलाई नै नेपाली भाषाको जननी मानिने डोट्याली भाषाले पनि सहजै आत्मसात गर्दै आएको छ। उक्त लिपिको उपलब्धताकै कारणले कम्प्युटरमा प्रयोग गरिने फन्टहरू र युनिकोडले टङ्कणमा पनि सहयोग गरेको छ। डोट्याली भाषाले हिन्दी, नेपाली र अङ्ग्रेजी भाषाका कतिपय शब्दलाई आगन्तुकरूपमा सहजै आत्मसात गरेको पाइन्छ। मौलिक तथा ठेट शब्दहरूको भने बाहुल्य देखिन्छ।   

सुदूरपश्चिम प्रदेशको मुख्य भाषा र सरकारी कामकाजको भाषाका रूपमा डोट्याली भाषाको स्थान सुरक्षित गर्नका लागि पहल हुनु आवश्यक छ। ‘सुदूरपश्चिम प्रदेशमा डोट्याली भाषा अग्रस्थानमा छ। यस प्रदेशमा सरकारी कामकाजको पहिलो र पक्का दाबेदार भाषा डोट्याली हो’ (रेग्मी : कान्तिपुर २०७५, मङ्सिर २३)।

नयाँ शिक्षा ऐनले व्यवस्था गरेअनुरूप स्थानीय सरकारलाई स्थानीय भाषामा विद्यालय तहको पाठयक्रम तथा पाठ्यपुस्तक निर्माण गर्ने अधिकार प्रत्यायोजन भइसकेको सन्दर्भमा सुदूरपश्चिम प्रदेशभित्रका स्थानीय सरकारहरूले डोट्याली भाषामा पाठयक्रम तथा पाठ्यपुस्तक निर्माण गरी अध्ययन अध्यापन गर्न ढिलाइ गर्नुहुँदैन। कनै पनि भाषालाई सरकारी कामकाज वा शैक्षिक प्रयोजनका लागि माध्यमका रूपमा प्रयोग गर्नका लागि उक्त भाषाको उपयुक्त विकास भएको हुनु जरुरी छ। 

सामाजिक तथा भौगोलिक भेदहरू धेरै भएकाले डोट्याली भाषाको मानकीकरण तथा व्याकरणमा एकरूपता ल्याउन भाषावैज्ञानिक अध्ययन–अनुसन्धानको खाँचो देखिन्छ। डोट्याली भाषाको संरक्षण र संवर्धनबिना सुदूरपश्चिमको समग्र प्राग्तिहासिक मौलिक संस्कृति र विराट् जीवनशैलीसमेतको संरक्षण हुन सक्दैन। तसर्थ, डोट्यालीभाषी आम नागरिकहरूले आफ्नो मौलिक पहिचानसहितको बृहत् समृद्धिका लागि समयमै सचेत भएर भाषिक अधिकारको उपयोग र रक्षा गर्नु अहिलेको समयको माग हो। भाषिक विकासको यस अभियानबाट विश्वसमुदायले ज्ञान–विज्ञानका क्षेत्रमा नौलो मार्गदर्शनको आलोक प्राप्त गर्ने छ भन्ने आशा सँगाल्न सकिन्छ।

सन्दर्भ सामग्री सूची

चटौत एन्.डी. प्रकाश, (२०५१), ‘चटौत एन्.डी.प्रकाशका कालजयी कविताहरू’,  सम्पा. आर.डी प्रभास। 
चटौत एन्.डी. प्रकाश, (२०५४), ‘रचनाप्रकाश’, सम्पा. आर.डी प्रभास, डा.बी.डी चटौत।
चटौत, आर.डी. प्रभास (२०५८), ‘डोट्याली बृहत् शब्दकोश’, काठमाडौं, बेलु विश्व स्मृति प्रतिष्ठान।
चटौत, आर.डी. प्रभास, (२०६४) ‘कालो सूज्र्य’ (भरत जङ्गमको सामाजिक उपन्यास : डोट्याली भाषामा अनुदित), काठमाडौँ, नेपाली 
आवाज प्रकाशन प्राइभेट लिमिटेड।
चटौत, आर.डी.प्रभास (२०७१), श्रीमद्भगवत्गीता, प्रभासगीता महाकाव्यको महनीय अंश (द्वितीय पुष्प), नयाँ बानेश्वर, आगम प्रकाशन। 
पाण्डेय, वासुदेव, (चैत्र, २०७५), ‘अन्तर्वार्ता’, डोट्याली भाषाको पृष्ठ, गोरखापत्र, काठमाडौं, गोरखापत्र संस्थान।
चटौत, आर.डी. प्रभास/राजलक्ष्मी (२०७०), ‘बेलाको बोली बखतको इतिहास’ काठमाडौं, नई प्रकाशन।
चटौत, आर.डी. प्रभास/राजलक्ष्मी (२०७५), ‘डोट्याली उखान–टुक्का सङ्ग्रह’ ललितपुर, साझा प्रकाशन।
भण्डारी, सुभाषचन्द्र, (२०६८), ‘डोटेली भाषाको प्रसङ्ग : काव्य सिर्जनामा एन्.डी. प्रकाश…’ ‘जागरणका सारथि एन्.डी. ‘प्रकाश’ चटौत’, 
एन्.डी. ‘प्रकाश’ चटौत स्मृति प्रतिष्ठान, महेन्द्रनगर, कञ्चनपुर।
‘देवाटवी’ (अङ्क–६, २०६७, वैशाख) ‘सहिदौ ! तम् भया घाम रे शत्रु भ्यो बादलु’ काठमाडौं, डोटेली समाज।
भण्डारी, यज्ञराज (२०७५), ‘कवि भालचन्द्र भण्डारीको जीवनी तथा काव्ययात्रा’, सेतीको सुसेली, धनगढी, कैलाली बहुमुखी क्याम्पस। 
रेग्मी, दानराज (चैत्र १८, २०७५), ‘कामकाजी भाषा कसलाई मान्ने’, कान्तिपुर, राष्ट्रिय दैनिक, काठमाडौं।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंको भाषा तथा मातृभाषा विभाग, भाषा आयोग तथा अक्षर सदनद्वारा वि. सं. २०७६ असार १२ गते आयोजित ‘नेपालका केही मुख्य भाषाहरूको लेखनको स्थिति, समस्या र सम्भावना’ विषयक दुई दिने राष्ट्रिय अक्षर गोष्ठीको प्राज्ञिक सत्रमा आर.डी.‘प्रभास’ चटौत र सुभाषचन्द्र भण्डारीले प्रस्तुत गरेको कार्यपत्र :


Leave a Reply

Your email address will not be published.