दक्षिणकाली सोल्टी होटेलमा बसेर लागूऔषधकाे काराेबार, चारजना पक्राउ

दक्षिणकाली सोल्टी होटेलमा बसेर लागूऔषधकाे काराेबार, चारजना पक्राउ

प्रहरीले दाङमा ६ किलो बढी लागूऔषध अफिमसहित चारजनालाई पक्राउ गरेको छ।

प्रहरीले विशेष सूचनाका आधारमा देउखुरीको राप्ती गाउँपालिका-१ भालुवाङमा रहेको दक्षिणकाली सोल्टी होटेल बसेर लागूऔषध कारोवार गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिएका छन्।

प्रहरी प्रमुख चन्दका अनुसार प्रहरीले उनीहरूको साथबाट ६ किलो ९६७ ग्राम अवैध लागूऔषध अफिम नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा रोल्पा जिल्ला सुनछहरी गाउँपालिका वडा नं. ५ निवासी ३५ वर्षीय दुजबहादुर रोका, सुनछहरी गाउँपालिका–२ निवासी ३२ वर्षीय लालमन घर्तीमगर, सोही ठाउँ निवासी ३२ वर्षीय हर्कबहादुर घर्तीमगर र सोही ठाउँ निवासी २२ बर्षीय लालसिंह विक रहेको प्रहरी प्रमुख सिंहले जानकारी दिएका छन्।

प्रहरीले लागूऔषध अफिमसहित उनीहरूको साथबाट लु १ च ६१७१ नम्वरको सेतो रङको बलेरो जिप, लु ४० प ९८०६ नम्वरको २२० सिसिको पल्सर मोटरसाइकल र विभिन्न कम्पनीका ५ थान मोवाइलसमेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

पक्राउ परेका अभियुक्तलाई  जिल्ला अदालतबाट लागूऔषध मुद्दामा १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सिंहले जनाए । प्रहरीका अनुसार पछिल्लो समय लागुऔषध कारोवारीले दाङको भालुबाङलाई ट्रान्जिट प्वाइन्टका रूपमा लिने गरेको समेत बताए।

‘पछिल्लो समय पक्राउ परेका लागुऔषध कारोवारका घटनाहरूलाई हेर्दा कारोबारीले भालुवाङलाई ट्रान्जिट प्वाइन्ट बनाएर कारोवार गरेको देखिएको छ,’ प्रहरी प्रमुख सिंहले भने, ‘राप्तीको पहाडी क्षेत्रमा उत्पादन गर्ने र भालुवाङ क्षेत्रलाई आधार बनाएर बिक्री गरेको पाइएको छ।’ 

उनका अनुसार सल्यान, रुकुम, रोल्पा, जाजरकोटलगायतका पहाडी जिल्लामा लागूऔषध गाँजा, अफिमलगायतको उत्पादन हुने गरेको प्रहरीले जनाएको छ।

उनका अनुसार प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रण कडाइ गरेको छ। जसअन्तर्गत जिल्लाका विभिन्न स्थानमा अवैध गाँजा नष्ट गर्ने काम भइरहेको समेत प्रमुख सिंहले बताए।


Leave a Reply

Your email address will not be published.