पाेखरा विश्वविद्यालयका ३५ हजार विद्यार्थीको भविष्य अन्योल

पाेखरा विश्वविद्यालयका ३५ हजार विद्यार्थीको भविष्य अन्योल

पोखरा विश्वविद्यालयमा अध्ययनरत सृष्टि जोशीको अहिले ब्याचलर चौथो सेमेस्टरको आधा पढाइ सकिनुपर्ने थियो। तर उनी तेस्रो सेमेस्टरमा छिन्। 

‘मैले तेस्रो सेमेस्टरको परीक्षा दिएर चौंथो वर्षको आधा कोर्स पढिसक्नुपर्ने थियो। तर अहिलेसम्म केही भएको छैन,’ कम्प्युटर इन्जिनियरिङ पढ्ने उनले भनिन्, ‘होला, महामारी आएर रोकियो। तर अनलाइन क्लास भइदिएको भए सहज हुन्थ्यो। जिन्दगीको एक/एक मिनेटको हिसाब हुन्छ, हाम्रो त एक वर्षको कुरा छ।’

सृष्टिमात्रै होइन विश्वविद्यालय अन्तर्गतका झन्डै ३५ हजार विद्यार्थी अन्योलमा छन्। तत्काललाई मात्र होइन, कोरोना नियन्त्रणमा आएपछि अब परीक्षा कसरी गर्ने भन्ने अन्योल छ। विश्वविद्यालयमा उपकुलपति, रजिस्ट्रार लगायत आवश्यक पदाधिकारी नहुँदा परीक्षाबारे कुनै निर्णय हुन सकेको छैन।

देशका अरु विश्वविद्यालयले विद्यार्थीलाई परीक्षाका लागि तयार रहन भने पनि पियुका विद्यार्थी उपकुलपति नियुक्त गरिदिन आग्रह गर्दै हिँड्न बाध्य छन्। समयमै नेतृत्व पाउन नसक्दा पठनपाठनमा समस्या भएकाले तत्काल पदपूर्ति गर्नुपर्ने उनीहरूको माग छ। 

विगत १० महिनायता उपकुलपति नियुक्त नहुँदा विश्वविद्यालयको पठनपाठनले गति लिन नसकेको विद्यार्थी प्रदीप पौडेलले बताए। पूर्णकालीन नेतृत्व चयन नहुँदा अन्य विश्वविद्यालयका विद्यार्थीभन्दा आफूहरू पछि परेको उनले सुनाए। 

‘अरु विश्वविद्यालयका साथी र म एउटै दौडमा छौं। तर हाम्रोमा दौड कहिले सुरु हुन्छ भन्ने नै अन्योल छ। अरु विश्वविद्यालयकासँग कसरी प्रतिस्पर्धा गर्ने ?,’ पौडेलले सरकारलाई प्रश्न गरे। 

विश्वविद्यालयबाट आठ वटै सेमेस्टर सकेका विद्यार्थीको दीक्षान्त समारोह गत फागुनमा हुनुपर्ने थियो। कुलपति र रजिस्ट्रार नहुँदा समारोह हुन सकेन। ट्रान्सक्रिप्ट र सर्टिफिकेट नपाउँदा पास भएका सात हजार विद्यार्थी शैक्षिक बेरोजगार बनेका छन्। 

‘हामीभन्दा १ ब्याच सिनियरको दीक्षान्त भएको छैन। पास आउट पनि निमित्त भिसीले गरिदिनुभएको हो,’ सिभिल इन्जिनियरिङका विद्यार्थी माधव बाँस्तोलाले भने, ‘ट्रान्सक्रिप्ट र सर्टिफिकेट नहुँदा शैक्षिक बेरोजगार हुनुभएको छ।’

उपकुलपति नियुक्त नहुँदा डिन नियुक्ति, संयुक्त कलेजका निर्देशक नियुक्ति, कर्मचारी नियुक्ति, परीक्षा, स्ववियुको चुनाव, दीक्षान्त समारोह लगायत प्रभावित भएको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए। लकडाउनका बेला अनलाइन कक्षा सञ्चालन गर्ने योजना पनि उपकुलपति नहुँदा अघि बढ्न नसकेको उनको भनाइ छ। 

उपकुलपति नियुक्त भएर नआउँदासम्म विश्वविद्यालयको कुनै पनि काम अघि बढाउन सम्भव नरहेको ढकाल बताउँछन्। ‘एक जना डिन र संयुक्त कलेजका निर्देशकबाहेक विश्वविद्यालयमा अधिकारप्राप्त अधिकारी कोही हुनुहुन्न,’ उनले भने, ‘कसरी जाने, के गर्ने अन्योलमात्रै छ। विश्वविद्यालय कुन दिशामा जान्छ थाहा छैन।’

उपकुलपतिमार्फत नै नियुक्ति सिफारिस हुने रजिस्ट्रार, स्वास्थ्य विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र संकायका डिनको पदसमेत रिक्त रहेको ढकालले जानकारी दिए। व्यवस्थापन संकायमा भने प्राध्यापक हरिबहादुर खड्का डिन छन्। डिनमात्रै होइन स्कुल अफ डेभलप्मेन्ट एन्ड सोसल इन्जिनियरिङबाहेक अरु तीन संयुक्त आंगिक कलेजमा निर्देशक पनि छैनन्।

विश्वविद्यालयका उपकुलपति प्राडा चिरञ्जीवी शर्माको कार्यकाल गत वर्ष असोज पहिलो हप्ता सकियो। त्यसलगत्तै विज्ञान संकायका डिन बुद्धिराज जोशीले तीन महिनलाई उपकुलपतिको जिम्मेवारी पाए। 

जोशीपछि मानविकी संकायका डिन प्राडा इन्द्रप्रसाद तिवारीले उपकुलपतिको जिम्मेवारी पाए। प्राडा तिवारीले वैशाखमा अवकास पाइसकेका छन्। शिक्षामन्त्री संयोजक रहेको सर्च कमिटीले उपकुलपतिमा मंसिरमै तीन जनाको नाम सिफारिस गरे पनि कुलपति एवं प्रधानमन्त्री केपी ओलिले अझै नियुक्त गरेका छैनन्।

उपकुलपति नियुक्तिको माग गर्दै विद्यार्थीले कास्कीका सिडिओ ज्ञानप्रसाद ढकाललाई दुई बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन्। 

ज्ञापनपत्रमा चार दिनभित्र उपकुलपति नियुक्तिबारे जानकारी गराउन र प्राध्यापक तथा विद्यार्थीलाई शिक्षा मन्त्रालयसँग सम्पर्क गर्ने वातावरण बनाइदिन आग्रह गरिएको छ। चार दिनभित्र आफूहरूको माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। 

यसबीचमा सरकारले पोखरा विश्वविद्यालयको नाममा पोखरा–३२ मा रहेको तीन सय ५० रोपनी जग्गासमेत गण्डकी विश्वविद्यालयलाई दिने निर्णयसमेत गरिसकेको छ। विश्वविद्यालयका चार आंगिक, चार संयुक्त आंगिक र देशभर ५८ वटासम्बन्धन प्राप्त कलेज छन्।


Leave a Reply

Your email address will not be published.